विदेश:

संसारका शीर्ष ५ अस्पताल मध्ये ४ वटा अमेरिकी, अरु देशका के – कति ?

एजेन्सी । अमेरिकाको स्वास्थ्य सेवा प्रणालीका बारेमा विश्व जगतबाट आलोचना नआउने होईन, तर अस्पतालमा बिरामीको उपचार तथा हेरचाहमा भने यहाँकै अस्पतालहरु उत्कृष्ठ छन् ।

सन् २०२४ मा प्रकाशित भएको एक सर्भेक्षण प्रतिवेदनका अनुसार अमेरिकी अस्पतालको सेवा विश्वमै ‘नम्बर वान’ रहेको छ ।

नयाँ रिपोर्टलाई उल्लेख गर्दै डेलीमेल लेख्छ, ‘उत्कृष्ट सेवा दिने विश्वका शीर्ष ५ अस्पतालहरुमध्ये ४ वटा अमेरिकाकै रहेको छ ।’ अनि विश्वका उत्कृष्ठ २५० वटा अस्पतालहरुको सूची तयार गर्दा ४३ वटा अस्पताल अमेरिकाकै परेको छ । यस्तै जर्मनीका २३ वटा र बेलायतका ११ वटा अस्पताल विश्वका शीर्ष २५० अस्पतालहरुको सूचीमा परेको छ ।

विश्वकै सबैभन्दा राम्रो अस्पतालको सूचीको पहिलो नम्बरमा मिनेसोटा राज्यको मायो क्लिनिक रहेको छ । त्यसपछि अमेरिकाकै ओहायोको क्लिभल्याण्ड क्लिनिक र तेस्रोमा क्यानडाको टोरन्टो जनरल अस्पताल परेको छ ।

चौथो उत्कृष्ठ अस्पतालमा अमेरिकाको बाल्टिमोरस्थित द जोन हप्किन्स अस्पताल र पाँचौँमा बोस्टनस्थित म्यासाच्युसेटस जनरल हस्पिटल परेको छ ।

बेलायतको सबैभन्दा राम्रो अस्पतालको सूचीमा सेन्ट थोमस र त्यसपछि गाइज अस्पताल परेको छ ।

रिपोर्टमा धनि राष्ट्रहरुको तुलना गर्दा अमेरिकाले अरुले भन्दा स्वास्थ्य सेवामा प्रतिव्यक्ति धेरै खर्च धेरै गर्ने गरेको छ । अमेरिकामा क्लिनिकल परीक्षण पनि अन्य देशको तुलनामा बढी हुने र क्यान्सर सर्भाइभरको दर पनि उच्च रहेको उल्लेख छ । अमेरिका आफैमा सबैभन्दा ठूलो औषधि उत्पादक राष्ट्र भएकोले अत्याधुनिक औषधिको पहुँच पनि उसमा बढी रहेको बताइएको छ ।

न्युजवीक र प्रख्यात तथ्यांक विश्लेषक संस्था स्टेटिस्टाले संयुक्त रुपमा गरेको विश्लेषणमा आधारित रिपोर्टका अनुसार ३० देशका २४०० वटा अस्पतालहरु समावेश गरिएको थियो ।

८५००० हजार भन्दा बढी विशेषज्ञ चिकित्सक र उपचार गराएका बिरामी तथा आफन्तहरुसंग लिइएको सर्भेक्षणका आधारमा संकलित तथ्यांक विश्लेषण पछि नयाँ प्रतिवेदन आएको उल्लेख छ ।

अस्पतालहरुको श्रेणी बिरामीको उपचार अनुभव सर्भेक्षण, अस्पतालको गुणस्तर मेट्रिक्स (जस्तै विशेष उपचारका लागि हेरचाहको गुणस्तर, स्वच्छात, बिरामीको सुरक्षा डेटा, प्रति बिरामी डाक्टर नर्सको अनुपात, बिरामी हेरचाह लगायत)बाट लिइएको थियो ।

श्रेणीमा पारेका अस्पतालहरुमा कार्डियाक सर्जरी, कार्डियोलोजी, ग्यास्ट्रोइन्टेरोलोजी, न्युरो सर्जरी, न्युरोलोजी, प्रसूति र स्त्री रोग, पल्मोनोलोजी, युरोलोजी, इन्डोक्राइनोलोजी, अर्थोपेडिक्स, अंकोलोजी र बाल चिकित्सा सम्वन्धी विशेषज्ञ सेवाहरुको समेत विश्लेषण गरिएको थियो ।

नम्बर वान भनिएको मायो क्लिनिकबारे त्यहाँका पूर्व प्रशासनिक अधिकारी जेफ्री बोल्टन भन्छन, ‘यहाँ विशेषज्ञ सेवाहरु अत्यधिक एकीकृत छन्,’ उनी अगाडी थप्छन्, ‘जस्तै बिरामीहरु मायो क्लिनिकमा आउँछन्, डाक्टरलाई भेटछन्, त्यहाँ ठूलो समस्या छ भने तत्कालै सम्वन्धित विशेषज्ञहरुको एकीकृत टिमले हेर्छ र आवश्यक उपचार गरिहाल्छ ।’

विश्वका २५० वटा अस्पतालको सूचीमा भारतका दुईवटा मात्रै अस्पताल परेका छन् । अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स) नयाँ दिल्ली र मेदान्ता मेडिसिटी गुरुग्राम सूचीमा परेका छन् । जापान, सिंगापुर, दक्षिण कोरिया, युएई पनि यो सूचीमा समावेश छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *