जिल्ला अस्पताल हुम्लामा औषधि अभाव

हुम्ला, १८ चैत । हुम्ला सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालमा औषधि अभाव भएको छ । यहाँ तीन महिनादेखि औषधि अभाव हुँदा जटिल रोगका बिरामीको उपचारमा समस्या भएको छ ।

अस्पतालमा ९८ प्रकारका औषधि हुनुपर्नेमा हाल २५ प्रकारका मात्र रहेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रेम सिंहले बताए । “जिल्ला अस्पतालको औषधि स्टोर कक्ष तीन महिनादेखि रित्तै छ । प्रदेश सरकारले खरिद प्रक्रियामा ढिलाइ गर्दा औषधि अभाव भएको हो”, उनले भने । प्रमुख सिंहका अनुसार उपचार गर्न आउने अधिकांश बिरामी औषधि नपाएर रित्तै फर्किने गरेका छन् । सिमकोट र नाम्खा गाउँपालिकास्थित स्वास्थ्य चौकीबाट सापटी मागेर बिरामीको उपचार गर्नु परेको उनको भनाइ छ ।

प्रदेश सरकारलाई औषधि अभावबारे पटक–पटक जानकारी गराएको भएपनि हालसम्म सुनुवाइन नभएको प्रमुख सिंहले बताए । दुई–तीन पटक मन्त्रालयमा गएर यसबारे जानकारी गराउँदा पनि सुनुवाइ नभएको उनको भनाइ छ । औषधि अभावका कारण पन्ध्र शय्याको जिल्ला अस्पतालमा बिरामी मारमा परेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *