खोटाङ : कैदीबन्दीले निःशुल्क पाउने औषधि अभाव

खोटाङ, २० जेठ । जिल्ला कारागार शाखा खोटाङमा कैदीबन्दीका लागि नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको औषधि सकिएको अनुगमनका क्रममा पाइएको छ ।

पुरुष ६६ र महिला ३३ गरी ९९ कैदीबन्दी अटाउने क्षमताको कारागारमा तोकिएको क्षमताभन्दा बढी कैदीबन्दीले सेवन गर्नुपरेकाले सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको औषधि सकिएको पाइएको हो ।

कारागारमा निःशुल्क पाइने औषधि सकिएपछि अहिले आफ्नै खर्चमा खरिद गरेर सेवन गर्नुपर्ने बाध्यता रहेको कैदीबन्दीले अनुगमनमा सहभागी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई नेतृत्वको टोलीलाई बताएका छन् । आफूहरूले निःशुल्क पाउने औषधि सकिएको लामो समय बितिसक्दा पनि सम्बन्धित निकायको ध्यान नगएको कैदीबन्दीले आरोप लगाएका छन् ।

कारागारमा अहिले दैनिकरूपमा नियमित उच्च रक्तचाप ९प्रेसर०का औषधि सेवन गर्दै आएका सात जना कैदीबन्दी छन् । उनीहरूलाई नियमित उपलब्ध गराउन कारागारको आन्तरिक कोषबाट खरिद गरिएको औषधिसमेत आगामी सोमबारसम्मलाई मात्र रहेको कारागारमा कार्यरत अनमी कमला गुरुङले जानकारी दिनुभयो ।

कारागारमा रहेका कैदीबन्दीका लागि सरकारले उपलब्ध गराएको औषधि यसअघि कारागारभित्रै रहेका कोरोना भाइरसका सङ्क्रमितलाई उपलब्ध गराउँदा सकिएको जनाइएको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका क्रममा एउटै समयमा कारागारका १४० कैदीबन्दीमा फैलिएको थियो ।

दिक्तेलस्थित थामखोरेडाँडामा रहेको जिल्ला कारागार शाखा खोटाङमा अहिले छ महिलासहित १३१ कैदीबन्दी छन् । उनीहरूमध्ये कोही न कोही दैनिकजसो बिरामी भइरहने भएकाले समस्या भएको चौकीदार राजन गिरीले जानकारी दिए ।

सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको औषधि गत चैत मसान्तमै सकिएपछि तत्कालका लागि कारागारको आन्तरिक कोषबाट खरिद गरेर उपलब्ध गराउने गरिएको कारागार शाखा खोटाङका प्रमुख सोमप्रसाद आचार्यले जानकारी दिए । “जिल्ला कारागार खोटाङमा अहिले क्षमताभन्दा ३२ जनन बढी कैदीबन्दी छन्”, उनले भने ।

अनुगमनपछि आयोजित कार्यक्रममा नगरप्रमुख भट्टराईले तत्कालका लागि नियमित सेवन गर्नुपर्ने औषधि नगरपालिकाको तर्फबाट उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। बाँकी निःशुल्क पाइने औषधिका लागि प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरेर उपलब्ध गराउने पनि नगरप्रमुख भट्टराईले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *