गंगालाल अस्पतालको बोर्ड बैठक : विशेषज्ञ चिकित्सकको उमेर हद ६३ बर्ष पुर्‍याईयो, कार्डियाक सर्जनको भत्ता १५० प्रतिशतले बृद्धि

काठमाडौँ, २१ साउन । बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यरत विशेषज्ञ चिकित्सकहरुको उमेर हद ६३ बर्ष बनाइएको छ । स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङको अध्यक्षतामा शनिबार स्वास्थ्य मन्त्रालयमा बसेको बैठकले विशेषज्ञ चिकित्सकहरुको उमेर हद ६० बाट बढाएर ६३ पुर्‍याउने निर्णय गरेको हो ।

यसअघि विशेषज्ञ चिकित्सकको उमेर हदका विषयमा अध्ययन् गर्न बिजय राईको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाइएको थियो । सो कार्यदलमा डा यूवराज लिम्बु र डा रामेश कोइराला सदस्य थिए ।

उनीहरुले दिएको सुझावको आधारमा उमेर हद बढाउने निर्णय गरिएको हो ।

‘त्रिवि शिक्षण अस्पतालमा पनि विशेषज्ञहरुको उमेर हद ६३ बर्ष बनाएको अवस्था छ । गंगालालमा पनि पहिले देखि नै उमेर हद बढाउनुपर्ने भन्ने आवाज उठदै आएको थियो । त्यसैलाई ध्यान दिएर निर्णय गरिएको हो,’ स्रोतले भन्यो ।

यस्तै शनिबारको बैठकले गंगालाल अस्पतालमा कार्यरत कार्डियाक सर्जनको खाईपाई आएको तलव भत्तामा १५० प्रतिशतले बृद्धि गर्ने समेत निर्णय गरेको छ । कार्डियाक सर्जरीमा चिकित्सकलाई आकर्षित गर्न तथा त्यहाँ कार्यरत चिकित्सकलाई टिकाउन बोर्डले भत्ता बढाउने निर्णय गरेको बताइएको छ । दुई वर्ष पछि भत्तामा पुनारावलोकन हुने भनिएको छ ।

यस्तै गंगालालमा कार्यरत अन्य कर्मचारीको हकमा के गर्ने ? अस्पतालको सर्वाङ्गिण विकासका लागि के के गर्ने भन्ने बारेमा सुझाव दिन बोर्ड सदस्य डा प्रकाशराज रेग्मीको संयोजकत्वमा कन्सेप्ट नोट कमिटि बनाईएको छ । सो कमिटिमा डा नविन गौतम र डा युवराज लिम्बु सदस्य रहेका छन् । यो कमिटिलाई कन्सेप्ट नोट बुझाउन एक महिनाको अवधी दिईएको छ । यो कमिटिले दिने सुझावको आधारमा अर्को उच्चस्तरीय कमिटि बनाईने छ ।

बोर्डको बैठक डाक्ने र एजेन्डा प्रस्तुत गर्ने काम सदस्य सचिवको रुपमा अस्पतालका कार्यकारी निर्देशकको जिम्मेवारी हो । तर शनिबारको बैठकमा कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारी अनुपस्थित रहे ।

उनले डा सुजिब राजभण्डारीलाई निमित्त निर्देशकको जिम्मेवारी दिएर विदामा बसेका छन् । शनिबारको बैठकमा निमित्त निर्देशक डा राजभण्डारीले सदस्य सचिवको रुपमा काम गरेका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *