अर्थ मन्त्रीलाई ओलीको प्रश्न : ‘आलु काउलीमा कर बढाउने सुर्तीजन्य पदार्थमा कर घटाउने ?’

ट्रकमा आउने सामानको जाँच गर्न नसक्ने देशका कुनाकाप्चामा गएर गाँजाको निगरानी गर्न सक्छ ?

काठमाडौँ, २३ जेठ । प्रमुख प्रतिपक्ष दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुर्तीजन्य पदार्थमा करको दर घटाएको भन्दै आपत्ति व्यक्त गरेका छन् । उनले खाद्यन्न तथा तरकारीमा लाग्दै आएको करको दरमा बृद्धि गरेको भन्दै विरोध गरेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा गत १५ जेठमा प्रस्तुत बजेटमाथि छलफल गर्ने क्रममा उनले सरकार जनस्वास्थ्यमा समेत सम्वेदनशील नदेखिएको बताए । ‘सरकारले गतवर्ष स्वास्थ्यलाई कुल बजेटबाट गतवर्ष ५.७५ प्रतिशत छुट्याएको थियो । यसपटक भने कुल बजेटको ४.८० प्रतिशत मात्रै हिस्सा स्वास्थ्यको भागमा परेको छ । यसले सरकार स्वास्थ्यमा सम्वेदनशील छैन भन्ने स्पष्ट गरेको छ,’ उनले भने ।

नेता ओलीले विलासिताका बस्तुमा कर घटाउने, सुर्ती चुरोटमा कर घटाउने अनि आलु काउलीमा दाल मसुरो आदिमा कर बढाउने गरेको आरोप लगाए । उनले भने,  ‘यो बजेटले खाद्यान्नमा कर बढाउँदा नेपालीहरुको चुल्होलाई २१ प्रतिशत महंगो बनायो ।’

हुन पनि सरकारले यसपटक सुर्तीजन्य पदार्थमा करीव ३ प्रतिशतले कर बृद्धि गरेको तर मुद्रास्फिति ८ प्रतिशतको हाराहारीमा पुग्दा करको दर करीव ५ प्रतिशतले कमि हुने देखिएको छ । नेपालमा सुर्तीजन्य पदार्थमा करको दर ३३ प्रतिशतको हाराहारीमा छ । जो दक्षिण एशियाली मुलुकमै सबैभन्दा कम हो ।

भन्सारमा लाइन लागेर रोकिने गाँडीको जाँच गर्न नसक्नेले कुनाकाप्चाको गाँजाको निगरानी गर्ला ?
नेता ओलीले सरकारले औषधिय प्रयोजनका लागि गाँजा खेती खुल्ला गर्ने योजनाको समेत कडा विरोध गरे । उनले भने, ‘देशभरका भन्सारबाट ट्रकमा आएका सामान जाँच गर्न नसक्ने सरकारले देशभरका कुन काप्चामा गाँजाको जाँच गर्न सक्छ ?’

‘पर्यटन, जलविद्युत निकासी गरेर हौइन गाजा निकासी गरेर व्यापार घाटा समाधान गर्ने सरकारको दीर्घकालिन नीति छ । अब युएनमा गएर हामीले गाजा ल्यायौँ विश्वले सिकोस भन्ने त होला नि ?’ कटाक्ष गर्दै उनले भने ।

नेता ओलीले गाँजाले देशमा समृद्धि नआउने विकृति मात्रै फैलने भन्दै सरकारको यो कदम ठिक नभएको ठोकुवा गरे । उनले गाँजा खुल्ला गर्ने नीति पनि कसैको उक्साहटमा ल्याइएको आशंका गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *