कानूनका रक्षकहरु नै उल्लंघनकर्ता हुने खतरा :

सूर्ती उद्योगको मुख्य प्रायोजनमा हुने कार्यक्रममा प्रमुख बक्ता बन्दै पूर्व प्रधानन्यायाधीश, प्रवर्द्धक बन्दै स्थानीय सरकार

काठमाडौँ, २७ माघ ।  सूर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी ऐनको कार्यान्वयन नगर्न भन्दै सुर्ती उद्योगीहरु सर्बोच्च अदालतमा मुद्धा लिएर जाँदा तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठले ऐन कार्यान्वयन गर्नुपर्ने पक्षमा ऐतिहासिक फैसला गरेका थिए ।

सेवा निवृत्त भएपछि पनि पूर्व प्रधानन्यायधीश श्रेष्ठले विभिन्न अन्तरक्रिया कार्यक्रममा सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी ऐन कार्यान्वयन गर्न सरकार चुकिरहेको भन्दै प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकिने बताउँदै आएका थिए । तर, यसपटक उनै श्रेष्ठ सुर्ती उद्योगको प्रायोजनमा आगामी ३ देखि ७ फागुनसम्म पोखरामा हुने भनिएको साहित्य सम्मेलनमा संविधान र सुशासनको विषयमा विद्धत्प्रवचन दिने तयारी गर्दैछन् ।

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ को दफा १० मा जनस्वास्थ्यका लागि हानिकारक पदार्थ उत्पादक कम्पनीको विज्ञापन तथा प्रायोजन गर्न नपाइने भनेर स्पष्ट उल्लेख गरिएको छ।

 

नेपालकै प्रमुख सुर्ती उद्योग सूर्य नेपालको मुख्य प्रायोजन रहेको कार्यक्रम साहित्य सम्मेलनमा संविधान र सुशासनको विषयमा विद्धत्प्रवचन दिने भनेर आयोजकले पूर्वप्रधान न्यायाधीश श्रेष्ठलाई पहिलो दिन नै मञ्चमा बोलाउने तयारी गरेको छ । प्रायोजन गर्ने लगायतका विषयमा आफैले विगतमा गरेको फैसला कुल्चिदै मञ्चमा सहभागी हुन्छन कि हुँदैनन् त्यो भने हेर्न बाँकी नै छ ।

नियमन गर्ने निकाय नै प्रवर्द्धक बन्दै

साहित्य सम्मेलनको नाम नै मुख्य प्रायोजकको रुपमा नेपालकै प्रमुख सुर्तीउद्योग सूर्य नेपालले लिएको छ । कानून त ब्राण्ड नेम र लोगो सहित यसरी प्रायोजन गर्ने सूर्य नेपाललाई स्थानीय निकायको रुपमा रहेको पोखरा महानगरपालिकाले कार्वाही गर्नु पर्दथ्यो ।

किनभने सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ मै पनि यसलाई नियमन तथा नियन्त्रण गर्न स्थानीय निकायको मेयरको अध्यक्षतामा उपसमिति रहने उल्लेख छ । तर नियन्त्रण गर्ने निकाय आफै कार्यक्रममा पार्टनर बनेको छ ।

यसैबीच नेपालमा सूर्तिजन्य पदार्थको नियन्त्रण तथा नियमनका क्षेत्रमा काम गर्दै आएको एक्सन नेपालले आयोजक संस्था र सहभागीहरुलाई ती कानुनतर्फ ध्यानाकर्षण गराएको छ। आयोजक बुकवर्म फाउन्डेसनलाई कानुन विपरित प्रायोजन नस्वीकार्न र नीति निर्मातालाई जनस्वास्थ्यका लागि हानिकाक वस्तुको प्रबर्द्धन हुनेगरी आयोजित कार्यक्रममा सहभागी नहुन अपिल समेत गरेको छ।

उक्त संस्थाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सूर्तिजन्य पदार्थ तथा मदिराले मानव स्वास्थ्यमा पुर्‍याइरहेको क्षतिका विषयमा जनचेतना फैलाउनुपर्थ्यो। तर, त्यस बिपरित आम नागरिक, चिकित्सक, पत्रकार, सामाजिक संस्था र विभिन्न सरोकारवालाहरुको ठूलो दबाब र लडाइँपछि आएका कानुनहरुकै बिरुद्ध हुनेगरी सूर्तिजन्य पदार्थ उत्पादकहरुको प्रचारका लागि लोगोसहित कार्यक्रम गरिनु बिडम्बनापूर्ण हो।’

सूर्तीजन्य पदार्थको सेवनले नेपालमा हरेक वर्ष ३७ हजार पाँच सय व्यक्तिको अल्पआयुमै मृत्यु हुने गरेको तथ्यांक छ । जुन नेपालमा हुने कुल मृत्युको झण्डै १९.४ प्रतिशत हो ।

सन् २०१९ मा स्वास्थ्य मन्त्रालयले गरेको सर्वेक्षण अनुसार हाल नेपालमा कुल जनसंख्याको झण्डै २९ प्रतिशत मानिस धूम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन गर्दछन् ।

त्यस्तै एक्सन नेपालले हालसालै गरेको सूर्तिजन्य पदार्थको सेवनबाट हुने क्यान्सर रोगको निदान तथा उपचार सेवामा आउने बिरामीको आर्थिक भार सम्बन्धी अध्ययनले १६ प्रतिशत बिरामीले उपचारका लागि आफ्नो घरखेत बेच्ने गरेको देखाएको छ ।

यी रोगहरुबाट बचाउन सूर्तिजन्य पदार्थको सेवन न्युनिकरण, नियन्त्रण तथा नियमन गरी सर्वसाधारण जनताको स्वास्थ्य र आर्थिक हितको अभिवृद्धि गर्न सरकारले सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८, नियमावली २०६८ तथा निर्देशिका २०७१ ल्याएको छ।

नीति निर्माताको कानुन विपरित सहभागिता

कानुन कार्यान्वयनको उच्च पद सर्वोच्च अदालतका प्रधानन्यायाधीश समेत बनिसकेका कल्याण श्रेष्ठ पनि सहभागी हुने भन्दै प्रचार गरिएको छ । ‘यो कार्यक्रमको प्रायोजक सुर्य नेपाल प्रालिले सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ बिरुद्ध दायर गरेको मुद्दामा ‘सूर्तीजन्य उद्योगको स्वास्थ्य भन्दा नेपाली जनताको स्वास्थ्य ठूलो हो’ भन्दै जनस्वास्थ्यका विषयमा संसारकै उत्कृष्ट फैसला गरेका सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश श्रेष्ठलाई गुमराहमा राखेर प्रचार गरिनु आफैंमा अनौठो विषय बनेको छ,’ एक्सन नेपालका कार्यक्रम संयोजक अमित बम हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

कार्यक्रममा पूर्व प्रधानन्यायाधीश श्रेष्ठ मात्रै नभइ कानुन निर्माता र कार्यान्वयनकर्ताको समेत उपस्थिति हुने भनिएको छ । अर्थमन्त्री डा प्रकाशशरण महत, सांसद एवं अर्थशास्त्री डा स्वर्णिम वाग्ले, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, सांसद सुमना श्रेष्ठ, पूर्वमिस नेपाल शृङ्खला खतिवडा, पूर्व अर्थमन्त्रीहरू वर्षमान पुन, सुरेन्द्र पाण्डे,  नेता सीके राउत, लेखक खगेन्द्र संग्रौला, प्राडा. कुन्दन अर्याल, पत्रकार विजय कुमार, पत्रकार भूषण दाहाल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सांसद एवं उद्योगी विनोद चौधरी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, योगी विकासानन्द, पूर्वपरराष्ट्रमन्त्री विमला राई पौड्याल, रोहिणी राणा, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेल, पूर्व बैंकर अनिलकेशरी शाह, प्रा. कुसुम शाक्य, नेत्री समीक्षा बास्कोटालगायत सहभागी हुने आयोजक संस्थाले पत्रकार सम्मेलनमार्फत् जनाएको छ।

 

सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को परिच्छेद ३ दफा २२ को उपदफा ६ सार्वजनिक निकायका पदाधिकारीहरुले सहभागी हुन नपाउनेभ भनिएको छ। जहाँ उल्लेख छ,  ‘सार्वजनिक निकायका पदाधिकारीहरुलाई सूर्ति उद्योगबाट प्रदान गरिने कुनैपनि प्रकारका सहयोग र पुरस्कार प्राप्त गर्न,  सूर्ति उद्योगबाट प्रायोजित कार्यक्रममा सहभागिता, सूर्ति उद्योगको सहयोगमा वा सूर्ति उद्योगको आमन्त्रणमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय बैठक, भ्रमण, तालीम, गोष्ठी, सम्मेलन जस्ता कार्यक्रमहरुमा सहभागीता स्वीकार गर्नु हुदैन।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *