‘अप्रेशन गर्दा शरीर भित्र सामान छोडिने केशमा पहिलो दोष नर्सको हुन्छ’

चिकित्सकीय अभ्यास तथा उपचारमा जो जो सम्लग्न छन् उनीहरुको अनुगमन गर्न हामीसंग पाँचवटा काउन्सिल छ । नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, आयुर्वेद काउन्सिल, फार्मेसी काउन्सिल, हेल्थ प्रोफेसनल काउन्सिल ।

यी सबै काउन्सिलहरुको आचार संहिता छ । सबैले आफ्ना आचार संहिता विपरित काम गरेको पाइएमा निजलाई हटाउन सकिने छ भनेर लेखिएको छ । त्यहाँ चेतावनीको कुरा छैन्, निलम्बन छैन् । केही समय अघि नर्सिङ काउन्सिलले एक जना नर्स जीता बरालको लाइसेन्स खारेज गरेको सूचना प्रकाशित गरेको थियो । कानूनमा भएको व्यवस्थाका कारण त्यसो भएको हो । किनभने नर्सिङ काउन्सिलले कानूनमा आचार संहिता विपरित काम गरेमा हटाउन सकिने छ भन्ने थियो । त्यसैले हटाइयो जस्तो लाग्छ ।

हाम्रो मेडिकल काउन्सिलमा पनि त्यहि हो । तर अहिले हामीले यसको संसोधन हालेका छौँ । मेडिकल काउन्सिलले अब चिकित्सकले गरेको उपचार क्रममा आउने समस्याहरु केलाई त्रुटि भन्ने ? केलाई लापरवाही भन्ने ? कसलाई सचेत गराउने ? कसलाई निलम्बन गर्ने ? कसलाई एक महिना कसलाई तीन महिना निलम्बन गर्ने भनेर ऐनको लागि संसोधन प्रस्ताव हालेको छ ।

दोस्रो कुरा चिकित्सकीय विषय उठदा खेरी त्यसको नेतृत्व चिकित्सक नै हुने हुनाले उसकै कमीकमजोरी रहयो भन्ने धेरैको बुझाई छ । र उजुरीहरु पनि त्यसै गरी आउने गरेको छ । पाँचवटा काउन्सिलमा हामीकहाँ जति धेरै उजुरी अन्यमा परेको छैन् ।

अस्पतालमा अप्रेसन थिएटर भित्र नर्सले काम गरिरहेको छ, वार्डमा नर्सले काम गरिरहेको छ तिनका विरुद्ध सामान्य त उजुरी नै आउँदैनन् । किन आउँदैनन् भने बिरामीले नर्सले होईन उपचार चिकित्सकले गरेको हो भन्ने ठान्छ । चिकित्सकलाई हेरेर उपचार गराएको हुन्छ गडवड भयो भने चिकित्सकले नै हो भन्ने ठान्छ र उजुरी पनि मेडिकल काउन्सिलमा दिन्छ । तर त्यहाँ नर्सहरुको पनि गल्ती देखिन्छ । त्यस्तो बेलामा हामीले नर्सिङ काउन्सिललाई कारवाहीका लागि अनुरोध गर्दछौँ । अथवा फार्मासिस्टले गल्ती गरेको पाइएमा फार्मेसी काउन्सिललाई चिठी लेख्छौँ ।

एउटा उदाहरणका भन्न चाहन्छु, एउटा अप्रेसन भइरहेको छ त्यहाँ प्रयोग हुने सामान चिकित्सकलाई उपलव्ध गराउने काम ओटी नर्सले गर्नु पर्छ । त्यो नर्सले गनेर ल्याउने र गनेर फिर्ता लिनु पर्छ । किनभने ठूलो शल्यक्रियाहरुमा अर्थात भुडी खोल्नु परेमा यति ठूलो स्टक्टचर हुन्छ कि त्यहाँ एक दुईवटा कैची,एक दुईवटा फोर्सेट, एक दुईवटा टेट्रा छोडिदा पनि केही थाहा नहुनसक्छ । खोज्न सकिदैन । सबैमा होइन केही केशमा । पेटको अलि ठूलो अप्रेसन गरियो भने त्यहाँ रगत रोक्न हालेका कपडाका टुक्रा, सियो धागो छुटन सक्छ । त्यसैले ओटी नर्सले त्यो गनेर दिनुपर्छ । शल्यक्रिया सकिएपछि उसले त्यहाँ प्रयोग भएका सबै सामानहरु गनेर नै फिर्ता लिनु पर्छ । यो उसको मुख्य डिउटी हो ।
शल्यक्रिया सकिदा चिकित्सकले नर्सलाई सबै ठिक छ बन्द गरौँ भनेर सोध्ने चलन छ । नर्सले ठिक छ हुन्छ भने पछि मात्रै बन्द गर्ने हो ।

अब यहाँ निर के आयो भने यदि कुनै सामान पेट भित्र छुटेको रहेछ भने त्यहाँ सिधा डाक्टरको दोष हो भनिन्छ । एक किसिमले डाक्टर पनि चनाखो हुनुपर्छ । विशेष ध्यान दिनुपर्छ भन्ने हिसावले त्यो ठिकै पनि हो तर अप्रेसन थिएटरमा काम गर्ने नर्स पनि पेशागत दायित्व हुन्छ । डिउटी नै के के सामान प्रयोग भयो र के के झिक्नु पर्ने हो भन्ने जानकारी डाक्टरले भुलेमा पनि नर्सले सम्झाउनु पर्ने भएकोले मुख्य दोष उनको हो ।

यस्तै केश केही समय अघि हामीकहाँ परेको थियो । सोलुको एक अस्पतालमा शल्यक्रिया गर्दा पेट भित्रै छुटेको टेट्रा दुईवर्ष पछि मात्रै थाहा भयो । त्यसमा हामीले मुख्य दोष नर्सको भएको पायौँ । नर्सलाई के कारवाही हुन्छ भनेर नर्सिङ काउन्सिललाई लेखेका पनि छौँ । काउन्सिलले छलफल गर्दै होला ।

अर्को उदाहरण पनि दिन्छु, यो कार्यालयमा म कार्यकारी प्रमुख हुँ । तर मेरो कोही स्टाफले बदमासी गरेमा त्यसको दोष कार्यालय प्रमुखको नाताले मैले पनि लिनुपर्ने भयो तर पहिलो दोशी त त्यो गल्ती गर्ने व्यक्ति हुने भयो नि । अप्रेशनमा सामान छोडिने केशमा पनि पहिलो दोष नर्सको नै हुन्छ । डाक्टरले एउटा औषधि लेखिदियो तर फार्मासिस्टले अर्कै औषधि उपलव्ध गरायो र त्यसले हानी पुग्यो भने त्यसको दोष फार्मासिस्टलाई हुन्छ । हामीले कारवाहीका लागि फार्मेसी काउन्सिललाई लेखि पठाउछौँ ।

#डा. अधिकारी नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *