कान्तिपुर डेन्टल हस्पिटल तथा आइकेयर सेन्टरको सहयोगमा झापामा दन्त तथा आँखा स्वास्थ्य शिविर

दुई दिने शिविरमा २००० बढी लाभान्वित

काठमाडौँ, २३ फागुन । बसुन्धरास्थित कान्तिपुर डेन्टल हस्पिटल तथा रिसर्च सेन्टर तथा केडीसी आइकेयरको टोली निशुल्क स्वास्थ्य शिविरका लागि झापा पुगेको छ ।

केडीसीका अध्यक्ष समेत रहेका डा बुद्धिमान श्रेष्ठको नेतृत्वमा चिकित्सक तथा स्वास्थ्य प्राविधिक सहितको २० जनाको टोलीले सुरुङ्गास्थित कन्काई मावि परिसरमा गत १७ र १८ फागुनका दिन दन्त तथा आँखा शिविर सञ्चालन गरेको थियो । दुई दिने उक्त शिविरमा २ हजार बढीले स्वास्थ्य परीक्षण गराएको स्वास्थ्यकर्मीहरुको नेतृत्व गरेका डा श्रेष्ठले बताए ।

निशुल्क मुख तथा दन्त स्वास्थ्य शिविर लिएर देशका ६५ जिल्ला पुगिसकेको केडीसी ६६ औँ जिल्लाको रुपमा पहिलो पटक झापा पुगेको हो ।

दिल्ली गौतम मेमोरियल फाउन्डेशनको आयोजक तथा कन्काई माध्यमिक विद्यालयको सह आयोजक बनेको शिविरलाई बीएम फाउन्डेशन तथा ताइवान प्रिभेन्ट ब्लाइन्डनेश (टीपीबी) फाउन्डेशनले सघाएको थियो । यस्तै शिविरमा स्थानीय संकल्प प्रतिष्ठान र मेची नेत्रालय समेत जोडिएको थियो ।  शिविरका लागि सहजीकरण गर्ने काम संघीय सांसद एलपी सावा लिम्बूले गरेका थिए ।

‘निशुल्क शिबिर लिएर देशका ६५ जिल्ला पुगिसकेका थियौँ । ६६औँ जिल्लाको रुपमा पहिलो पटक हामी झापा गएका हौँ । चिकित्सक, स्वास्थ्य प्राविधिक र अन्य सहयोगी कर्मचारी समेत गरेर २० जनाको टोली थियो । कन्काई माविमा २ हजार ४८० जना विद्यार्थी अध्ययन गर्नु हुँदो रहेछ । त्यसमा ८० जना त विशेष शिक्षाका विद्यार्थी हुनु हुँदो रहेछ । यस्तै ७५ बढी शिक्षक शिक्षिका हुनुहुँदो रहेछ । हामीले दुई दिन लगाएर परीक्षण र उपचार गर्न सफल भयौँ,’ डा. श्रेष्ठले शिविरबारे जानकारी दिए ।

उनका अनुसार शिविरमा टोलीले १५० बढीको दाँत निकालेको, २०० बढीको दाँत भरेको, त्यतिकै संख्यामा दाँत सफा गरेको बताए । यस्तै आँखा तर्फ पनि १ हजार ५०० बढीले जाँच गराएको बताए । उनले शिविरमा आवश्यकताका आधारमा निशुल्क औषधि तथा चालिस बर्ष माथिका शिक्षकहरुलाई चस्मा समेत वितरण गरिएको बताए ।

सो अबसरमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले मुख तथा दन्त स्वास्थ्यको महत्व, आँखा स्वास्थ्यका महत्व र यसका लागि व्यक्तिले ध्यान दिनु पर्ने कुराहरुको बारेमा प्रशिक्षण समेत दिएका थिए ।

शिविरमा कस्ता स्वास्थ्य समस्या ?
शिविरमा सहभागी केडीसीकी डेन्टल सर्जन डा ज्योती नेपालले दाँत किराले खाने समस्या सबैभन्दा बढी देखिएको बताईन् । त्यसबाहेक झापामा बोरिङ गरेको पानी बढी प्रयोग हुने र बोरिङको पानीमा मिनरल्स कन्टेनहरु पनि बढी हुने भएकोले दाँतमा कालोकालो दाग लाग्ने समस्या बढी देखिएको बताईन् । उनले भनिन्,  ‘यस्तो समस्या त झण्डै ९५ प्रतिशतमा थियो होला । यस्तै मावि तहका कतिपय बालबालिकाहरुले मिठा पराग भन्ने एक खालको सुपारी तथा सुर्तीजन्य पदार्थ सेवन गर्ने रहेछन्, त्यसैले यसले कतिपयको गिजा तथा गालामा असर गरेको समेत पाइयो ।’

यस्तै कतिपयमा मुखको जोर्नीको समस्या देखिएको तर उनीहरु सो समस्याबारेमा अनविज्ञ रहेको पाइएको डा नेपालले बताईन् । ‘दाँतमा किरा पनि लागेको छैन्, फोहर पनि छैन तर टोक्न सकिएको छैन् भन्नुहुन्थयो त्यो मुखको जोर्नीको समस्या थियो,’ डा. नेपालले अगाडी थपिन्  ‘कसै कसैकोमा जिब्रो तथा गालाहरु बढी टोकिएर त्यहि घाउ हुने र मासु पलाउने अवस्था अर्थात फाइब्रोमा भएको पाइएको छ ।’

स्कुलमा अपांगता भएका (स्पेशल निड्स) विद्यार्थी पनि रहेकोले उनीहरुको पनि अन्यमा जस्तै समस्या रहेको बताईन् । उनले करीव २ हजार व्यक्तिको मुख तथा दन्त परीक्षण गर्दा करीव ५ प्रतिशतको मात्रै राम्रो र स्वस्थ रहेको जानकारी दिईन् ।

यता आँखा स्वास्थ्य शिविरमा खटिएकी केडीसी आईकेयर सेन्टरकी अप्थाल्मिक असिस्टेन्ट आकांक्षा बर्माले १ हजार ५०० बढीको दृष्टि परीक्षण भएको बताइन । परीक्षण गराएका मध्ये धेरैमा दृष्टि दोषको समस्या थियो । पावर नमिल्दा आँखा अल्छी हुने, एलर्जीको समस्या बढी थियो ।

उनीहरुलाई आवश्यकताको आधारमा औषधि उपलव्ध गराईएको थियो । कतिपय शिक्षकहरुलाई चस्मा समेत उपलव्ध गराएको बताईन ।

शिविर व्यवस्थापनका लागि विद्यालयका शिक्षक, स्थानीय अभिभावक तथा विद्यार्थीहरु खटिएका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *