चिकित्सकको विवरण अपडेट गर्दै मेडिकल काउन्सिल, १४३ जनाको नाम दर्ता सूचीबाट हटाइयो

कारवाहीमा कति प्रगति ?

काठमाडौँ, १२ फागुन । नेपाल मेडिकल काउन्सिलले १४३ जना चिकित्सकको नाम आफ्नो दर्ता सूचीबाट हटाएको छ । दिवंगत भएका र जाली प्रमाणपत्र प्रमाणित भएकाहरुको नाम दर्ता सूचीबाट हटाएको हो ।

काउन्सिल रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीका अनुसार दर्ता सूचीबाट हटाइएका १४३ मध्ये एक जनाको नक्कली प्रमाणपत्र प्रमाणित भएको हो । बाँकी १४२ जनाको भने मृत्यु भएको हो ।

‘खासमा एकिन तथ्यांक भएन, मृत्यु भएका र कारवाहीमा परेकाहरु समेत काउन्सिलको विवरणमा रहँदा त्यसले गलत तथ्य हुने भयो । त्यसैले हामीले एकीन विवरण होस भनेर नाम अपडेट गरेका हौँ,’ डा अधिकारीले भने, ‘अब हामीसंग भएको विवरण एकीन छ ।’

अपडेट विवरण अनुसार अहिले काउन्सिलमा स्नातक तह (एमबीबीएस र बीडीएस)का चिकित्सकहरुको संख्या ३२ हजार २१८ पुगेको छ । स्नातकोत्तर तह पुरा गरेका (विशेषज्ञ चिकित्सक)हरुको संख्या १० हजार ८० रहेको छ ।

काउन्सिलले दर्ता खारेजीमा परेका १४३ जना चिकित्सकको विवरण आफ्नो वेवसाइटमा नै राखि दिएको छ ।

नेपालमा दर्ता भएर काम गरिरहेका विदेशी चिकित्सक ३१८ जना

यस्तै काउन्सिलले नेपालका मेडिकल कलेज, चिकित्सा विज्ञान प्रतिष्ठान र निजी अस्पतालमा काम गर्ने विदेशी नागरिकता भएका चिकित्सकहरु ३१८ जनाको दर्ता कायम भएको जनाएको छ ।

काउन्सिलले विदेशी चिकित्सकहरुले नवीकरणको म्याद सकिएको ३५ दिन भित्र नियमित नवीकरण शुल्क तिरेर आवेदन गर्नुपर्ने निर्देशन समेत दिएको छ । दर्ता वा नवीरकण नभई काम गरेको पाइए कडा कारवाही गर्ने समेत जनाएको छ । काउन्सिलले दर्ता भएर काम गरेका चिकित्सकहरुको विवरण पनि आफ्नो वेवसाइटमा राखेको छ ।

कारवाहीमा कति प्रगति ?
काउन्सिल रजिष्ट्रार डा अधिकारीका अनुसार सन् २०२२ मा व्यवसायिक आचारसंहिता सम्वन्धी ६६ वटा उजुरी परेकोमा २० वटाको निर्णय भएको छ । बाँकी ४६ वटा प्रक्रियामा रहेको छ ।

निर्णय भएका २० वटा उजुरीमध्ये ५ वटामा कारवाही गरिरहनु नपर्ने देखिएको छ । यस्तै ३ वटामा चिकित्सकलाई सचेत गराइएको छ । ४ वटामा अस्पताललार्य निर्देशन दिइएको छ । ६ वटा केशमा थप कारवाही गर्नुपर्ने देखिएको छ ।

यस्तै २ वटा उजुरीमा केन्द्रीय अनुसन्धान व्यूरो (सीआईवी) मार्फत कारवाही अगाडी बढाउनु पर्ने देखिएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *