दन्त अनुसन्धान सम्वन्धि तेस्रो बार्षिक सम्मेलन काठमाडौँमा सुरु

काठमाडौँ, १४ साउन ।  दन्त अनुसन्धान तथा तथ्यमा आधारित दन्त चिकित्सा कार्यशालाको तेस्रो वार्षिक सम्मेलन आज देखि काठमाडौँमा सुरु भएको छ । नेपाल दन्त चिकित्सा अनुसन्धान संघको आयोजनामा भएको सो सम्मेलनमा स्वदेश तथा विदेशबाट गरी १०० बढी दन्त चिकित्सक तथा अनुसन्धानकर्ताहरुको सहभागिता छ ।

नेपालमा दन्त चिकित्सा तथा उपचारका क्षेत्रमा अनुसन्धान गर्ने परिपाटिको विकास गर्ने मुख्य उदेश्यले आयोजना गरिएको यो सम्मेलन भोलिसम्म चल्नेछ ।

‘डेन्टल साइन्स विधा मान स्वास्थ्यका लागि निकै नै महत्वपूर्ण विधा हो । तर यसमा अपेक्षाकृत अनुसन्धान हुन सकिरहेको छैन् । अनुसन्धान नगरी साइन्सको विकास हुनै सक्दैन् । अनुसन्धान गर्ने कार्यलाई अघि बढाउने बाताबरण विकास गर्नका लागि यो सम्मेलनको आयोजना गरेका हौँ,’ संघका अध्यक्ष प्राडा रबिन्द्रमान श्रेष्ठले भने ।

त्यसो त संघको यो तेस्रो बार्षिक सम्मेलनको थिम समेत ‘ब्रिजिङ ग्याप इन इभिडेन्स बेस्ट रिसर्च’ राखिएको छ ।

कार्यक्रमको उदघाटन सत्रमा प्रमुख अतिथि बनेका नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी सदस्य सचिव डा प्रदीप ज्ञवालीले दन्त क्षेत्रमा तुलनात्मक रुपमा अनुसन्धान कम भईरहेको बताउँदै यसलाई बढाउँदै लैजानु पर्ने बताए । उनले त्यसका लागि परिषदले आवश्यक सहयोग गर्ने समेत बचनबद्धता प्रकट गरे । उनले नेपालमा गरिने स्वास्थ्य सम्वन्धी हरेक अनुसन्धानका लागि परिषदको स्वीकृति अनिवार्य रुपमा लिनुपर्ने समेत जानकारी गराए ।

संघका संस्थापक अध्यक्ष प्राडा शैली प्रधानले स्थापना भएको छोटो समयमा दन्त स्वास्थ्य अनुसन्धानका क्षेत्रमा जसरी काम भइरहेको छ यसले सुखद संकेत देखिएको बताईन् । उनले दन्त क्षेत्रमा गरिने अनुसन्धानले राज्यको नीतिगत तहमा गर्ने निर्णयलाई समेत प्रभाव पार्न सक्ने बताईन् ।

कार्यक्रममा सम्मेलन आयोजक समितिका अध्यक्ष प्राडा बन्दना खनाल, बैज्ञानिक सत्रका अध्यक्ष डा खुस्बु गोयल र सम्मेलन आयोजक समितिका सचिव डा सुजिता श्रेष्ठले सम्मेलनको आवश्यकता महत्व र आयोजना गर्नका लागि भएका तयारीहरुका बारेमा बोलेका थिए ।

सो सम्मेलनमा भारतबाट ५ जना विदेशी र ११ जना स्वदेशी गरी कुल १६ जनाको मौखिक प्रस्तुति हुनेछ । यस्तै १७ जनाको पोष्टर प्रस्तुती रहने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *