क्यान्सर बिजेताहरुले देखाएको बाटो

काठमाडौँ, २२ माघ । अहिले पनि क्यान्सर रोग लागेका र त्यसलाई पराजित गरेका कतिपय व्यक्तिहरु समाजमा राम्ररी खुल्न सकेका छैनन् । तर क्यान्सर विरुद्ध बिजयी प्राप्त गरेका कतिपय व्यक्तिहरु मिलेर खोलेको नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीको पछिल्ला गतिविधिहरु भने लोभलाग्दो छ ।
क्यान्सर विरुद्धको अभियानमा यो सोसाइटीको गतिविधिले क्यान्सरका बिरामी र तिनका परिवारलाई काउन्सिलिङ मात्रै गरेको छैन, बिरामीलाई कहाँ निर कस्तो समस्या छ ? नीतिगत रुपमा कहाँ कहाँ निर ग्याप छ ? सम्वन्धित पक्षलाई संस्थागत रुपबाट ध्यानाकर्षण गराउँदै आएको छ ।
यस्तै समुदायस्तरमा पुगेर क्यान्सर के कारणले लाग्छ ? रोग लाग्न नदिन के गर्ने ? रोगका संकेतहरु कस्तो हुन्छ ? रोग लागि हालेमा के के गर्ने भन्ने सम्मका सचेतनामुलक कार्यक्रम गर्दै आएको छ ।
सोसाइटीका अध्यक्ष प्रमिता खनाल भन्छिन्, ‘हाम्रो संगठन विशुद्ध स्वयंसेवी संगठन हो । त्यसैले यसका गतिविधिहरु पनि सोही किसिमको हुन्छ । खासगरी बिरामी हुँदा बखतका समस्यालाई बुझेर हामी क्यान्सर बिजेताहरु संगठित भएका हौँ । यसले व्यक्तिको समस्या हल गर्न पनि सजिलो हुँदो रहेछ र राज्य पक्षलाई नीतिगत सुधारका लागि दवाव दिन पनि सजिलो हुँदो रहेछ ।’

आइतबार फेब्रअरी ४ अर्थात विश्व क्यान्सर दिवस ।
बबरमहलस्थित कार्की व्यांक्वेटमा ठूलो संख्यामा क्यान्सर बिजेता र तिनका परिवारका सदस्यहरुको उपस्थिति थियो ।
त्यहि आएका थिए स्वास्थ्य मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा दीपेन्द्र रमण सिंह, औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल, नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल बिक्रम कार्की, मनोचिकित्सक डा सरोजप्रसाद वझा सम्म ।

यस्तै अघिल्लो पुस्ताका क्यान्सर रोग विशेषज्ञहरु डा मदनकुमार पिया, डा प्रकाशराज न्यौपाने, डा राजेन्द्र बराल, गिसुप निख प्रसिकु । बीचको पुस्ताका डा सुदीप श्रेष्ठ, डा विवेक आचार्य देखि पछिल्लो पुस्ताका डा अरुण शाहीसम्म ।
उनीहरु उपस्थिति मात्रै भएनन, बढ्दो क्रममा देखिएको क्यान्सर, उपचारमा देखिएको ग्याप, बिरामी पक्षको समस्या, औषधि उपलव्धता लगायतका विषयमा गहन छलफल गरे । उनीहरुलाई एक ठाउँमा ल्याउने काम त्यहि सोसाइटीले गरेको थियो ।

कार्यक्रममा अतिरिक्त स्वास्थ्य सचिव डा दीपेन्द्ररमण सिंहले क्यान्सरको जोखिम बढ्दो क्रममा रहेकोले यसविरुद्धको अभियानमा सबै पक्ष एक जुट भएर लाग्नु पर्ने बताए । उनले सरकारले रोगको पहिचान तथा उपचारमा केही काम गरेको भन्दै पर्याप्त भने नभएको बताए ।
अर्का अतिथि डा मदन कुमार पिया भने क्यान्सर सर्भाइभरको कार्यक्रम देखेर दंग परे । ‘यति धेरै क्यान्सर सर्भाइभरहरु खुलेर आउनु भयो । आफ्ना समस्या राख्नु भयो र हाम्रा कुरा सुन्नु भयो । म एकदमै खुशी छु,’ क्यान्सरका बरिष्ठ डाक्टर मदनकुमार पियाले भने ।
त्यसमा प्रकाशराज न्यौपानेले क्यान्सरको उपचारमा विकसित देश र विकासशील देशमा देखिएको ग्यापका विषयमा कुरा राखे ।
अर्का डाक्टर राजेन्द बरालले विज्ञानले क्यान्सर रोगको उपचारमा धेरै नै फड्को मारेको भन्दै पहिले क्यान्सर नो एन्सर भन्ने अवस्थाबाट अहिले क्यान्सर ह्याव अ मल्टिपल एन्सर भन्ने अवस्थामा आइपुगेको बताए । उनले क्यान्सर विरुद्धको अभियानमा सर्भाइभर्सहरुको भूमिका महत्वपूर्ण र प्रभावकारी हुने बताए ।

डा गिसुप निख प्रसिकोले क्यान्सरका बिरामीलाई समयमै गर्नुपर्ने उपचार सेवाको बारेमा सम्वेदनशील हुनु पर्ने भन्दै बिरामीको चापका कारण कतिपय अवस्थामा अस्पतालले समयमै उपचार सेवा सुरु गर्न नसक्ने बताए ।
यता डा. सुदीप श्रेष्ठले क्यान्सरको उपचारका लागि राज्यले १० लाख सम्मको उपचार सहुलियत दिनु पर्ने, स्वास्थ्य बीमा कार्यक्रम मार्फत त्यसलाई अघि बढाउन सकिने बताए ।

डा सरोज वझाले शारीरिक स्वास्थ्य मात्रै नहेरी मानसिक स्वास्थ्य समेत बलियो र स्वस्थ हुनु पर्ने भन्दै यसले धेरै रोग र समस्यालाई समाधान हुने बताए ।
कार्यक्रममा डा अनिल विक्रम कार्कीले सरकारले क्यान्सर रोगका विरामीलाई दिने गरेको मासिक ५ हजार रुपैयाँलाई प्याकेजको रुपमा ढालेर फलोअप आउँदा खर्च निशुल्क लाग्ने बनाउनु पर्ने बताए । उनले सरकारले क्यान्सरलाई सामान्य ढंगले हेरेको भन्दै यसका लागि छुट्टै सेल बनाउनु पर्ने बताए ।
अर्का डाक्टर अरुण शाहीले नेपालमा दैनिक ४० जना बढीको क्यान्सरको कारण मृत्यु हुने गरेको भन्दै यो भयावह अवस्थालाई न्युनिकरण गर्नका लागि सबै पक्ष मिलेर लाग्नु पर्ने बताए । उनले पछिल्लो समय अस्पतालको पहुँच र क्यान्सर उपचारमा भएका नविनतम प्रविधि र पद्धतीले निको हुनेको संख्या बढ्दै गएको बताए ।
सोसाइटीका उपाध्यक्ष पुजा कुँवरले क्यान्सर बिरामीले भोग्नु परेका पिडा र गर्न सकिने सुधारका बारेमा चिकित्सक तथा सरोकारवालाको ध्यानाकर्षण गराएकी थिईन् ।

‘यस्तो कार्यक्रम गर्नुको उदेश्य क्यान्सर रोग लागेपछि अब जीवन समाप्त भयो भन्नेहरुलाई सन्देश दिनका लागि हो । क्यान्सर रोग लागेपछि निको हुँदैन भनेर उपचारमा बेवास्ता गर्नेहरुका लागि हो । कि, क्यान्सर पछि पनि जीवन छ, पहिलेजस्तै सक्रिय जीवन विताउन सकिन्छ । अझ बढी जिम्मेवार भइन्छ भनेर सन्देश प्रवाह गर्न पनि हो,’ सोसाइटीकी अध्यक्ष खनालले भनिन् ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




