नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लिएको १९ औँ नाम दर्ता परीक्षाको नतिजा सार्वजनिक, ४८ प्रतिशत उत्तीर्ण

120
Shares

काठमाडौँ, २१ असोज । नेपाल स्वास्थ्य व्यवसायी परिषद्को आज सम्पन्न १९ औँ नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित भएको छ । परीक्षामा ४७.९६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

परिषद्का रजिष्ट्रार रमेश श्रेष्ठका अनुसार यसपटक परीक्षामा प्रमाणपत्र तहमा ११ वटा विषयमा कुल ३ हजार ९८ जना विद्यार्थीले सहभागिता जनाएका थिए । ती मध्ये १ हजार ४७४ जना (४७.५८ प्रतिशत) पास भएका छन् ।

यस्तै स्नातक तहमा कुल १७ विषयमा ३६२ जनाले परीक्षा दिएका थिए । ती मध्ये १३२ जना (३६.४६ प्रतिशत) मात्रै पास भएका छन् । तर स्नातकोत्तर तहमा भने १५१ जना सहभागी भएकोमा १२६ जना अर्थात ८३.४४ प्रतिशत पास भएका छन् । स्नातकोत्तर तहमा १८ वटा विषयमा विद्यार्थीहरुले जाँच दिएका थिए ।

परिषद्का रजिष्ट्रार श्रेष्ठले यसपटक स्नातकोत्तर तहका विद्यार्थीको नतिजा राम्रो आएको तर स्नातक र प्रमाणपत्र तहका विद्यार्थीहरु सहभागी भएको परीक्षामा नतिजा अपेक्षाकृत थोरै आएको बताए ।

उनले नतिजा आईसकेपछि परिषद्ले किन कम भयो भन्ने विषयमा अध्ययन सुरु गरिसकेको बताए । स्नातकोत्तर तहका नयाँ विद्यार्थीहरु भएको र तल्लो तहमा यसअघि परीक्षा दिएर अनुत्तीर्ण भएकाहरुको संख्या बढी भएकोले नतिजामा सुधार हुन नसकेको प्रारम्भिक जानकारी आफूले प्राप्त गरेको बताए ।

परिषद्ले अव कमजोर नतिजासंगै जोडिएर आउने पढाईको गुणस्तरमा समेत ध्यान दिने र अनुगमनलाई बढाउने समेत जानकारी दिए ।

यसअघि ९ असोज देखि गर्ने भनेर तय गरिएको परीक्षा १९ देखि २१ असोज (आज) सम्म सञ्चालित थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *