न्याम्सको ‘दुवाकोट प्रोजेक्ट’ अब तीन चरणमा सम्पन्न गर्ने गरि अघि बढाईने

एमबीबीएस अध्ययनका लागि दुवाकोटमै प्रिफ्यावको बेसिक साइन्स भवन बनाईदै

काठमाडौँ, १३ चैत । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले महत्वकाक्षी भनिएको ‘दुवाकोट प्रोजेक्ट’को मोडालिटी परिवर्तन गरेको छ । सोमाबार बसेको न्याम्सको कार्यरकारी परिषद्को बैठकले ‘दुवाकोट प्रोजेक्ट’लाई तीन चरणमा सम्पन्न गर्ने निर्णय गरेको हो ।

३५ अर्व लागत अनुमान गरिएको दुवाकोट प्रोजेक्ट अन्तरगत १५०० बेडको अन्तराष्ट्रिय स्तरको अस्पतालसंगै एकेडेमिक तथा रिसर्चका कार्यक्रम अघि बढाउने यसअघिकै मास्टर प्लानमा उल्लेख थियो ।

न्याम्सका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले सोमबार बसेको बैठकले दुवाकोट प्रोजक्टेको मोडालिटी परिवर्तनका साथै केही महत्वपूर्ण निर्णयहरु गरेको बताए ।

के के भए निर्णय ?
उपकुलपति प्राडा बस्नेतका अनुसार सोमबारको बैठकले ‘दुवाकोट प्रोजेक्ट’का विषयमा महत्वपूर्ण निर्णय गरेको छ । ‘दुवाकोट प्रोजेक्ट न्याम्सको मात्रै नभई सरकारकै ठूलो प्रोजेक्ट हो । ३५ अर्वको प्रोजेक्ट, १५०० बेडको अस्पताल बनाउने कुरा छ । तर हामीले हिजोको बैठकबाट यो प्रोजेक्टको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेका छौँ । हामीले यो प्रोजेक्टको मास्टर्स प्लान रिभाइभ गर्ने निर्णय गरेका छौँ । अब यो तीन चरणबाट पुरा हुने छ,’ डा बस्नेतले भने ।

उनका अनुसार पहिलो चरणमा ५०० बेडको अस्पताल, मेडिकल कलेज र होस्टल बनाउने र पाँच बर्ष त्यो चलाउने निर्णय भएको छ । दोस्रो चरणमा अर्को ५०० बेडको अस्पताल र अरु कार्यक्रमहरु सञ्चालन गर्न कलेजहरु बनाउने जस्तै नर्सिङ, फार्मेसी, पारामेडिक्स, ल्याव लगायतका कलेजहरु बनाउने । अर्को पाँच वर्ष पछि तेस्रो चरणमा परियोजना सुरु गर्ने र अरु ५०० बेडको अस्पताल थप्ने, क्वाटर, अडिटोरियम लगायतका बनाउने नयाँ योजना छ । यसो गर्दा अस्पताल र शैक्षिक कार्यक्रम पनि राम्ररी चल्दै जाने र एकै पटक आर्थिक भार पनि नपर्ने न्याम्सको बुझाई रहेको बताइएको छ ।

एमबीबीएसका लागि दुवाकोटमा प्रिफ्यावको बेसिक साइन्स भवन बनाउने
यसैगरी बैठकले आगामी शैक्षिक सत्रबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्नका लागि मास्टर प्लान (गुरु योजना)लाई फरक नपर्ने गरी दुवाकोटमा प्रिफ्याव बेसिक साइन्स भवन बनाउने निर्णय गरेको छ ।

करीव २५ करोड लागतको यो परियोजना छ महिना भित्र सम्पन्न गर्ने र आगामी शैक्षिक सत्रबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उपकुलपति प्राडा बस्नेतले जानकारी दिए ।

उनले प्रिफ्याव भवनमा एमबीबीएसको १०० भन्दा बढी सिट पाए पनि अध्यापन गर्न मिल्ने गरी तयार गर्न लागिएको बताए ।

यस्तै बैठकले स्टाफ नर्स सहित अन्य कर्मचारीहरुको खाजा भत्ता तथा नाइट डिउटी भत्ता परिमार्जन गर्ने निर्णय गरेको जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *