कर्णालीमा मिर्गौला प्रत्यारोपण भएका पहिलो बिरामी डिस्चार्ज
सुर्खेत, २७ माघ । कर्णालीमा मिर्गौला प्रत्यारोपण गरिएका पहिलो बिरामी डिस्चार्ज भएका छन् । बिहीबार प्रदेश अस्पताल सुर्खेतले मिर्गौला प्रत्यारोपण गरिएका २२ वर्षका छोरा र उनलाई मिर्गौला दान दिएकी ४३ वर्षकी आमाको स्वास्थ्य अवस्थामा सुधार भएको भन्दै डिस्चार्ज गरिदिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सातै प्रदेशमा प्रत्यारोपण सेवालाई विस्तार गर्ने नीति अनुरुप गत २१ माघमा कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपणका लागि नवलपरासी बर्दघाटबाट मिर्गौला बिरामी सुर्खेत पुगेका थिए भने शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट चिकित्सकको टोली समेत सुर्खेत पुगेको थियो । त्यसको नेतृत्व डा पुकारचन्द्र श्रेष्ठले गरेका थिए ।
डा श्रेष्ठले प्रत्यारोपणलाई सफल बनाउन आफ्नो टोलीसहित सुर्खेत अस्पतालको टोलीको ठूलो हात रहेको बताए । उनले प्रादेशिक तहमा प्रत्यारोपण सम्भव बनाउन मन्त्रालयको ठूलो हात रहेको भन्दै सचिवद्धय देवकुमारी गुरागाँई र डा रोशन पोखरेलको खुलेर प्रशंशा गरे । पहिलो प्रत्यारोपण हुँदा सचिव गुरागाईँ समेत सुर्खेत पुगेकी थिईन् ।
‘हामीले हाम्रो काममा भरपर्दो गार्जेन पाएका छौँ । जसले हामीले सुर्खेत सम्मै पुगेर साथ र हौसला दिनुभयो । त्यसैले सचिवद्धयलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ । प्रदेश तहमा प्रत्यारोपण कार्यक्रम विस्तार गर्न उहाँहरुको भूमिका निकै नै सहयोगी र सकारात्मक छ,’ डा श्रेष्ठले भने ।
प्रत्यारोपणकमा सुर्खेत अस्पतालबाट निर्देशक डा डम्बर खड्का तथा शल्यक्रियाको नेतृत्व डा गणेश थापाले गरेका थिए । पहिलो प्रत्यारोपण भएकाले केन्द्र र प्रदेशका टोलीले संयुक्त रुपमा काम गरेका थिए ।
सम्पर्क इमेल : [email protected]