इजरायल हमास युद्ध : गाजाको अस्पतालमा भएको रकेट आक्रमणमा ५०० बढीको मृत्यु

एजेन्सी । गाजाको एउटा अस्पतालमा मंगलबार राती भएको ठूलो विष्फोटमा परी ५०० भन्दा बढी मानिसको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश बालबालिका र महिलाहरु रहेको बताइएको छ ।

घटनामा अस्पतालमा उपचार तथा आश्रय लिएर बसेका सयौँ घाइते भएका छन् ।

हमासले अस्पतालमा भएको आक्रमणको दोष इजराइल माथि लगाएको छ । तर इजरायलले अस्पतालमाथि आफूले आक्रमण नगरेको दावी गरेको छ । उसले प्यालेस्टेनी आतंककारी समूह हमासले नै अस्पताल क्षेत्र वरपर बसेर आक्रमण गरिरहेको उसको रकेट अस्पतालमा खसेको दावी गरेको छ ।

बीबीसीले विस्फोट भएका बखत उक्त अस्पतालमा काम गर्ने एक चिकित्सकलाई उदृत गर्दै अस्पताल पूर्ण रुपमा विनाश भएको जनाएको छ । ती चिकित्सकका अनुसार उक्त अस्पतालमा ४ हजार बढी विस्थापित व्यक्तिहरु शरण खोजिरहेका थिए ।

सोही अस्पतालमा काम गरिरहेका लण्डनका शल्यचिकित्सकले बिस्फोट हुँदाको अराजक क्षणको बर्णन गरेका छन् । उनले भनेका छन, अस्पतालको केही भागमा आगो लागेको छ । बिस्फोटमा परी मृत्यु भएकाहरुको शव अहिले यत्रतत्र छरिएको छ ।

गाजामा ५ हजार गर्भवती महिलामा खतरा
न्युयोर्क टाइम्सका अनुसार गाजामा यसबेला ५ हजार महिला गर्भवती रहेका छन् । उनीहरुलाई यतिवेला उपचारको जरुरी छ । तर अहिले त्यहाँको अस्पतालमा न औषधि छ न त बिजुली बत्ती नै ।

यिनैमध्ये कतिपय त बम बिस्फोटमा घाईते समेत भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । अन्तराष्ट्रिय गैर सरकारी संस्था सेभ द चिल्ड्रेनका अनुसार युद्धमा अहिलेसम्म १ हजार प्यालेस्टेनी बालबालिकाहरुको मृत्यु भइसकेको छ । यदि अब पनि केही गरिएन भने अवस्था झन भयावह हुनेछ ।

‘एक लिटर डिजेल छ भने पनि अस्पतालमा दिनुहोस्’
यसैबीच प्यालेस्टाइनका स्वास्थ्य मन्त्रीले मंगलबार राती आफ्ना जनतालाई अपिल जारी गर्दै एक लिटर डिजल छ भने पनि अस्पतालमा दान गर्न आग्रह गरेका छन् । उनले भनेका छन, ‘अस्पतालमा जेनेटर चलाउन अत्यन्त आवश्यक छ, तपाईँको यो सहयोगले कसैको ज्यान बचाउन सकिन्छ ।’

हमासले इजरायल माथि आक्रमण गरी सुरु भिषण युद्ध १२ औँ दिन पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *