सुर्तीजन्य पदार्थको लत हटाउन ‘निकोटिन रिप्लेसमेन्ट थेरापी’ सुरु गर्दै सरकार

डब्लुएचओद्धारा ४५ हजार निकोटिन गम ट्यावलेट हस्तान्तरण

काठमाडौँ, १५ चैत । सरकारले सुर्तीजन्य पदार्थका अम्मलीहरुलाई त्यसबाट छुटकारा दिनका लागि निकोटिन रिप्लेसमेन्ट थेरापी सुरु गर्ने भएको छ । विश्व स्वास्थ्य संगठनको सहयोगमा नेपालमा सरकारी तवरबाट पहिलो पटक यो खालको थेरापी सुरु गर्न लागेको हो ।

निकोटिन रिप्लेसमेन्ट थेरापीका लागि डब्लुएचओले गत सोमबार मात्रै स्वास्थ्य सेवा विभागलाई ४५ हजार निकोटिन गम ट्यावलेट हस्तान्तरण गरेको छ ।  डब्लुएचओ नेपालका प्रतिनिधिले  स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहलाई निकोटिन गम ट्यावलेट हस्तान्तरण गरेका हुन् ।

विभागले यो थेरापी पाइलटिङको रुपमा वीर अस्पताल र भक्तपुर क्यान्सर अस्पतालबाट सुरु गर्ने बताएको छ । त्यसका लागि कार्यविधि बनिरहेको र छिट्टै यसलाई कार्यान्वयनमा ल्याउने विभागका महानिर्देशक डा सिंहले जानकारी दिए ।

भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा विष्णुदत्त पौडेलले पहिलो पटक यो थेरापी अस्पतालमा आउने क्यान्सरका बिरामीहरु जो धूमपान तथा सुर्तीजन्य पदार्थको लतमा परेका छन् उनीहरुलाई यो थेरापीमा सहभागी गराउने योजना रहेको बताए । उनले धूमपान तथा सुर्तीजन्य पदार्थको लत हटाउन निकोटिन गम प्रभावकारी देखिएको भन्दै विश्व स्वास्थ्य संगठनले यस कार्यमा सहयोग गरेको जानकारी दिए ।

‘विश्वका धेरै मुलुकहरुमा यो थेरापी प्रचलित छ । नेपालमा सरकारी तवरबाट भने पहिलो पटक हुन लागेको हो,’ डा पौडेलले भने ।
विभागले पहिलो चरणमा दुई अस्पतालबाट यो कार्यक्रम सञ्चालन गर्ने र त्यसबाट आउने रिपोर्टको आधारमा थप विस्तार गर्ने योजनामा रहेको छ ।

‘धूमपान तथा सुर्तीजन्य पदार्थको लत छुटाउने विभिन्न उपायहरुमध्ये एउटा उपाय निकोटिन गम पनि हो । सुर्तीजन्य पदार्थमा हुने निकोटिनकै कारण खाने लत लाग्ने हो । सुरु सुरुमा काउन्सिलिङले पनि होला तर लामो समय देखि सेवन गरिरहेकाहरुलाई त्यसले मात्रै नहुँन सक्छ छोड्ने ईच्छालाई थप बलियो बनाउन मेडिकेसन सपोर्टको लागि यो थेरापी अघि आएको हो । यसले तल छाड्ने सम्भावना बढछ,’ डा पौडेलले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *