डेंगु भाइरस के हो ? यसबाट कसरी जोगिने ?

दुई बर्ष भन्दा अघि देखि विश्वभर कोभिड – १९ ले महामारीको रुपमा हाहाकार मच्चाउदै आएको छ । पछिल्लो समयको कुरा गर्ने हो भने नेपालमा कोभिड – १९ को खोप अधिकांश जनताको पहुँचमा पुगिसकेको र बढदो जागरुकताका कारण अहिले यसको संक्रमण तथा प्रभाव हट्दै गएको देखिन्छ ।

तर, कोभिड – १९ घटेर जनजिवन सामान्य हुन नपाउदै देशका अधिकांश जिल्लामा डेंगु रोगले उग्ररुप लिदै गइरहेको छ ।

अघिल्ला बर्षहरुको तुलनामा यो बर्ष डेंगुको संक्रमण धेरै गुणा बढेको पाइएको छ ।

कोभिड – १९ को जस्तै लक्षण लिएर अघिल्लो केहि सातादेखि शुक्रराज ट्रपिकल अस्पतालमा आएका बिरामीमा डेंगु भएको पाइएको थियो ।

पछिल्लो साता मात्रै २९५ जना डेंगु संक्रमित बिरामी टेकु अस्पतालमा अएको पाइएको छ । तथ्यांक अनुसार जनवरी देखि यता २८२७ जनामा डेंगु भाइरस देखिएको छ भने उक्त रोग हाल सम्म नेपालका ७२ जिल्लामा फैलिएको पाइएको छ ।

ललितपुरमा अत्याधिक मात्रामा संक्रमितहरु देखिएको छ भने काठमाडौ, धादिङ, रुपन्देहीमा पनि संक्रमण बढ्दो छ । यसै रोगका कारण कैलालीमा एक जना महिलाको ज्यान समेत गएको छ । सतर्कता नअपनाएमा डेंगुले भयानक रुप लिइ धेरैको ज्यान जान सक्ने विशेषज्ञहरुको भनाइ रहेको छ ।

के हो डेंगु ?
डेंगु (Dengue) लामखुट्टेको एक प्रजातीको टोकाइबाट सर्ने भाइरल रोग हो । एडिस (Aedes) नामक लामखुट्टेका प्रजातीहरु बढ्दै गएको पाइएको छ र मानिसहरुको आवत जावत तथा देश भित्रिने क्रम बढ्नु पनि डेंगुको संक्रमण बढ्ने कारण बन्ने गरेको छ ।

एडिस लामखुट्टेको माध्यमबाट सर्ने डेंगु भाइरसको नेपालमा चार प्रजाति छन्, जसमध्ये डेंगु भाइरस –१ (DENV-1) को संक्रमण अधिकांश रहेको छ ।

उत्पति

स्तनधारी जीव हुँदै मानिसमा सरेको अनुमान गरिएको डेंगुको उत्पति झण्डै ५०० देखि १००० बर्ष पहिले भएको अनुमान गरिएको छ ।

नेपालमा पहिलोपटक २००४ मा देखिएको यो रोग त्यसपश्चात विभिन्न उष्ण प्रदेशीय तथा उप–उष्णप्रदेशीय भागहरुमा तीब्रगतिमा फैलिएको छ । उष्ण प्रदेशहरुमा फैलिनुमा महत्वपूर्ण भुमिका खेल्ने तत्वहरुमा भारि वर्षा, तापक्रम, वायुको आद्रता, सहरीकरण तथा भेक्टरको रोकथाममा असमर्थ हुनु मुख्य छन् ।

पहलो पटक २००६ मा नेपालमा संक्रमण फैलिएको पाइएको थियो जसमा मनसुन पश्चातको समयमा तराइका विभिन्न भागमा गरि ३२ वटा संक्रमण भेटिएको थियो, जसमा चारवटै प्रजातीका भाइरस भेटियो ।

पछिल्लो ५ बर्ष यता संक्रमण संख्यामा उल्लेख्य वृद्धि आएको पाइएको छ र झापा, चितवन, रपन्देही महोत्तरी, कास्की, सुनसरी लगायत जिल्लामा बढ्दो संक्रमण रहेको पाइएको छ ।

सन् २०१९ मा अहिलेसम्मकै बढि १४६६२ संक्रमण देखियो जसअन्तर्गत ७७ मध्ये ६८ जिल्लामा संक्रमित भेटियो । विश्वमा यो रोगका कारण हुने मृत्युदर सरदर वार्षिक १ प्रतिशत भन्दा कम नै रहेको छ र सन् २०१९ मा नेपालमा यो रोगका कारण ६ जनाले ज्याज गुमाएका थिए ।

काठमाडौ उपत्यका डेंगु भेक्टरका लागि अनुकुल नरहेको भएतापनि वढ्दो सहरीकरण, फोहोरको असुरक्षित व्यवस्थापन र जनसंख्याको तीब्र बृद्धिका कारण राजधानीमा पनि १५८३ संक्रमित भेटिएको थियो ।

अहिले सन् २०२२ को जुलाई देखि अगष्टसम्म मात्र १४०० भन्दा बढी संक्रमण पाइएको छ जुन अघिल्लो बर्षको सोही अवधिमा भन्दा कैयौं गुणा बढी हो । त्यस्तै यो बर्ष पनि अधिकांश संक्रमित काठमाडौ उपत्यकामा नै रहेको पाइएकोछ ।

समयमा नै सचेत भई यसलाई नियन्त्रण लिन सकिएन भने कुनैपनि समय यसले महामारीको रुप धारण नगर्ला भन्न सकिन्न । बिशेषत यो गर्मी संगै बर्षाको समय भएकोले यसको जोखिम थप बढी हुने हुँदा यसतर्फ अझै बढि सावधानी अपनाउनु जरुरी हुन्छ ।

कसरी सर्छ ?
एडिस एजिप्टि नामको लामखुट्टेको पोथी  प्रजाति डेंगुका प्रमुख भेक्टर हुन् । दिनमा मान्छेको रगत चुसेर बाँच्ने यो प्रजाति मानिसको शरीरको प्राकृतिक गन्धबाट आकर्षित भई धेरैमा रोग सार्ने क्षमता राख्दछन् ।

भेक्टरले टोकेपछि भाइरसलाई मानिसको रगतमा जम्मा गर्छ र मानिसको सरीरमा फैलिन्छ । रगत खाइसकेपछि यसले ताजा पानी जम्मा गरेको भाँडाकुँडा खोजेर अण्डा पार्ने गर्छ ।

एउटा पानिको स्रोतमा १०० देखि २०० सम्म अण्डा पार्न सक्छ भने एकपटकमा कैयौं स्रोतमा अँडा जम्मा गर्छ । यसका अँडा नीर्जलीकरण प्रतिरोधात्मक भएकाले यस भेक्टरको जनसंख्या तीब्र गतिमा बढिरहेको छ ।

संक्रमित व्यक्तिको रगत चुस्दा भाइरस नबोकेको लामखुट्टेमा भाइरस पसि संक्रमण प्रकृया बढाउन सक्छ । एकपटक संक्रमण भएपछि मानिसमा त्यस प्रजातिको भाइरसबाट जीवनभरलाई इम्युनिटि (Immunity) मिल्छ । तसर्थ ४ प्रजातिका भाइरसले एक व्यक्तिमा ४ पटक संक्रमण गर्न सक्छन् ।

लक्षण के के हुन ?
डेंगु लागेको २–७ दिनमा यस रोगका लक्षणहरु देखिन थाल्छन् । जसमा उच्च ज्वरो (१०४ डिग्रि फ्यारेनहाइट) प्रमुख लक्षण हो । साथसाथै अन्य लक्षणहरुमा टाउको दुख्ने, मांसपेसि दुख्ने, आँखाको पछिल्लो भाग दुख्ने, वाकवाक लाग्ने, वान्ता आउने, ग्रन्थी सुन्निने आदी हुन्छन् ।

विश्व स्वास्थ्य संगठनले डेंगुलाई डेंगु र जटिल डेंगुमा विभाजन गरेको छ ।

सामान्य लक्षण तथा स्वयं सिमित भएर जाने रोगलाई डेंगु भनेको छ र चेतावनीमुलक लक्षण देखिनेलाई जटिल डेंगु भनेको छ ।

संक्रमणको ३–७ दिनपछिको समयमा ज्वरो कम हुदै गएर चेतावनीमुलक लक्षण देखिन सक्छ । जुन कतिपय घातक हुन सक्छ ।

यी लक्षणहरुमा धेरै पेट दुख्ने, वान्ता भइरहने, गिंजाबाट रगत बग्ने, पेट तथा छातीमा पानी जम्ने, छटपटि हुने आदी पर्दछन् ।

डेंगुका कारण आउन सक्ने सम्भावित जटिलतामा डेंगु हेमोरेजिक फिभर, डेंगु सक सिन्ड्रम आदी पर्छन् ।

यी अवस्थामा रगतबाट प्लाज्मा (Plasma) खेर जाने, सजिलै रगत बग्ने, निलडाम बस्ने, तथा रगत बाक्लो भइ विभिन्न अंगमा रगत पुग्न नपाएर अंगहरु खराब हुँदै जाने गर्दछ ।

यी जटिल संकेत देखिने अवधिलाई क्रिटिकल फेज (Critical Phase) भनिन्छ, यस्तो अवधि २४–४८ घण्टा सम्म हुन सक्छ । यो अवधिमा सरीरमा पानी धेरै जमेमा घातक स्वास प्रश्वासको रोग देखिने गर्छ । त्यस्तै प्लाज्मा वा रगत धेरै खेर गएर कलेजो तथा अन्य अंग फेल हुने तथा हृदयघात समेत हुने सम्भावना हुन्छ ।

यो अवस्थालाई डेंगु सक सिन्ड्रम (Dengue shock syndrome) भनिन्छ । जसका कारण बिरामीको मृत्यु हुन सक्छ । यी संकेतहरुको आधारमा चिकित्सकले अस्पतालमा बिरामी भर्ना गरि आफ्नो निगरानीमा राखेर जटिल समस्या आउनबाट रोकथाम गर्ने गर्छन यस अवधि पश्चात संक्रमितमा विस्तारै सुधार आउँछ, खाना रुची बढ्छ, लक्षणहरु हराउँदै जान्छन र केहिमा सरीरमा एक प्रकारको डावर, खटिरा (Rash) देखिन सक्छ ।

जाँच र उपचार पद्दती
संकास्पद लक्षण देखिएका विरामीमा पी.सी.आर. (P.C.R.) जाँच गरेर संक्रमण प्रमाणित गरिन्छ । त्यस्तै संक्रमण फैलिएको अवस्थामा संक्रमणलाई रोकथाम गर्न आर.डि.टि. (R.D.T.) को पनि प्रयोग गर्न सकिन्छ ।

डेंगु भाइरसको लागि एन्टीभाइरल (Anti-Viral) औषधीहरु प्रभावकारी नभएको पाइएको छ ।

डेंगुको उपचार गर्न पहिले विभिन्न जानकारी सोधपुछ तथा रगतको जाँच गरिन्छ, संक्रमितको लक्षण र जटिलता अनुमान गरि उपचार बिधिको प्रणाली तय गरिन्छ । यस अन्तर्गत ३ थरिका उपचार प्रणाली छन् ।

पछिल्लो १४ दिनमा जोखिम क्षेत्रमा भ्रमण गरेको, उच्च ज्वरो तथा डेंगुका मिल्दाजुल्दा लक्षण देखिएको तर जटिल लक्षण नदेखिएको विरामीलाई सामान्य लक्षण बमोजिम उपचार गरि घर पठाइन्छ । जटिल लक्षण देखिएमा अस्पतालमै राखि उपचार गरिन्छ । जटिल लक्षण देखिएमा आपतकालिन उपचार गर्नुपर्ने हुन्छ ।

सामान्य लक्षण रोकथामका लागि पर्याप्त तरल पदार्थको सेवन, ज्वरोको रोकथाम तथा ओछ्यानमा आराम गर्ने सल्लाह दिइन्छ । जटिल लक्षण देखिएका बिरामीलाई अस्पतालमा राखि नशाबाट तरल औषधि चलाएर रगतको अवस्था सुधारिन्छ र बेलाबेलामा रगतको जाँच गरिन्छ ।

साथसाथै विभिन्न अंगको अवस्थाको मापन गर्ने गरिन्छ । जटिल डेंगुको अवस्थामा धेरै मात्रामा नशाबाट तरल पदार्थको पूर्ति गर्नुका साथै जाँचले अंकित गरेअनुसार रगत प्रत्यारोपण समेत गर्नुपर्ने हुनसक्छ ।

विरामीको अवस्था सुधार हुदै गएपछि तथा रगतको घनत्व घट्दै गएपछि औषधीको मात्रा घटाउँदै लगिन्छ र लक्षण सुधारपछि डिस्चार्ज गरेर घर पठाइन्छ । वृद्ध समुहमा लक्षणहरु सामान्य नै रहेपनि मृत्युदर युवा समुहभन्दा बढी रहेका कारण विशेष ध्यान दिनुपर्ने हुन्छ ।

रोकथामका उपायहरु
डेंगुको रोकथाम गर्न भेक्टर लक्षित उपायहरु अपनाउनु पर्छ । लामखुट्टेको प्रजननमा रोकथाम तथा घरवरपर बसोबास गर्नबाट रोक्ने उपायहरु महत्वपूर्ण छन् ।

इन्टिग्रेटेड भेक्टर म्यानेजमेन्ट (Integrated Vector Management) प्रणाली अन्तर्गत भेक्टरलाई कसरी घरवरपर वसोबास गर्न रोक्ने, लामखुट्टेको टोकाइबाट बच्ने तरिका, अण्डा नष्ट गर्ने प्रकृया आदि पर्दछन् ।

कीटनाशक प्रयोग गरिएको झुलको प्रयोग गर्ने, घरको कुनाकाप्चा तथा लामखुट्टे बसोबास गर्नसक्ने स्थानमा कीटनाशक हौषधी छर्किने, हावामा छर्किन मिल्ने स्पेस स्प्रे (Space Spray) को प्रयोग तथा पानी जम्मा हुने सतहहरु सम्याउने, भाँडाहरु छोप्ने, पानीको सतहमा लामखुट्टे प्रतिरोधी (लार्भा नासक) औषधीहरु छर्किने, किराहरु खाने माछा तथा अन्य जीव पालन गर्ने आदि उपायहरु प्रभावकारी छन् ।

त्यस्तै आफ्नो सुरक्षाको लागि रिपेलेन्ट (Repellent) जस्तै लोसनहरुको प्रयोग गर्ने, लामखुट्टे भगाउने धुपहरुको प्रयोग गर्ने पनि महत्वपूर्ण छ । त्यसैगरि फोहोरको उचित ब्यबस्थापन गर्ने तथा पानिको परिचालन ब्यबस्थित तवरले गर्नुपर्ने हुन्छ ।

डेंगु फैलाउने लामखुट्टेले बिहान देखि बेलुकामा धेरै टोक्ने हुनाले सतर्कता अपनाउनु जरुरी हुन्छ ।

डेंगुको प्रकोप नियन्त्रण गर्न विभिन्न स्वास्थ संस्था, स्वास्थ क्षेत्रमा कार्यरत बिभिन्न संघसंस्था तथा स्थानीय देखि केन्द्र सम्मका सरकारको सहकार्यमा रोकथामका कार्यक्रमहरु सञ्चालन गरि जोखिमयुक्त क्षेत्रहरुमा डेंगुको कहर नियन्त्रण गर्न सकिन्छ ।

साथै देशव्यापि जनचेतनामुलक कार्यक्रम संचालन गरि सर्बसाधारण आम जनतालाई डेंगुबाट बच्ने उपायहरु सिकाउन समेत जरुरी देखिन्छ ।

 

 

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *