नियमित स्वास्थ्य परीक्षण किन आवश्यक ? प्राथमिकतामा को पर्दछन् ?

– डा. विकास श्रेष्ठ

कुनै पनि रोग लाग्नु भन्दा अगाडि समय समयमा गरिने स्वास्थ्य परीक्षणलाई नियमित स्वास्थ्य परीक्षण भनिन्छ । नियमित स्वास्थ्य परीक्षणबाट हामीले रोग लाग्न भन्दा अगाडि स्वास्थ्यमा कुनै जोखिमहरु छन् की कुनै रोगको लक्षण नहुँदा पनि हुने संकेतहरु छन् कि भनेर हेरिन्छ ।

यदि रोग लागेको देखि हाले पनि समयमा नै उपचार गरि त्यसको जटिलताहरुबाट बच्न सकिन्छ । नियमित स्वास्थ्य परीक्षण बच्चा जन्मनु भन्दा पहिले गरिएको भिडियो एक्सरेबाट सुरु हुन्छ ।

नियमित स्वास्थ्य परीक्षण कस्तो व्यक्तिलाई आवश्यक छ ?

जुन व्यक्तिमा कुनैपनि रोगको जोखिम छ त्यस्ता व्यक्तिले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ । जस्तै उदाहरणको लागि मोटोपन भएका व्यक्ति जसले सूर्तीजन्य पदार्थ, मादक पदार्थ सेवन गर्नुहुन्छ भने त्यस्ता व्यक्तिको स्वास्थ्य परीक्षण आवश्यक हुन्छ । यसका अलावा अन्य जुनसुकै उमेर समूहका व्यक्तिले स्वास्थ्य परीक्षण गर्न सकिन्छ ।

कुन समूहले कहिले गर्ने ?

नियमित स्वास्थ्य परीक्षण हरेक वर्ष गरिन्छ । जसअन्तर्गत सुगर जाँच, प्रेसर परीक्षण, चिल्लोपन (कोलेस्टोरल, मुटुको जाँच, मिर्गौलाको जाँच, कलेजोको जाँच आदि पर्दछन् ।

यस्तै, उमेर समूह अनुसार पनि विभिन्न प्रकृतिका जाँचहरु गर्न सकिन्छ । ५० वर्ष उमेर नाघेका व्यक्तिले हरेक वर्ष पेट र आन्द्राको समस्याको लागि दिशाको जाँच गरिन्छ । महिला समूह अन्तर्गत हरेक दुई देखि तीन वर्षको अन्तरालमा पाठेघर मुखको क्यान्सरको जाँच गर्न सकिन्छ ।

यसैगरी, ५० वर्ष नाघेका महिलाहरुमा स्तनको क्यान्सरको जाँच अन्तर्गत हरेक दुई वर्षको अन्तरालमा म्यामोग्राम गरिन्छ । ६५ वर्ष नाघेका महिलाहरुमा हड्डी कत्तिको बलियो छ भनेर वोन मिनिरल डेन्सीटी (वि एम डि) गरिन्छ ।

बच्चाहरुको स्कुल जानुभन्दा अगाडि (३ वर्षदेखि ५) वर्षको उमेरमा कान, दाँत र आँखाको जाँच गर्नु उपयुक्त हुन्छ ।

नेपालमा नियमित स्वास्थ्य परीक्षणको किन महत्व छ ?

नेपालमा सरुवा रोगको विगविगी विगतदेखि भइरहेको छ । त्यसमा पनि अहिले आएर जीवनशैली परिवर्तन भएको कारणले गर्दा नेपालमा नसर्ने रोगको भार पनि थपिएको छ । सर्ने रोगभन्दा नसर्ने रोगको जटिलताहरु झन् भयानक हुँदै गएको छ । जसले गर्दा मान्छेको काम गर्ने क्षमतामा कमी आउनका साथसाथै उहाँहरुलाई यो जटिलताको उपचार गर्नका लागि आर्थिक भार थपिँदै जाने भएकाले नियमित स्वास्थ्य परीक्षण गर्नु आवश्यक हुन्छ ।

युवा जनशक्तिमा नसर्ने रोगको प्रकोप बढ्दै गएमा पछि गएर राष्ट्रलाई नै चुनौती थपिने भएकाले सरकारले सुरुवाती चरणमै यससम्बन्धी सोच्नुपर्ने आवश्यक देखिन्छ ।

नियमित स्वास्थ्य परीक्षणमा देखिएको भ्रमको अन्त्य गर्नुपर्ने देखिन्छ । नियमित स्वास्थ्य परीक्षण एकपटक गरेर वर्षौँसम्म ढुक्क हुने अवस्था छैन । यो नियमित रुपमा गर्नुपर्दछ ।

नियमित स्वास्थ्य परीक्षणका फाईदाहरु

नियमित स्वास्थ्य परीक्षण गर्दा व्यक्तिलाई त फाइदा पुग्छ नै अझ बढी फाईदा राज्यलाई हुने गरेको छ । कुनैपनि व्यक्ति स्वास्थ्य भयोभने देश स्वस्थ्य रहन्छ । स्वास्थ्य मान्छेले देशमा योगदान गर्न सक्छ । जीवनको गुणस्तर राम्रो र रोग लागेपनि समयमा उपचार हुने भएकाले आर्थिक व्यय भार समेत कमी हुन्छ ।

 

#डा. श्रेष्ठ ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा फिजिसियनका रुपमा कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *