स्वस्तिक अस्पतालमा पत्थरीको शल्यक्रिया गर्दा बिरामीको मृत्यु, के भन्छन् शल्यक्रिया गर्ने डा. तिवारी ?

काठमाडौँ, ११ भदौ । धनगढीस्थित स्वस्तिक अस्पतालमा पत्थरीको उपचार गर्ने क्रममा एक व्यक्तिको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५७ वर्षीय ऐजनलाल चौधरीको अस्पतालमा मृत्यु भएको हो।
उनको उपचारका क्रममा आएको जटिलताले मृत्यु भएको उपचारमा सम्लग्न चिकित्सकले बताएका छन् । यता चौधरीका भतिजा राजकुमार चौधरीका अनुसार ऐजनलालको दुवै मिर्गौलामा पथ्थरी थियो ।
गत शनिबार उनलाई सो अस्पताल भर्ना गरिएको थियो। उनको बायाँ मिर्गौलामा ११ एमएम र ९ एमएम गरी २ वटा पत्थरी थिए भने दायाँ मिर्गौलामा साढे ९ एमएमको पत्थरी थियो। डाक्टरले पहिले बाँया तर्फको मिर्गौलामा भएको पत्थरी फ्याक्ने भन्नु भयो र गर्नु भयो तर केशले जटिलता लियो । बिरामीको ज्यान गयो ।
यसै सन्दर्भमा पत्थरीको शल्यक्रिया गरेका डाक्टर जोनस तिवारीसंग केस बारेमा नेपाली हेल्थले कुराकानी गरेको छ ।
प्रस्तुत छ केशबारेको विवरण डाक्टर जोनस तिवारीकै शव्दमा
बिस्तृत त अस्पताल प्रशासनले नै भन्ने छ । तर मैले भन्नु पर्दा बिरामीको विषयमा भन्नु पर्दा पीसीएनएल (नचिरी प्वाल पारेर गर्ने विधि) बाट मिर्गौलाको पत्थरी निकाल्ने प्लान गरिएको थियो ।
उहाँहरु आफै नै म कहाँ आउनु भएको हो । मै संग गर्ने भनेर । किनभने पहिले उहाँहरुको आफन्तको पनि मैले पत्थरी अप्रेसन गरेको रहेछु । आफन्तहरुको रिकमेन्डेशनबाट नै उहाँहरु म संग उपचार गर्ने भनेर आउनु भएको हो ।
अप्रेसन शनिबार भएको हो तर आवश्यक जाँचका लागि विहीबार शुक्रबार देखि नै उहाँहरु अस्पताल आइराख्नु भएको थियो । म संग शुक्रबार अरु धेरै केशहरु भएकोले शनिबारको लागि उहाँका लागि पालो र।खेको थिएँ ।
मकहाँ आउनु अघि उहाँहरु अरु अस्पतालमा पनि जानु भएको रहेछ तर उहाँका चिने जानेका आफन्तहरुको सल्लाहमा अन्तिममा म संग शल्यक्रिया गराउन आउनु भएको हो ।
प्रिअप गर्दा सबै ठिक थियो । अप्रेसन गर्न मिल्ने नै थियो । उहाँहरुले पनि पत्थरी देखिईसकेको छ, पछि चाडवाडको सिजन आएपछि झन झ्याउ हुन्छ अहिले नै गरौँ भन्नु भएको थियो । त्यसैले शनिबारको प्लान गरेका थियौँ ।
पीसीएनएल विधिबाट अप्रेसन गरिएका हो । त्यो अप्रेसन गर्ने क्रममा एउटा जोखिम भनेको रक्तश्राव नै हुन्छ । त्यो हामी बिरामी पक्षलाई बुझाएको थियौँ । एक हद सम्मको रक्ताश्राव समयमै थाहा पायौँ भने त्यसलाई सजिलैसंग म्यानेज गर्न सकिन्छ । त्यो हद कट्यो भने अफ्टेरो हुनसक्छ । हामीले कितावमा पढ्दा हेर्दा, अनुसन्धानले भनेका कुराहरु पनि त्यहि नै हुन् ।
त्यहि कुरा हामीले बिरामीपक्षलाई बुझाउने प्रयास पनि गरेका हौँ, कति बुझ्नु भो भएन त्यो उहाँहरुको कुरा भयो ।
अप्रेसन गर्ने क्रममा कतै रक्तश्राव थिएन । सबै नर्मल नै थियो । अप्रेसन गर्ने बेलामा सुरुमै पंङचर गर्ने भन्छौँ हामी त्यो गर्दा खेरी ब्लिडिङ भयो भने हामीले अघि बढ्दैनौँ बरु अर्को ठाँउबाट गर्न खोज्दछौँ । त्यसैले अप्रेसन गर्दा भर राम्रो थियो ।
अप्रेसन पछि स्टेवल भइसकेपछि, हुनु पर्ने सबै इन्डिकेटर नर्मल भइसकेपछि हामीले उहाँलाई पोष्टअपमा सारेका हौँ । त्यो पछि मेरो अझै दुई तीन वटा केश थियो मैले त्यो पनि गरेँ । त्यो अबधीमा पनि मैले बिरामीलाई हेरिराखेको थिएँ । म राती ८ बजे तिर घर आइसकेपछि यो समस्या देखिएको हो ।
राती तत्कालै अस्पताल आएर पुन: हेरेँ । हेर्दा व्लिडिङ भएको देखियो । हामीले मिर्गौला प्वाल पार्दा सामान्य त त्यो आफै बन्द हुनु पर्ने हो । तर उहाँको केशमा त्यो बन्द भएन कि जस्तो लाग्छ । व्यक्तिको शरीरहरुमा पनि कतिपय अवस्थामा यो भर पर्ने कुरा हो । हामीले हेर्दा मिर्गौलाबाट नै ब्लिडिङ भएको थाहा पाएपछि त्यसलाई रोक्नका लागि अनेकन प्रयास भयो त्यो नभएपछि हामीले बिरामीलाई जानकारी गराएर अन्तिम अवस्थामा मिर्गौला झिक्ने निर्णय गरेका हौँ । बायाँ साइडको मिर्गौैला झिकिदिएका हौँ ।
अहिले बिरामीको मृत्यु भईसकेको अवस्था हो । हिजो दिउसो तीन बजे पछि नै उहाँको शरीरले रेस्पोन्स गर्न छाडेको हो । अस्पतालले बिरामी पक्षलाई त्यसबारेमा जानकारी दिईसकेको छ । हिजो दिउसो नै उहाँका आफन्तहरु, नेताहरु समेत यो केशबारे बुझ्न यहाँ आउनु भएको थियो । मैले नै उहाँहरुलाई यो केशका बारेमा बताएका हुँ ।
अब जे नहुनु पर्ने भएको छ । उपचार गरेर निको हुने भन्दै आएको व्यक्ति गुमाउनु पर्दा त्यो चोट कति भयावह हुन्छ हामीले महसुस गरेका छौँ । हामी सबै अत्यन्त दुखी छौँ । तर हामीले कुन अप्रेसन कसरी गर्ने ? त्यसका जटिलताहरु के के हुनसक्छन्, हामीले अप्रेसन गर्नु अघि सबै बिरामी पक्षलाई बुझाएकै हुन्छौँ । उहाँको केशमा पनि बुझाएकै हुँ । जटिलता आउँदा गर्नु पर्ने के के गर्नुपर्छ त्यो पनि गरिएकै हो । यस्तो बेलामा अन्यत्र पठाउने भन्ने तिर लागिएन । किनभने आफू त्यो केशमा सक्षम छु भनेरै हो । तर दुर्भाग्यवस हाम्रो नियन्त्रणमा यो केश रहेन ।
(#रामप्रसाद न्यौपानेले डा तिवारीसंग गरेको कुराकानीमा आधारित)
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



