पद वहाली पछि नव नियुक्त स्वास्थ्य मन्त्री बस्नेतको पहिलो सम्बोधन :

खरीद गरी प्रयोगमा नआएका उपकरण तथा स्वास्थ्य सामग्रीको विवरण उपलव्ध गराउन निर्देशन

'आफ्नो लागि एक घण्टा छुट्याउनुस्'
256
Shares

काठमाडौँ, २२ बैशाख । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले स्वास्थ्य मन्त्रालय तथा अस्पतालहरुले खरीद गरी सञ्चालनमा नल्याइएका मेडिकल उपकरणहरुको विवरण एक साता भित्र आफूलाई उपलव्ध गराउन निर्देशन दिएका छन् ।

बिहीबार पदभार गरे लगत्तै कर्मचारीहरुलाई दिएको निर्देशनमा आफूले धेरै उपकरणहरु प्रयोगमा नआइ थन्किरहेको भन्ने गुनासो आएको भन्दै ती उपकरणहरुको विवरण संकलन गर्न निर्देशन दिएका हुन् ।

‘स्वास्थ्यमा धेरै उपकरणहरु किनेर त्यसै प्रयोगमा नल्याइ राखिएको छ। अब ती उपकरणहरु कहाँ कहाँ छन् त्यो खोजी गर्दै प्रयोगमा ल्याउनुपर्छ,’ मन्त्री बस्नेतले भने, ‘एक साताभित्र ती सबैको विवरण ल्याउनुहोला। त्यसपछि आवश्यकताको पहिचान गरेर प्रयोगमा ल्याइने छ।’

स्वास्थ्य सामग्री धेरै खरिद भएको तर त्यो प्रयोगमा नआएकाले त्यसको हिसाब दुरुस्त राखी आवश्यक ठाउँमा पठाउनुपर्ने उनको भनाइ थियो। मन्त्री बस्नेतले सरकारले खरिद गरेको स्वास्थ्य सामग्री ठूलो भोल्यूममा भए पनि त्यसको सदूपयोग हुन नसकेको भन्दै आपत्ति जनाए।

‘आफ्नो लागि एक घण्टा छुट्याउनुस्’

यसैबीच मन्त्री बस्नेतले व्यक्तिको स्वास्थ्य ठूलो कुरा हो भन्दै त्यसका लागि शारीरिक व्यक्ति स्वयं सचेत बन्नु पर्ने बताएका छन् । उनले हरेक व्यक्तिलाई दिनमा एक घण्टा आफ्नो स्वास्थ्यका लागि छुट्याउन आग्रह गरेका छन् ।

‘योगा गरौँ, व्यायम गरौँ, शारीरिक क्रियाकलाप गरौँ । तर दिनमा एक घण्टा आफ्नो शरीरका लागि छुट्याऔँ । यसले निरोगी, फुर्तिलो त बनाउँछ नै । नसर्ने रोग लाग्ने सम्भावना पनि कम भएर जान्छ,’ मन्त्री बस्नेतले भने ।

उनले आफू पनि दैनिक एक घण्टा आफ्नो शरीरको लागि दिने गरेको सुनाउँदै सबैले दिनमा कम्तिमा एक घण्टा छुट्याउन प्रण गरौँ भन्ने प्रस्ताव राखेका थिए ।

स्वास्थ्यकै बजेट चाहि किन काट्ने ?
मन्त्री बस्नेतले आगामी आर्थिक बर्षको बजेटका लागि राष्ट्रिय योजना आयोगले पठाएको बजेट सिलिङमा झण्डै ४० प्रतिशतले कटौती गरिएको सुनेको भन्दै यसलाई सच्याउनु पर्ने बताए ।

‘मान्छेको स्वास्थ्य त सबैभन्दा ठूलो कुरा होला नि । आर्थिक संकट भए, विकास निर्माण तर्फका बजेट घटाऔँ । तर स्वास्थ्यलाई त किन घटाउने ? बढाउनु पर्ने ठाँउमा घटाउने ? यो मिलेन । त्यसैले बजेट सच्याउने काममा मैले नेतृत्व गर्छु त्यसका लागि आवश्यक डकुमेन्टेसन यहाँहरुले गर्नुहोला,’ मन्त्रालयका कर्मचारी नेतृत्वलाई निर्देशन दिदै मन्त्री बस्नेतले भने ।

बाह्रैमहिना कर्मचारीको सरुवा हुँदैन
मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयको एउटा रोग कर्मचारी सरुवा पनि हो भन्दै यसलाई पनि व्यवस्थित गर्ने बताए ।

‘यहाँ बाह्रै महिना सरुवा हुन्छ । कर्मचारीहरु सरुवा गर्न र सरुवा रोक्न भन्दै बाह्रै महिना मन्त्रालय र मन्त्रीका वरपर घुमिरहेका हुन्छन् । काम गर्दैनन् । यसलाई व्यवस्थित गर्न मैले २२ बर्ष अघि राज्यमन्त्री हुँदा बर्षको २ पटक मात्रै सरुवा गर्ने जो नियम बनाएको थिएँ । त्यसलाई लागू गर्छु ।अब सधैभरी सरुवा हुँदैन,’ उनले भने ।

विदेश भ्रमणलाई पनि व्यवस्थित गर्छु

मन्त्री बस्नेतले स्वास्थ्यमा पहुँच वाला कर्मचारी सधै विदेश भ्रमण गई रहने र पहुँच विहीन दुर्गमको कर्मचारीले कहिल्यै अवसर नपाउने भन्दै यसलाई पनि करेक्सन गर्न चाहेको बताए ।

‘पहिला राज्यमन्त्री हुँदा मैले यसलाई केही हदसम्म मिलाएको थिएँ । अब पनि मिलाउने कोशिश गर्छु । विदेश भ्रमण व्यवस्थित हुन्छ । अहिले जस्तो एउटै व्यक्तिलाई सधै अवसर भन्ने हुँदैनन्,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *