स्वास्थ्य वीमाका समस्या समाधान गर्न गठित कार्यदलको पहिलो बैठक सम्पन्न

काठमाडौँ, १ भदौ । गत २६ साउनमा गठन भएको स्वास्थ्य बीमा समस्या समाधान कार्यदलको पहिलो बैठक बुधबार स्वास्थ्य मन्त्रालयमा बसेको छ । कार्यदलका संयोजक रहेका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीको अध्यक्षतामा बैठक बसेको हो ।

बैठकमा कार्यदललाई दिइएको सन्दर्भ सर्तहरु (टिओआर)मा रहेर काम कामलाई अघि बढाउने निर्णय भएको छ ।

‘खासमा आज पहिलो बैठक हो, त्यस हिसावले परिचयात्मक बैठक हो भन्दा पनि हुन्छ । माननीय राज्यमन्त्री ज्यूले बैठकमा एजेण्डा प्रस्तुत गर्दै कार्यदल गठन गर्न पर्नुको कारण, स्वास्थ्य बीमाको अवस्था विद्यमान समस्याका र यसलाई समाधान के कसरी गर्न सकिन्छ भनेर विषय उठान गर्नुभयो । अबको बैठकमा यसलाई कसरी अघि बढाउने भन्ने विषयमा पनि छलफल भएको छ,’ कार्यदलका सदस्यसचिव नारायण ढकालले भने ।

स्वास्थ्य राज्यमन्त्रीकै कार्यकक्षमा दिउसो साढे ४ बजे देखि सुरु भएको बैठक करीव एक घण्टा बसेर सकिएको थियो ।

बैठकमा स्वास्थ्य राज्यमन्त्री केसीले स्वास्थ्य बीमा कार्यक्रम सफल बनाउन रणनीतिक योजना तथा समस्या समाधानका दीर्घकालिन उपायका बारेमा के कसरी अघि बढ्न सकिन्छ भनेर सुझाव समेत मागेका थिए ।

उनले स्वास्थ्य बीमा कार्यक्रम आम नागरिकको स्वास्थ्य संग जोडिएको र यसलाई दीगो रुपमा सञ्चालन गर्न आवश्यक छ भन्दै हाल देखिएका समस्या समाधान गर्न कार्यदल केन्द्रित हुने बताए ।

गत २६ साउनमा स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले मन्त्रीस्तरीय निर्णय गर्दै गठन गरेको कार्यदलमा अध्यक्ष राज्यमन्त्री केसी छन् भने स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा गुणराज लोहनी, स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार डा रमेश ढकाल, स्वास्थ्य बीमा बोर्डका सदस्य डा सुरेश तिवारी, श्रम मन्त्रालयका उपसचिव गुरुदत्त सुवेदी सदस्य रहेका छन् ।

कार्यदलको सदस्य सचिव प्रमुख औषधि व्यवस्थापक नारायण ढकाल रहेका छन् । आज बुधबार बसेको बैठकले अर्को बैठक आइतवार तीन बजे बस्ने निर्णय गरेको छ ।

त्यसो त स्वास्थ्य मन्त्री खापुङले कार्यदललाई सुझाव पेश गर्न तीन साताको समय सिमा तोकेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *