शहीद गंगालालमा शल्यक्रिया विना नै चार जनामा मुटुको भल्व प्रत्यारोपण

टीएभीआई विधि सुरुवात गर्ने डा चन्द्रमणिसहितको टोली

काठमाडौँ, १४ असोज । बाँसबारीस्थित शहीद गंगालाल हृदय केन्द्रमा शल्यक्रिया नगरीकन ‘ट्रान्सक्याथेटर इरोटिक भल्भ इम्प्लान्टेशन (टीएभीआई) विधिबाट चार जनामा मुटुको भल्भ प्रत्यारोपण गरिएको छ। गत १६ फागुनमा पहिलो पटक एक जना ८० वर्षीया महिलामा टीएभीआईबाट भल्भ प्रत्यारोपण गरिएको थियो ।

त्यसयता बाँकी तीन जनामा पनि सोही पद्धतीबाट भल्भ प्रत्यारोपण गरिएको केन्द्रका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले बताए । नेपालमा अहिलेसम्म कुल पाँच जना व्यक्तिमा टीएभीआई विधिबाट भल्भ प्रत्यारोपण भएको छ । चार जनाको गंगालालमा हुँदा एक जनाको ह्याम्स अस्पताल धुम्बाराहीमा भएको हो ।

विश्व मुटु दिवसको अवसरमा बिहीबार अस्पतालमा आयोजित कार्यक्रममा डा अधिकारीले टीएभीआई विधिबाट भल्भ प्रत्यारोपण गरिएका व्यक्तिहरुलाई समेत प्रस्तुत गरे । ‘नेपालको महिला राष्ट्रिय फुटवल टोलीका सदस्य पुनम जर्घा मगर जो छ महिना अघि यहि विधिबाट भल्भ प्रत्यारोपण गरिएको थियो, उनी अहिले नियमित रुपमा खेल जीवनलाई अघि बढाइरहेकी छन्,’डा अधिकारीले भने ।

प्रिभेन्सन तथा रिह्याविलिटेसन विभागकी नर्स सुनिता खड्काले विभिन्न प्रकारका मुटुरोग र ती समस्याबाट बच्न आवश्यक जीवनशैली तथा रोगका कारण तथा बच्ने उपायबारे जानकारी दिएकी थिइन्। उनले उच्च रक्तचाप भएको बारे धेरैलाई थाहा नै छैन भन्दै कतिपयले थाहा भएर पनि उपचारमा नजाने बताईन् । उनले थाहा भएर उपचारमा जानेमध्ये सबैले सहि उपचार पाउनेको संख्या पनि कम रहेको बताईन् ।

उक्त कार्यक्रममा बोल्दै बूढानीलकण्ठ नगरपालिकाका उपमेयर अनिता लामाले गंगालालसंगको सहकार्यमा नगरपालिका भित्रका सरकारी र निजी विद्यालयका बालबालिकाहरुको निशुल्क बाल मुटुरोगको परीक्षण गरिरहेको बताइन्।

नेपालको प्रमुख मुटु उपचार केन्द्रको रुपमा स्थापित गंगालालले एक वर्षमा १ हजार ३ सय ७७ मुटुका शल्यक्रिया गरेको छ। अस्पतालले कोरनरी एन्जियोग्राम (सिएजी) ४ हजार ६०७, कोरनरी एन्जीओप्लाष्टी (पिटिसीए) २ हजार ३३, आईभीयुएस २३, पिटीएमसी २ सय ४२, इपिएसरआरएफए २६५, एएसडी डिभाइस क्लोजर २५१, पिडिए डिभाइस क्लोजर १०२, भिएसडी डिभाइस क्लोजर २३ र पेशमेकर ५२५ प्रत्यारोपण गरेको छ।

यसैगरी अस्पतालमा इलेक्ट्रोकार्डियोग्राम ८७ हजार ६ सय ४७, इकोकार्डियोग्राम ५१ हजार ८ सय ३६, टिएमटी ६ हजार ९ सय ४३, फेटल इको १ हजार ५ सय १४, कारोटिड डोप्पलर ७१० र सिटी स्क्यान ४ हजार ८५ जनाको गरेको छ। अस्पतालमा बहिरंग सेवा १ लाख ३६ हजार ७ सय १३ जनाले लिएका छन् भने अन्तरंग सेवा ११ हजार ३ सय ४२ जनाले लिएका छन्।

अस्पतालले गत वर्षदेखि गरीब तथा विपन्न वर्गका लागि नेपाल सरकारको सहयोगमा प्राइमरी एन्जीओप्लाष्टी सेवा न्यून शुल्कमा उपलब्ध गराउँदैं आएको छ भने अस्पतालमा २४ घण्टा नै यो सेवा उपलब्ध छ। अस्पतालले गत वर्षदेखि कार्डियाक एमआरआई मेसिन सञ्चालनमा ल्याएर १ सय बढीलाई सेवा दिइसकेको छ। वि।सं। २०५२ सालमा ९ शैय्याबाट सुरु भएको यो मुटु अस्पतालमा अहिले ३ सय ३९ शैय्या सञ्चालनमा छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *