१५ शैय्याको आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी राख्न डेन्टल एसोसिएसनको माग
काठमाडौँ, २० बैशाख । नेपाल डेन्टल एसोसिएसनले स्थानीय तहमा बन्दै गरेका १५ शैय्याका आधारभूत अस्पतालहरुमा दन्त चिकित्सकको दरबन्दी राख्न माग गरेको छ ।
गत ८ बैशाखमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत आधारभूत अस्पताल सञ्चालन मापदण्ड २०८१ हालै सार्वजनिक भएको छ ।
सो मापदण्डमा १५ शैय्याको आधारभूत अस्पतालको प्रस्तावित दरवन्दी तेरिज मेडिकल सुपरीटेण्डेन्ट नवौँ दशौँ तहको नेतृत्वमा अरु दुई जना मेडिकल अधिकृत आठौँ तहका रहने व्यवस्था छ । तर दन्त चिकित्सकको दरबन्दी छैन । बरु ५, १० र १५ शैय्या आधारभूत अस्पतालमा दन्त उपचारको कामका लागि डेन्टल हाईजिनिष्ट राखिएको छ । एसोसिएसनले यसैमा आपत्ति जनाएको हो ।
सार्वजनिक भएको मापदण्ड र त्यसमा उल्लेखित दरबन्दी तेरिजको एसोसिएसनका अध्यक्ष डा प्रणयरत्न शाक्य र महासचिव डा विश्वप्रकाश ठाकुरले विज्ञप्ती जारी गर्दै बिरोध जनाएका छन् । उनीहरुले आगामी २६ बैशाख शुक्रबारसम्म प्रस्तावित दरवन्दी तेरिज सच्याई १५ शैय्यामा कम्तिमा १ जना दन्त चिकित्सक राख्ने व्यवस्था मिलाउन भनेका छन् । उनीहरुले सो अवधीमा नसच्चिए देशव्यापी आन्दोलनमा उत्रने समेत चेतावनी दिएका छन् ।
त्यसो त आधारभूत अस्पतालमा दन्त चिकित्सकलाई नराख्ने संकेत तीन वर्ष अघि देखि नै थियो । त्यसबेलाको प्रस्तावित दरवन्दी तेरिजमा पनि दन्त चिकित्सक कहि कतै उल्लेख नहुँदा एसोसिएसनले मन्त्रालय नेतृत्वको बारम्बार ध्यानाकर्षण गराएको उल्लेख गरेको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘आधारभूत अस्पतालको प्रस्तावित दरबन्दी तेरिजमा तीन वर्ष अघि देखि नै बारम्बार ध्यानाकर्षण गराएका हौँ तत्कालीन स्वास्थ्य सचिवले १५ शैय्याको अस्पतालमा दन्त चिकित्सकको दरबन्दी रहेको जानकारी गराउनु भएको थियो । पछि मन्त्रालयको प्रवक्ताले समेत त्यस विषयमा सकारात्मक भएको बताउनु भएको थियो ।’
एसोसिएसनले देशभर दन्त चिकित्सक ६ हजार बढी उत्पादन भएको तर स्थायी दरबन्दीमा १०० जना पनि नरहेको अवस्थामा १५ शैय्या अस्पतालमा समेत दन्त चिकित्सक नराख्दा नेपाली नागरिकलाई सरकारले नै भेदभाव गरेको आभास भएको उल्लेख गरेको छ ।
सम्पर्क इमेल : [email protected]