के कारणले हुन्छ मिर्गौलामा पत्थरी ? उपचार विधि के के छन् ?

मानिसको शरीरमा दुईवटा मिर्गौला हुन्छ । हामीले खाएको पानी फिल्टर गर्ने काम मिर्गौलाको हो । हामीले खाएको पानी मिर्गौलाले फिल्टर गरेर पिसावको माध्यामबाट बाहिर निस्कन्छ । जब हामी कम पानी खान्छौँ शरीरमा पनि पानीको मात्रा कम हुन जान्छ ।

पानीको मात्रा कम हुँदा पिसाव पनि कम हुन्छ । जब शरीरमा पानी र पिसावको मात्रा कम हुन्छ तब मिर्गौलामा पत्थरी बन्ने सम्भावना बढ्दै जान्छ ।

मिर्गौलामा ६/७ एमएम (मिलिमिटर) सम्मको पत्थरी धेरै पानी पिउँदा आफै बगेर जाने सम्भावना हुन्छ । त्योभन्दा ठूलो साइजको पत्थरी बन्यो भने शल्यक्रिया गर्नुपर्ने अबस्था आउँछ ।

पानी कम खाने, बढी गर्मीमा काम गर्ने, पसिना धेरै बग्ने तर पानी कम खाने व्यक्तिमा मिर्गौला सम्बन्धी पत्थरी धेरै देखिने गर्छ ।

कतिपय अवस्थामा यो समस्या हुनाको कारण थाहा नभए पनि शारीरिक व्यायाम कम गर्ने तथा आरामदायी जीवन बिताउने मानिसमा पनि यो समस्या देखिने गरेको पाईन्छ ।

के छ उपचार बिधि ? कसरी गर्ने ?

मिर्गौलामा हुने पत्थरीको आकार, पत्थरीको स्थान र बिरामीको अवस्थाले पत्थरीको उपचार प्रक्रिया निर्भर रहन्छ । बिरामीमा पत्थरी कस्तो किसिमको हो भन्ने कुरामा उपचार फरक पर्छ ।

किनकि कुनै पत्थरी बालुवाजस्तो नरम हुने र कुनै पत्थरी ढुंगाजस्तो साह्रो हुने भएकाले कुन विधिबाट उपचार सफल हुन्छ भन्ने कुरामा बिचार पुर्‍याउनुपर्ने हुन्छ ।

मिर्गौलामा पत्थरी जम्न नदिनका लागि धेरै मात्रामा झोल कुराको सेवन गर्नुपर्ने हुन्छ ।

मिर्गौलामा  दुई सेन्टिमिटर सम्मको पत्थरीलाई हामीले घाउ नबनाईकन पिसावको नलीबाट गएर लेजरको माध्यामबाट ढुंगालाई फुटालेर बाहिर निकालिन्छ ।  जसलाई RIRS विधि भनिन्छ ।

यदि मिर्गौलामा दुई सेन्टिमिटर भन्दा ठूलो आकारको पत्थरी छ भने  सानो प्वाल बनाईकन फुटालेर बाहिर निकालिन्छ ।  जसलाई PCNL  विधि  भनिन्छ ।

आजको दिनमा शल्यक्रिया गरेर पत्थरी निकाल्ने क्रम भने हराउँदै गएको छ ।

 

  • डा अधिकारी ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी काठमाडौँ कार्यरत चिकित्सक हुन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *