मधेश बन्यो पूर्ण खोप सुनिश्चिता भएको पाँचौँ प्रदेश

जनकपुर, १६ असार । मधेश प्रदेश पहिलो पटक पूर्ण खोप सुनिश्चितता भएको प्रदेश घोषणा भएको छ। पछिल्लो एक सातामा धनुषा, महोत्तरीसहित तीन जिल्ला पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषित भएपछि मधेश प्रदेश नै खोप सुनिश्चितता भएको प्रदेश घोषणा गरिएको हो।
यो संगै मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता भएको देशको पाँचौं प्रदेश बनेको छ ।
मधेश प्रदेशका ८ जिल्ला तथा १ सय ३२ स्थानीय तह पूर्ण खोप सुनिश्चितता घोषणा भइसकेपछि विधिवत् रुपमा मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता भएको प्रदेश घोषणा भएको प्रदेश खोप समन्वय समितिका सदस्य सचिव एवं मधेश प्रदेशका स्वास्थ्य निर्देशक डा. राजीवकुमार झाले बताए।
शुक्रवार मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधन प्रसाद सिंह, राज्यमन्त्री केशव राय तथा मन्त्रालयका सचिव डा प्रमोदकुमार यादवले संयुक्तरुपमा जनकपुरधाममा आयोजना गरिएको विशेष कार्यक्रमका पूर्ण खोप सुनिश्चितता भएको प्रदेश घोषणा गरेका थिए।
यो घोषणाले अब मधेश प्रदेशका १६ देखि २३ महिनाको कुनै पनि बालबालिकाहरू खोप लिनबाट वञ्चित नभएको मानिएको छ ।
कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधनप्रसाद सिंहले मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता घोषणासँगै अब जन्मिने बालबालिका खोप लिनबाट वञ्चित नहोउन् भन्नेतर्फ ध्यान दिन आग्रह गरे।
पूर्ण खोपको सुनिश्चिततासँगै यसको निरन्तरता दिनका लागि थप मेहनत गर्न आवश्यक भएको मन्त्री सिंहले बताए।
यस अघि गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश पुर्ण खोप घोषणा भैसकेको छ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




