छैटौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा हुने

नेपाल सहित भारत र अमेरिकाका चिकित्सकहरुको सहभागिता रहने

काठमाडौँ, २१ मंसिर । छैटौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन नेपालको जनकपुरमा हुने भएको छ। आगामी मार्च १६ मा हुने सम्मेलनमा दक्षिण एशियाको क्यान्सर उपचारलाई थप गुणस्तरीय बनाउने विषयमा छलफल हुनेछ।

सम्मेलनमा अमेरिका, भारत र नेपालका क्यान्सर रोग विशेषज्ञका साथै यसको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, नर्स र सरोकारवालाहरु सहभागी हुने आयोजक विनयतारा फाउन्डेसनले जनाएको छ।

‘अमेरिका, भारत र नेपालका विशेषज्ञहरु एकठाउँ भेला भएर दक्षिण एशियाकै क्यान्सरको उपचार थप प्रभावकारी बनाउने विषयमा छलफल गरिनेछ,’  सम्मेलनका निर्देशक तथा फाउन्डेसनका अध्यक्ष डा विनय शाहले भने।

क्यान्सरको उपचारमा पछिल्लो समय प्रयोगमा आइरहेका औषधी, उपचार पद्धति र उपकरणका विषयमा सम्मेलन केन्द्रीत हुने सम्मेलनका सभापति तथा विनयतारा क्यान्सर अस्पतालका मेडिकल अफिसर डा वाइपी सिंहले बताए।

केही विशेषज्ञहरुले अहिले नै सम्मेलनमा सहभागी हुने निश्चित गरेका छन्।

हालसम्म भर्जिनिया म्यासो मेडिकल सेन्टर, अमेरिकामा कार्यरत डा. डेभिड एबौलाफिया, हुन्त्सम्यान क्यान्सर इन्सिच्‍युट अमेरिकामा कार्यरत डा श्रीनिवास के तन्त्रावही, मायो क्लिनिक अमेरिकामा कार्यरत डा. सिद्धार्थ यादव, नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरमा कार्यरत डा सुदीप श्रेष्ठ, राजीव गान्धी क्यान्सर इन्सिटच्युट एन्ड रिसर्च सेन्टर भारतमा कार्यरत डा. दिनेश भुरानी, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा अभिमन्यु झा, डा अन्जन श्रेष्ठ, नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरमा कार्यरत प्रभात ठाकुर लगायतका क्यान्सर रोग विशेषज्ञले सम्मेलनमा सहभागिता जनाउने तय गरिसकेको आयोजकले जनाएको छ।

सम्मेलनमा सहभागी हुनका लागि आगामी जनवरी १५ सम्म रजिस्ट्रेसन गराइसक्नुपर्नेछ। विशेषज्ञका लागि १५ सय, मेडिकल अफिसरका लागि एक हजार र अन्य हेल्थ प्रोफेसनलका लागि ५ सय रुपैयाँ शुल्क तोकिएको छ।

अमेरिकामा दर्ता भएको गैर नाफामुखी संस्था विनयतार फाउन्डेसनले स्वास्थ्य सेवामा न्युन पहुँच भएको दक्षिण एशियाका विभिन्न क्षेत्रमा काम गरिरहेको छ। बोनम्यारो प्रत्यारोपण केन्द्र, होम हस्पिस कार्यक्रम, क्यान्सर स्क्रिनिङ, स्रोतसाधन नपुगेका समुदायका लागि चिकित्सा अनुसन्धान अनुदान जस्ता कुरामा यसले सहयोग गरिरहेको छ।

मधेश प्रदेशमा दक्षिण एशियाकै नमुना क्यान्सर उपचार केन्द्र बनाउने लक्ष्य लिएको फाउन्डेसनले जनकपुरमा २५ बेडको अस्पताल सञ्चालन गरिरहेको छ भने २ सय बेडको अस्पतालका लागि संरचना बनाउने तयारी पूरा भएको छ।

नेपालको सिभिल अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनामा फाउन्डेसनले महत्वपूर्ण भूमिका छ।

फाउन्डेसनकै अर्थिक सहयोगमा नेपालको बोनम्यारो प्रत्यारोपण केन्द्र टीमलाई सिकागो (अमेरिका) स्थित इलिनोइस विश्वविद्यालयमा तालीम प्रदान गरिएको थियो।

फाउन्डेसन नेपालमा मात्रै नभई भारतको मध्य प्रदेश र दक्षिण अमेरिकामा समेत  क्यान्सर उपचार, अनुसन्धान र शिक्षा क्षेत्रमा काम गरिरहेको बताइएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *