अङ्ग प्रत्यारोपणमा महिला पुरुषबीच खोई समानता ? लिने जति पुरुष, दिने जति महिला

ज्वाईँले दिए सासुलाई आफ्नो कलेजोको टुक्रा !

काठमाडौँ, २५ फागुन ।  आज अन्तराष्ट्रिय महिला दिवस । संसारभर विभिद कार्यक्रम गरी यो दिवस मनाईदै छ । नेपालमै पनि विभिन्न संस्थाहरुले आयोजना गर्ने कार्यक्रममा महिला र पुरुषबीच समान हैसियत र अधिकारका कुराहरु उठ्ने छन् । तर, व्यवहारमा भने त्यस्तो देखिन गाह्रो छ ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र देशमै सबैभन्दा बढी मिर्गौला तथा कलेजो प्रत्यारोपण गर्ने केन्द्रको रुपमा परिचित छ । तर, यहि केन्द्रमा भएका अङ्ग प्रत्यारोपणको विवरणले अङ्ग दान दिने र लिने पुरुष महिलाको अनुपात ठूलो असमानता देखाएको छ ।

केन्द्रका निर्देशक एवं बरिष्ठ प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठले आफ्नो अस्पतालको विवरण दिदै अङ्ग प्रत्यारोपणमा महिला र पुरुषबीच ठूलो असमानता रहेको बताए ।

उनी भन्छन्,  ‘हामीले यस केन्द्रमा १ हजार २१२ जनाको मिर्गौला प्रत्यारोपण गर्दा अङ्गदाता महिला ८७३ (७२ प्रतिशत) जना थियो । जबकी पुरुष अंगदाता ३३९ (२८ प्रतिशत) जना पाइयो । यस्तै मिर्गौला ग्रहणकर्ताको विवरण हेर्ने हो भने ९५६ (७९ प्रतिशत) जना पुरुष हुँदा ग्रहणकर्ता महिला २४६ (२१ प्रतिशत) मात्र रहेको पाइएको छ । यसले महिला र पुरुषबीच हुनुपर्ने उपचारको समान पहुँचलाई लत्याई दिएको छ ।’

डा.  श्रेष्ठका अनुसार सो केन्द्रमा अहिलेसम्म २२ जनाको कलेजो प्रत्यारोपण भएको छ । त्यसमध्ये अहिलेसम्म २० जना पुरुषको भएको छ भने महिला २ जनाले मात्रै प्रत्यारोपणको अवसर पाएका छन् ।

‘खासमा उपचारमा यति ठूलो फरक नहुनु पर्ने हो । महिला भनेको अङ्ग  झिकेर दिने मात्रै पुरुष भनेको अङ्ग  लिने मात्रै जस्तो देखिएको छ । अहिले पनि जगडिएर रहेको पुरुष प्रधान समाज र सोचका कारण यस्तो अन्तर आएको हो कि भन्ने लाग्छ,’ डा. श्रेष्ठले भने ।

ज्वाईँले दिए सासुलाई कलेजोको टुक्रा

नेपालमा कलेजो प्रत्यारोपणको संख्याले ‘थ्री डिजिज’ भेट्टाउन सकेको छैन् । सबैभन्दा बढी प्रत्यारोपण भएको भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अहिलेसम्म २२ वटा कलेजो प्रत्यारोपण भएको छ । त्यसमध्ये कलेजो ग्रहणकर्ता महिला २ जना मात्रै रहेका छन् ।

पछिल्लो पटक गत सोमबार भएको २२ औँ कलेजो प्रत्यारोपणमा महिला ग्रहणकर्ता र पुरुष अंगदाता रहेका छन् । डा श्रेष्ठका अनुसार गत सोमबार भएको कलेजो प्रत्यारोपणमा ६५ बर्षीया सासु लक्ष्मीदेवी श्रेष्ठलाई उनका ४५ वर्षीय ज्वाईँ श्रीकृष्ण मानन्धरले कलेजो दान गरेका हुन् ।

प्रत्यारोपणको नेतृत्व गरेका डा श्रेष्ठले अहिले अङ्ग लिने सासु र अंगदिने ज्वाईँको स्वास्थ्य अवस्था सामान्य र सुधारोन्मुख हुँदै गएको बताए । उनले ज्वाईँले सासुलाई कलेजो दान गर्नु लैंगिक हिसावले पनि उत्कृष्ठ र समाजका लागि पनि नमूना कार्य भएको बताए ।

त्यसो त प्रत्यारोपण केन्द्र नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने केन्द्र हो । विसं २०७३ मंसिर २२ गते भक्तपुरका ३६ बर्षीय बलराम नागालाई उनकी ४२ बर्षीया दिदीले कलेजो दान गरेकी थिईन ।

कलेजो पहिलो प्रत्यारोपणलाई सघाउँन दक्षिणकोरियाको सिओलस्थित सामसुङ मेडिकल सेन्टरका चिकित्सकहरु आएका थिए ।

मिर्गौला तथा कलेजो प्रत्यारोपणले लियो तिब्रता
त्यसो त प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठ नेपालमा अंग प्रत्यारोपण सेवालाई सुरुवात गराउने र बिस्तार गर्ने चिकित्सकहरुको सूचीमा अगाडी पर्दछन् । अझ् त्यो भन्दा उनी नेपालमै सबैभन्दा बढी मिर्गौला प्रत्यारोपण गर्ने सर्जनको रुपमा परिचित छन् ।

कलेजो प्रत्यारोपणमा पछिल्लो समय भारतीय चिकित्सकको टोली सहभागी भए पनि सबैजसो काम आफूहरुले गर्ने गरेको डा श्रेष्ठ बताउँछन् ।
सम्भवत संसारकै सबैभन्दा सस्तो दरमा सबैभन्दा जटिल मानिएको कलेजो यसवर्ष मात्रै प्रत्यारोपण केन्द्रमा १४ वटा सफल भयो । चालु आर्थिक बर्षको यहि अवधीमा २०० बढी बिरामीमा मिर्गौला प्रत्यारोपण भएको समेत डा. श्रेष्ठले जानकारी दिए ।

त्यसो त दक्ष जनशक्ति उत्पादन गरी डाइलाइसिस तथा प्रत्यारोपण सेवा देशै भरी बिस्तार गर्नको लागि केन्द्रले राष्ट्रिय स्वास्थ्य तालीम केन्द्रको पाठ्कक्रम अनुसार नियमित हेमोडाइलाइसिस तालिम सञ्चान गरी रहेको छ । यस्तै प्रत्यारोपणको विशेषज्ञ उत्पादनको लागि प्रत्यारोपण शल्य चिकित्सा र प्रत्यारोपण नेफ्रोलोजि फेलोसिप कार्यक्रम आफ्नो केन्द्रमा सञ्चालन गर्नको लागि पहल भइरहेको समेत डा. श्रेष्ठले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *