काठमाडौँ महानगर भित्रका विभिन्न अस्पतालमा ३३ जना विपन्न तथा बेबारिसे बिरामीको निशुल्क उपचार

काठमाडौँ, ७ बैशाख । काठमाडौँ महानगरपालिकाको सहजीकरणमा दुई जना वेवारिसे, ३१ जना विपन्न सहित कुल ३३ जना बिरामीले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका विभिन्न अस्पतालहरुबाट निःशुल्क उपचार सेवा लिएका छन् ।

महानगरपालिका स्वास्थ्य विभागका अनुसार उपचार सेवा लिएका ३१ मध्ये १२ जना डिस्चार्ज भएका छन्, १५ जनाको डायलासिस भइरहको छ । १ जनालाई अर्को अस्पताल रिफर गरिएको छ । ३ जनाको उपचार जारी छ भने दुई जना उपचारका क्रममा मृत्यु भएको छ ।

महानगरपालिकाले ३३ मध्ये ८ जनालाई फेमिली मेडिसिन सेवा दिइएको जनाएको छ । ३ जनाले दम, क्षयरोग जस्ता छाती सम्बन्धी (पल्मोलोजी) २ जनाले सर्जरी (शल्यक्रिया), २ जनाले आकस्मिक सेवा, १ जनाले स्त्री तथा प्रसुति रोग सेवा, १ जनाले पेट सम्बन्धी र १ जनाले आँखाको उपचार सेवा लिएको जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठले जानकारी दिए ।

सर्जरी गर्ने विरामीमध्ये एकजनाको पित्तथैलीमा स्टोन भएको अपरेसन र १ जनाको हर्नियाको अपरेसन भएको हो ।

उपचारका लागि लागेको प्रतिव्यक्ति खर्च सबैभन्दा कम आँखाको उपचारका लागि २ हजार ५ सय रुपैयाँ र सबैभन्दा बढी २ लाख ७४ हजार रुपैयाँ खर्च भएको छ । सो खर्च अस्पतालहरुले व्यहोरेका छन् ।

कहाँ कहाँ भयो उपचार ?

३३ बिरामीमध्ये ६ जनाले पिपल्स डेन्टल कलेज एण्ड जनरल अस्पतालबाट, ३ जनाले काठमाडौँ मोडेल अस्पतालबाट, २ जनाले काठमाडौँ मेडिकल कलेजबाट उपचार लिएका छन् । यस्तै ब्लु क्रस अस्पताल, मेट्रो अस्पताल, कालीमाटी चेस्ट अस्पताल, मनमोहन टिचिङ् अस्पताल, नेपाल आँखा अस्पताल, स्तूपा सामुदायिक अस्पताल र छत्रपाटी सामुदायिक अस्पतालबाट एक एक जना बिरामीले सेवा लिएका छन् । मिर्गौला डाइलासिस गर्ने विरामीहरुले नेशनल मिर्गौला केन्द्रमा उपचार गराइरहेका छन् ।

सेवा लिने बिरामीहरुमध्ये ५ जना काठमाडौँ महानगरपालिकाका छन् । घोराही उपमहानगरपालिका, दाङ्, रासकोट गाउँपालिकाका, कालीकोट, टोखा नगरपालिका, काठमाडौँ, ज्वालामुखी गाउँपालिका, धादिङ्, मन्थली नगरपालिका, रामेछाप, शैलुङ्ग गाउँपालिका, दोलखा, खजुरा गाउँपालिका, बाँके, पत्थरी शनिश्चरे गाउँपालिका, मोराङ्, सीतासाक्सी गाउँपालिका, झापा, भीमसेन गाउँपालिका, गोरखा, नरहरिनाथ गाउँपालिका, कालीकोट, आमचोक गाउँपालिका, भोजपुर, बाट एक एक जना रहेको महानगरपालिकाले जनाएको छ ।

कसरी सम्भव भयो यस्तो उपचार ?

लक्षित वर्ग निःशुल्क उपचार गराउनु पर्ने कानुनी व्यवस्था भए पनि कार्यान्वयनमा थिएन । यसलाई कार्यान्वयन गराउन काठमाडौँ महानगरपालिकाले लक्षित वर्गको उपचार गराउने सम्बन्धी कार्यविधि, २०८० जारी गर्‍यो ।

यसका आधारमा http://freehealth.kathmandu.gov.np/ अनलाइन प्रणाली विकास गर्‍यो ।

अहिले यो प्रणाली कार्यान्वयनमा छ । प्रणालीबाट उपचार दिने र पाउने तथा कुन ठाउँमा कसको कसरी उपचार भएको छ, कुन अस्पतालमा कति शय्या छ, हेर्न सकिन्छ । यसलाई महानगरपालिकाको स्वास्थ्य विभागले सहजीकरण गरिरहेको छ ।

निःशुृल्क उपचारका लागि प्रणालीमा विरामीको नाम दर्ता गराउने पहिलो अस्पताल काठमाडौँ मोडेल अस्पताल हो । अस्पतालले फागुन ९ गते टोखाबाट आएकी एक विरामीको पित्त थैलीको अपरेसन गरेको थियो ।

निःशुल्क उपचार गराउने प्रणालीमा महानगरपालिकाभित्र ५२ वटा अस्पताल आवद्ध भएका छन् । यसमा ३७४ शय्या निःशुल्क उपचारका लागि उपलब्ध छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *