चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा सर्ट लिष्टमा परेकाहरुको आज लिने भनिएको प्रस्तुतिकरण तथा अन्तर्वार्ता रोकियो

काठमाडौँ, १८ मंसिर ।  चिकित्सा शिक्षा आयोजको निर्देशक पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले अल्पसूची (सर्ट लिष्ट)मा परेका १२ जनाको आज लिने भनेको प्रस्तुति तथा अन्तर्वार्ताको कार्यक्रम स्थगित गरेको छ ।

समितिले प्राविधिक कारण जनाउँदै अर्को सूचना प्रकाशित नभए सम्मका लागि स्थगित गरिएको जनाएको छ ।

यसअघि समितिले आज विहान ८ बजे देखि अपरान्हसम्ममा १२ जनाको प्रस्तुति तथा अन्तर्वार्ता लिने योजना बनाएको थियो ।
त्यसो त चारवटा निर्देशक पदका एक साता समय दिएर मागिएको आवेदनमा २० जनाको परेको थियो । तर समितिले परेका आवेदनमध्ये तोकिएको मापदण्ड पुरा गरेकाहरु १२ जना रहेको भन्दै आइतबार उनीहरुको नाम सर्वाजनिक गरेको थियो ।

समितिले सार्वजनिक गरेको सूचीमा नपरेपछि केही आवेदकले सर्बोच्च अदालतमा मुद्धा दायर गरेको समेत बताइको छ ।
तर समितिका एक जना सदस्य प्राडा रमेशकान्त अधिकारीले मुद्धा वा अदालतका कारणले नभई आन्तरिक तयारी नपुगेर स्थगित भएको बताए ।

‘ अल्पसूचीमा पर्नेको संख्यामा  संख्यामा केही फेरवदल हुँदैन । १२ जना नै हो । तर हामीले प्रस्तुति तथा अन्तर्वार्ता लिनका लागि केही प्रोसिडिउर मिलाउनु पर्ने देखियो । त्यसका लागि आजको लागि तयारी भएको कार्यक्रम स्थगित भएको हो,’ उनले भने ।

शिक्षा मन्त्रालय स्रोतका अनुसार सम्भवत आज स्थगित भएको प्रस्तुतिकरण तथा अन्तर्वार्ता भोलिका लागि तय हुनेछ । त्यसका लागि बेलुका पुर्नतालिका सार्वजनिक हुनसक्ने बताइएको छ ।

‘खासमा चारवटा निकायमा क कसलाई पठाउने ? को यसका लागि योग्य पात्र हुन भनेर मोटामोटी बुझ्ने र सल्लाह गर्ने काम पनि त हुनु पर्छ । त्यसका लागि आन्तरिक तयारी गर्न खोजेको हो,’ मन्त्रालय स्रोतले भन्यो ।

त्यसो त समितिले आजको प्रस्तुति र अन्तरवार्ता हेरेर चार जना उत्कृष्ठलाई चारवटा निकायमा निर्देशक रहने गरी नाम सिफारिस गर्नेछ ।
आयोगमा मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी तीन वटा निर्देशनालय र एक बोर्ड रहेको छ ।

यसअघि नाम सिफारिस गर्न सरकारले राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । जसमा प्राडा रमेशकान्त अधिकारी र प्राडा बुद्धिबहादुर थापा सदस्य रहेका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *