ईशान बाल अस्पतालको सेवा अब आफ्नै भवनबाट

काठमाडौँ, २८ बैशाख । बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पताल प्रालि अत्याधुनिक नयाँ भवनमा सरेको छ । यसअघिको अस्पताल भएको ठाँउ बसुन्धराचोकबाट करीब २५० मिटर भित्र (उत्तर) श्रीटोलमा बनाएको अत्याधुनिक भवनबाट सेवा दिन थालेको हो ।

अस्पतालका निर्देशक प्राडा आरपी चौधरीले श्रीटोलमा रहेको साढे ६ रोपनी जग्गामा बनाएको १०० शैय्या क्षमतामा रहेको अत्याधुनिक भवनबाट बिरामी र बाताबरण मैत्री, अत्याधुनिक, भूकम्प प्रतिरोधात्मक नयाँ भवनबाट अन्तराष्ट्रिय स्तरको सेवा प्रदान गरिने बताए ।

यस अस्पतालमा २४ घण्टा नै एमडी प्याडियाट्रिक रजिष्ट्रारहरुबाट पेडियाट्रिक आकस्मिक सेवा र महिला तथा प्रसूति आकस्मिक सेवा सुरु भएको छ । उनले भने ।

उनले २७ वर्षअघि नेपालकै पहिलो नीजि क्षेत्रको बाल अस्पतालको रुपमा ईशान बाल नर्सिङ होमबाट सुरु भएको अस्पतालले योवीचमा लाखौं बालबालिकाको सेवा गर्न सफल भएको बताए । डा चौधरीले नयाँ भवनबाट अस्पतालका सम्पूर्ण सेवाहरु सुरु गरिसकेको जानकारी गराउँदै अब भने बाल रोगका क्षेत्रमा विशिष्टीकृत सेवा लिन अन्य मुलुक जान नपर्ने गरी अन्तराष्ट्रिय स्तरको सेवा दिने बताए ।

नयाँ बनेको अस्पतालको भवनलाई बालबालिका फ्रेन्डली बनाएको र उनीहरुका लागि अस्पताल नभई घर जस्तै वातावरण हुने समेत डा चौधरीले जिकीर गरे । अस्पतालले जटिल भन्दा जटिल बाल शल्यक्रियाहरु गरिरहेको र त्यसका लागि अहिले भारतबाट समेत बिरामीहरु आउने गरेको डा चौधरीले बताए । उनले भने, ‘नेपालमा कुनै पनि बाल उपचारका लागि विदेश गइरहन पर्दैन यहीं त्यो पनि ईशान बाल अस्पतालमै सबै उपचार सम्भव छ ।’ उनले ईशान अस्पताललाई ‘बुटिक’ अस्पतालका रुपमा अघि बढाउने आफू र आफनो टिमको लक्ष्य रहेको समेत जिकीर गरे ।

कार्यक्रममा वरिष्ठ बाल रोग विशेषज्ञ डा ज्योतिरत्न धाख्वाले अब देखि आफूहरुले बालबालिकाको उपचार मात्र नभएर योसँग सम्बन्धित अध्ययन (अनुसन्धान पनि गर्ने बताए । उनले बाल चिकित्सामा फेलोसिप, तालिम तथा छलफल र एकेडेमिक कार्यक्रम पनि सँगसँगै लिएर जाने र ईशानलाई ‘सेन्टर फर एक्सीलेन्स’ बनाउने योजना रहेको जनाए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *