तिलोत्तमा नगरभित्र गुट्खा प्रकृतिका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा प्रतिवन्ध

बुटवल, १ चैत । तिलोत्तमा नगरपालिकाले आज देखि आफ्नो नगरभित्र गुट्खा प्रकृतिका सुर्तीजन्य पदार्थको विक्री वितरणमा प्रतिवन्ध लगाएको छ । नगर क्षेत्रलाई स्वस्थ र सरसफाइ राख्न यस्तो निर्णय गरेको हो ।

नगरपालिकाद्धारा सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित सरसफाइ अभियानको १०० औँ श्रृंखला पुगेको अवसरमा अवसरमा आज आयोजित विशेष कार्यक्रममा नगरप्रमुख रामकृष्ण खाणले सो घोषणा गरेका हुन् ।

उनले यसबाहेक बातावरण तथा सरसफाईसंग जोडिएका अरु चार वटा घोषणा पनि गरेका छन् ।

‘गुट्खा प्रकृतिका सुर्तीजन्य पदार्थको सेवनले जनस्वास्थ्यमा असर गर्नुका साथै सो बाट निस्कने फोहरले नगरको सौन्दर्यतामा समेत असर पारेकोले नगरबासीको स्वास्थ्य, शरही सौन्दर्य र बातावरणलाई ध्यानमा राखेर बुधबारबाट सबै प्रकारका गुट्खाजन्य पदार्थको बिक्री वितरणमा प्रतिवन्ध लगाइएको छ,’ समारोहमा नगर प्रमुख पाण्डेले घोषणा गरे ।

उनले अव उप्रान्त नगरमा गुट्खाजन्य पदार्थको उत्पादन बिक्री बितरण र ओसार पसार गरेको पाइएमा स्थानीय कानून अनुसार दण्ड जरिवाना हुने भन्दै नगरबासीलाई जानकारी समेत दिए ।

नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट बार्षिक २७ हजार बढी नागरिकले ज्यान गुमाउने गरेका छन् । सरकारले यसको नियन्त्रणका लागि ऐन तथा कानूनको व्यवस्था गरेको छ । तर त्यसको कार्यान्व्यन पक्ष भने फितलो देखिदै आएको छ ।

केही स्थानीय तहले भने तिलोत्तमाले जस्तै सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि निश्चित क्षेत्रलाई निषेधित क्षेत्र गर्दै प्रयोगमा प्रतिवन्ध लगाउने निर्णय गरेका छन् ।

बुधबारको कार्यक्रममा तिलोत्तमा नगरपालिकाले गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा प्रतिवन्ध बाहेक अरु पशु दर्ता प्रणालीको शुभारम्भ, हर्न निषेधित नगरपालिका घोषणा, बातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माणको अभियान, फोहरमैलाको बर्गीकरण गर्ने कार्य प्रारम्भ भएको समेत जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *