यतिकेमले ल्यायो पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपीभी खोप ‘सर्भारिक्स’

काठमाडौँ, १५ फागुन ।  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भविस्यमा लाग्नसक्ने पाठेघरको मुखको क्यान्सरबाट जोगाउन ९ देखि १४ बर्ष उमेर समूहका बालिकाहरुलाई ह्युमन प्यापिलोमा भाइरस (एचपीभी खोप) लगाउन सके अत्यन्त प्रभावकारी हुने बताएको छ ।

नेपालमा पनि कहिले निजी क्षेत्रले त कहिले सरकारी प्रयासमा फाट्टफुट्ट रुपमा एचपीभी खोप बालिकाहरुलाई दिईने गरिएको छ । तर नियमित भने हुन सकेको छैन । खोप नियमित हुन नसक्दा आम अभिभावकहरु चाहेर पनि आफ्ना बालबालिकाहरुलाई यो खोप लगाउन सकेका छैनन् ।

यसैबीच पछिल्लो पटक यतिकेमले डिस्ट्रिब्युटरर्स प्रालिले ९ हजार ९ सय डोज एचपीभी खोप नेपाल भित्र्याएको छ । यतिकेमले बेल्जियमको ग्लैक्सो स्मिथक्लाइन (जीएसके) ले उत्पादन गरेको सर्भारिक्स ब्राण्डको एचपीभी खोप नेपाल भित्र्याएको हो । यतिकेमले यो खोपको सिरिन्ज सहित प्रतिडोज मूल्य ५ हजार ९०५ रुपैयाँ राखेको छ ।

‘लामो प्रयासपछि हामीले जीएसकेले उत्पादन गरेको एचपीभी खोप सर्भारिक्स ल्याउन सफल भएका छौँ । आम अभिभावकले यो खोप ९ वर्ष माथिका बालिकाहरुलाई दिन सक्नु हुनेछ,’ यतिकेमका कार्यकारी अध्यक्ष प्रभुराज बैद्यले भने ।

उनले डब्लुएचओले पछिल्लो समय एचपीभी खोप सम्वन्धी गाइडलाइन परिवर्तन गरेको भन्दै अब एक डोज खोपले पनि प्रभावकारी रुपमा काम गर्ने बताए ।

डब्लुएचओले ११ अप्रिल २०२२ मा एचपीभी खोप सम्वन्धी नयाँ गाइडलाइन जारी भएको जानकारी दिएको थियो । जसमा एक डोज खोप लगाउन सकेपनि त्यसले दुई वा तीन डोज जत्तिकै प्रभावकारी हुने उल्लेख छ ।

डब्लुएचओको गाइडलाइनमा ९ देखि १४ वर्षको उमेर समूहका बालिकाहरुलाई एक वा दुई डोज, १५ देखि २० बर्षका युवतीहरुका लागि पनि एक वा दुई डोज र २१ बर्ष माथिका युवतीहरुका लागि छ महिनाको अन्तरमा दुई डोज लगाउन सकिने उल्लेख छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार ९५ प्रतिशत भन्दा बढी पाठेघरको मुखको क्यान्सर यौन सम्पर्कका माध्यमबाट हुने गर्दछ । एचपीभी सेरोटाइप १६ र १८ ले गराउने यो क्यान्सरको रोकथामका लागि एचपीभी खोप अत्यन्त प्रभावकारी भनिएको छ ।

डब्लुएचओले एचपीभी खोप लगाउँदा भविस्यमा लाग्न सक्ने पाठेघरको मुखको क्यान्सर हुने सम्भावना ७० प्रतिशतले कमी हुन्छ ।

यति केमले यसअघि २०७८ साल असारमा १५ हजार डोज सर्भारिक्स ल्याएको थियो । त्यसबेला १२ हजार ५ सय डोज चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई दिएको थियो भने बाँकी २ हजार ५ सय डोज खोप यतिकेम आफैले बिक्री गरेको थियो । यस पटक भने सबै खोप यतिकेमले नै बिक्री बितरण गर्ने जनाएको छ ।

एचपीभी खोपले कसरी काम गर्छ ?

पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्युमन प्यापीलोमा भाइरस (एचपीभी)लाई मानिएको छ । जुन यौन क्रियाकलापको माध्यमबाट महिला वा पुरुषमा सर्दछ ।

एचपीभी भाइरसहरुको समूह हो । यो भाईरस १७० भन्दा बढी प्रकारको हुन्छ । यो संसारभर पाइन्छ । यीमध्ये १४ प्रकारका एचपीभी भाईसरको संक्रमणले पाठेघरको मुखको क्यान्सर, योनी, लिंग, गुदद्धार र घाँटीको समेत क्यान्सर गराउन सक्दछ ।

‘एचपीभी १६ र एचपीभी १८ ले मात्रै ७० प्रतिशत भन्दा बढी क्यान्सर गदाउँछन् । त्यसैले बालिकाहरुको संक्रिय यौन जीवन शुरु हुनु भन्दा अघि नै ९ देखी १५ बर्ष उमेरको बीचमा एचपीभीको संक्रमणबाट हुने क्यान्सरबाट जोगाउन एचपीभी विरुद्धको खोप दिइनु पर्दछ,’ भन्छन् क्यान्सर रोग विशेषज्ञ डा विष्णुदत्त पौडेल ।

विश्वका कतिपय मुलुकहरुले आफ्नो नियमित खोप सेवामा एचपीभी विरुद्धको खोपलाई समावेश गरीसकेका छन् । यो खोप सुरक्षित, प्रभावकारी र अर्थिक रुपले उपयुक्त छ भनि विश्व स्वास्थ्य संगठनले सिफारिस गरिसकेको छ । यसको नकारात्मक असर देखिएको छैन ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *