इन्धन सकिन लागेपछि गाजाका अस्पताल आपत्कालीन उपचारमा सीमित

बीबीसी न्युज  । गाजा स्ट्रिपका अस्पतालहरूमा आपत्कालीन अवस्थाका बिरामीहरू मात्र भर्ना लिन थालिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। उक्त भूभागभर छिट्टै इन्धन सकिने चिन्ताबीच त्यसो गरिएको जनाइएको छ।

राष्ट्रसङ्घीय भवनहरूमा विस्थापित छ लाखभन्दा धेरै मानिसहरूको भिडभाड छ, जुन त्यहाँको क्षमताभन्दा चार गुणा बढी हो।

गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले लगातार दोस्रो दिन इजरेली हवाई हमलाका कारण ७०० भन्दा धेरै मानिसहरू मारिएको जनाएको छ।

इजरेलको सेनाले आफूले हमास लडाकुहरू र पूर्वाधारमा निसाना बनाएको जनाएको छ।

हमासले इन्धन लुकाएको आरोप

अक्टोबर ७ मा हमासले सीमाना नाघेर गरेको अभूतपूर्व हमलाको जवाफमा इजरेलले उक्त सङ्गठनविरुद्ध बमबारी अभियान चलाएको छ।

हमासलाई इजरेल, यूके, अमेरिका र अन्य शक्ति राष्ट्रहरूले आतङ्ककारी सङ्गठन मान्छन्।  अक्टोबर ७ को घटनामा कम्तीमा १,४०० मानिसहरू मारिनुका साथै २२२ जनालाई बन्धक बनाइएको थियो।

इजरेलले गाजामा थप इन्धन आपूर्ति हुन दिएको छ। यद्यपि उसले हमासले इन्धन चोरेर सैन्य प्रयोजनमा लगाउन सक्ने बताउँदै आएको छ।इजरेलले हमासले लाखौँ लिटर डीजल लुकाइराखेको र त्यो बाँड्न नखोजेको आरोप लगाएको छ।

बीबीसी संवाददाता रुश्दी अबु अलुफ गाजाको दक्षिणी सहर खान यूनिसमा छन्। उनले बुधवार त्यस क्षेत्रका अस्पतालहरूले आफ्ना आपत्कालीन कक्षबाहेक सबै विभाग बन्द गरेको बताए।

त्यसो गर्नुको कारण भेन्टिलेटर, नवजात शिशुहरूलाई आवश्यक पर्ने इङ्क्यबेटरहरू र मिर्गौला डाइएलसिस यन्त्रजस्ता जीवनरक्षक उपकरणहरूका लागि इन्धन बचत गर्नु रहेको बताउँछन्।

गाजाको सबैभन्दा ठूलो अस्पताल अल-शिफाका प्रमुख मोहम्मद अबु सेल्मिया भन्छन्, “अस्पतालहरू पूर्णतः काम गर्न नसक्ने अवस्थामा छन्।”

विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि डा रिचर्ड पीपरकर्नले यसअघि बीबीसीसँग कुरा गर्दै राष्ट्रसङ्घको सहायतामा सञ्चालित अस्पतालहरू “जीवनरक्षक कामका लागि मात्र न्यून स्तरमा” काम गरिरहेको बताएका थिए।

थप सङ्कटको चेतावनी
हमासको हमलापछि इजरेलले गाजामा विद्युत् आपूर्ति रोकेको छ। ११ अक्टोबरमा त्यहाँको एकमात्र ऊर्जा केन्द्रमा इन्धन सकिएपछि उक्त भूभाग जगेडा जेनेरेटरका भरमा छ।

यदि मुख्य उपकरणहरू विद्युत्‌रहित अवस्थामा रहेमा थप मानिसहरूले ज्यान गुमाउने गाजामा रहेका सहायता निकाय र स्वास्थ्यकर्मीले चेतावनी दिएका छन्।

गाजामा सबैभन्दा ठूलो मानवीय सहायताको कार्यक्रम सञ्चालन गर्ने प्यालेस्टिनी शरणार्थीका लागि राष्ट्रसङ्घीय निकाय यूएनआरडब्ल्यूएले समेत थप ऊर्जा आपुर्ति हुने नसके बुधवार रातिबाट सबै काम रोक्नुपर्ने बताएको थियो।

थप सहयोगको आग्रह
गाजामा थप मानवीय सहायताका लागि व्यापक अन्तर्राष्ट्रिय आह्वान भइरहेका छन्। त्यहाँ घर छाडेका झन्डै १४ लाख मानिसहरू खाद्यान्न, स्वच्छ पानी र बस्ने व्यवस्थाका लागि सङ्घर्षरत छन्।

गत सप्ताहान्तयता इजिप्टबाट कम्तीमा ६० वटा सहायता बोकेका लरीहरू गाजा प्रवेश गरे तापनि त्यसले त्यहाँको आवश्यकताको निकै सानो अंश मात्र पूरा गर्नेछ।

सहायता संस्थाहरूका अनुसार त्यहाँ दैनिक रूपमा कम्तीमा १०० वटा सहायता सामग्रीसहितका लरीहरू पुग्नुपर्ने अवस्था छ।

गाजामा ज्यान गुमाउनेको सङ्ख्या समेत निकै बढेको छ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरेलले जवाफी रूपमा हवाई हमला र क्षेप्यास्त्र प्रहार सुरु गरेयता कुल ६,५७७ जना मानिसहरू मारिएका छन्, जसमा २,७०४ बालबालिकाहरू छन्।

बुधवार बिहान इजरेलको सेनाले जनाएअनुसार उसले गाजाभर “व्यापक आकारका हमला” जारी राखेको छ। त्यस क्रममा उसले निसाना बनाएका हमासका पूर्वाधारमा “सुरुङहरू, सैन्य मुख्यालय, अस्त्र भण्डार, मोर्टर लन्चरहरू र ट्याङ्कप्रतिरोधी मिसाइल लन्चरहरू” छन्।

उसले हमासको आपत्कालीन परिचालन संयन्त्रमा हमला गरेको जनाएको छ। इजरेली सेनाका अनुसार त्यसले सर्वसधारणहरूलाई दक्षिणतर्फ जान अवरोधहरू खडा गरेको थियो।

इजरेलको सेनाले आफ्नो सुरक्षाका लागि भन्दै चेतावनी दिएपछि उसले जमिनबाट गर्ने ठानिएको हमलाअघि लाखौँ मानिसहरू आफ्ना घरबार छाडेर गाजाको उत्तरी भागतर्फ गएका छन्।

मङ्गलवार राति इजरेली सेनाले समुद्रमार्फत् इजरेलमा घुसपैठ गर्ने प्रयास गरेका हमासको एक गोताखोरको समूहलाई निसाना बनाएको जनाएको थियो।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *