सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी ऐनको पालना गर्न जिप्रका काठमाडौँको तीन बुँदे निर्देशन

 

काठमाडौँ, ११ जेठ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सार्वजनिक स्थानमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन नगर्ने नगराउने बारेमा तीन बुँदे निर्देशन जारी गरेको छ ।

जिप्रका काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी खड्ग बहादुर श्रेष्ठले बुधबार जारी गरेको सूचनामा सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन )ऐन २०६८ को दफा ४ लाई उल्लेख गरिएको छ ।

त्यसमा भएका व्यवस्था विरुद्धका गतिविधि गरिए ऐनको दफा १७ मा भएको व्यवस्था अनुसार कारवाही हुने स्पष्ट पारिएको छ ।

सूचनामा के के छ ?
त्यसो त सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी ऐनको नियमन गर्ने अधिकारीको रुपमा हरेक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई निरीक्षक तोकेको छ ।

त्यसैले काठमाडौँका सहायक प्रजिअले यो सूचना जारी गरेका हुन् । उनले जारी गरेको सूचनामा ऐनको दफा ४ लाई उदृत गरिएको छ । सूचनाको पहिलो बुँदामा भनिएको छ, पार्क, सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक सवारीसाधन, विमानस्थल, सार्वजनिक शौचालय, चलचित्र घर, रंगशाला, धार्मिकस्थल, प्रतिक्षालय लगायतका सार्वजनिक स्थानमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन नगर्ने नगराउने ।

यस्तै दोस्रो बुँदामा स्वास्थ्य संस्था, बाल कल्याणगृह, शिशु स्याहार केन्द्र, बृद्धाश्रम, अनाथालय र नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटर भित्रको पसलबाट सूतीजन्य पदार्थको विक्री वितरण नगर्ने, नगराउने भन्ने छ ।

तेस्रो बुँदामा १८ वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ वितरण नगर्ने, नगराउने भनिएको छ । जिप्रकाले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गरी गराई यस सूचनाको पालना नगरेमा उक्त ऐनको दफा १७ बमोजिम कडा कारवाही गरिने उल्लेख छ । जिप्रकाले आफ्नो यो अभियानमा सुरक्षाकर्मी, सामुदायिक संस्था तथा आम नागरिकबाट सहयोगको अपेक्षा गरेको समेत जनाएको छ ।

नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट बार्षिक ३७ हजार बढीको ज्यान जाने गरेको तथ्यांक छ । यसको उपचारका लागि राज्य तथा व्यक्तिको अर्वौ रुपैयाँ खर्च हुने गरेको छ । सरकारले यसलाई नियन्त्रण गर्न यो ऐन ल्याएको हो । तर यसको कार्यान्वयन भने निकै फितलो रहँदै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *