ठूला सरकारी अस्पतालले नै स्वास्थ्य बीमाबाट नवजात शिशुको उपचार गर्न नमाने पछि….

काठमाडौँ, १४ चैत । परिवार नै स्वास्थ्य बीमामा आवद्ध भएका ललितपुरका सन्तोष श्रेष्ठले आफ्नो गर्भवती श्रीमतीलाई सुत्केरी गराउन पाटन अस्पताल लगेका थिए । बीमाबाटै उपचार गराउने भन्दै उनले त्यसबेला प्रथम सेवा विन्दुबाट रिफर समेत लगेका थिए । अस्पतालले उनकी श्रीमती भर्ना गर्दा बीमा कार्ड प्रयोग समेत गरयो । उनकी श्रीमती सुत्केरी भईन तर नवजात शिशुको पनि उपचार गर्नु पर्ने भयो तर अस्पतालले शिशुको उपचार गरेवापतको पैसा तिर्नुपर्ने भन्यो । डिस्चार्ज हुँदा उनले बीमाको सुविधा नै पाएनन् ।

अस्पतालले आमा र शिशुको सबै पैसा लियो । बीमा गरेर पनि सेवा नपाएपछि रन्थनिएका सन्तोषले गत ७ चैतमा स्वास्थ्य बीमा बोर्डमा उजुरी गरे । बीमा बोर्डले ८ चैतमा तीन दिन भित्र यसबारे जवाफ दिनु भन्दै पाटनलाई पत्र पठायो । तर पाटनले ९ चैतमै पत्रको जवाफ फर्कायो, ‘एउटै नम्बरबाट दुई जना बिरामीलाई सेवा दिन मिल्दैन । अर्थात आमाको नाममा बीमा हुँदा नवजात शिशुलाई उपचार सेवा दिन मिल्दैन ।’

उसले सेवा दिने हो भने बीमा बोर्डले तयार गरेको सफ्टवेरमा त्यसबारेमा उल्लेख गर्न मिल्ने बनाउनु पर्दछ भनेर समेत सुझाव दिएको छ ।

यस्तै समस्या गत असारमा त्रिवि शिक्षण अस्पतालबाट पनि आएको थियो । त्यहाँ पनि बोर्डले नवजात शिशुलाई किन उपचार नदिएको भन्दै स्पष्टीकरण सोधेको थियो । तर त्यहाँबाट पनि आलटाले जवाफ आएको बीमा बोर्डका अधिकारीहरु बताउँछन् ।

‘सधै होइन, कहिलेकाँही यस्ता जानजान दुखदिने नियतका कामहरु भएका छन् । सरकारी अस्पतालले बीमा सम्बन्धी व्यवस्थाबारेमा थाहा हुँदा हुँदै पनि किन यस्तो गतिविधि गर्दछन्, हामी नै छक्क परेका छौँ,’ बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले भने । उनले बीमितले जन्माएको नवजात शिशुलाई सेवाबाट बन्चित गर्न नमिल्ने बताए ।

हुन पनि  पाटन र त्रिवि शिक्षण अस्पतालले नवजात शिशुको उपचार गर्न नमिल्ने जो तर्क दिएको छ, त्यो बीमा सम्वन्धी नीतिगत व्यवस्थाको विरुद्ध देखिन्छ । किनभने स्वास्थ्य बीमा नियमावली २०७५ को नियम १७ को उप नियम ३ मा  स्पष्टसंग लेखिएको छ,  ‘उप नियम (२)मा जुन सुकै कुरा लेखिएको भए तापनि कुनै बीमितको सदस्यता सक्रिय रहेको अवधी भित्र शिशु जन्मेमा नवजात शिशुलाई बीमितको सदस्यता बहाल रहने अवधीसम्मको लागि थप योगदान रकम नलिई सेवा प्रदान गर्नु पर्नेछ।’

‘भर्खरै जन्मेको शिशुको त बीमा गरिएको हुँदैन । त्यसैले त यो व्यवस्था राखिएको हो । कुनै अस्पतालले कुनै बेला मनलाग्दी जस्तो गरि तर्क गर्दछन् । यो गलत हो । उनीहरुले आमाको स्वास्थ्य बीमा सक्रिय छ भने नवजात शिशुको पनि त्यसैबाट सुविधा दिन पर्ने हुन्छ,’ कार्यकारी निर्देशक डा बसौलाले भने ।

उनले स्वास्थ्य बीमाकामा आवद्ध देशभरका सबै सेवा प्रदायकहरुले त्यसरी नै सुत्केरी तथा नवजात शिशुको बीमाबाट उपचार सुविधा दिएको भन्दै पाटन तथा टिचिङको कुरा तर्कसंगत नभएको बताए ।

उनले नियमावलीमा भएका व्यवस्थालाई स्वास्थ्य बीमा सेवा दिन्छु भनेर प्रतिवद्धता जनाएका अस्पतालहरुले बहानाबाजी गर्न नमिल्ने बताए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *