ग्याँस सिलिन्डर बिस्फोट हुँदा सांसद चन्द्र भण्डारी र उनकी आमा गम्भीर घाइते, कीर्तिपुर अस्पतालमा उपचार हुँदै

 

काठमाडौँ, ४ फागुन । नेपाली कांग्रेसका नेता एवं गुल्मी क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद चन्द्र भण्डारी ग्याँस सिलिन्डर बिस्फोटमा परी गम्भीर घाइते भएका छन् । गएराती साढे ९ बजे तिर उनको निवास बुद्धनगरमा ग्याँस सिलिन्डर विस्फोट हुँदा सांसद भण्डारी र उनी ८६ वर्षकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका हुन् ।

उनको अहिले कीर्तिपुर अस्पतालको बर्न वार्डमा उपचार भइरहेको छ ।

अस्पतालका बर्न्स, प्लाष्टिक तथा रिकन्स्ट्रक्टिभ विभागका चिकित्सक डा किरण नकर्मीले सांसद भण्डारी र उनकी आमाको उपचार भइरहेको बताए । उनले दुबै जनाको अवस्था गम्भीर रहेको जानकारी दिए ।

‘हामीले २० प्रतिशत देखि माथि जलन भएकाहरुलाई गम्भीर मान्दछौँ । सांसद भण्डारीको २५ देखि ३० प्रतिशत जलन भएको अवस्था छ । उहाँको आमाको अझ बढी अर्थात ७० प्रतिशत बढी जलन भएको अवस्था छ । हामीले थप इभ्यालुसन पनि गर्दैछौँ,’ डा नकर्मीले भने ।

उनले सांसद भण्डारीको अनुहार हात र खुट्टामा बढी जलन भएको बताए ।

गम्भीर घाइते आमा छोरालाई हिजो राती करीव १० बजे कीर्तिपुर अस्पताल पुर्‍याइएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *