निर्वाचनको दिन अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले सवारी पास लिनु नपर्ने

काठमाडौँ, २७ बैशाख । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन हुने दिन आगामी ३० बैशाखका दिन सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाएको छ । सञ्चारकर्मी तथा पर्यवेक्षकहरुलाई विशेष पास दिएर सवारी साधन चलाउन अनुमति दिएको छ ।

तर केही सवारी साधनहरुका लागि भने सवारी पास आवश्यक नपर्ने आयोगले स्पष्ट पारेको छ ।

आयोगले सोमबार सूचना जारी गर्दै निर्वाचन सम्वन्धी कुनै कार्यमा प्रयोग नहुने गरी एम्बुलेन्स, खानेपानी ट्यांकर, दुध बोक्ने गाडी, दमकल, दुरसञ्चार तथा केवल सेवाका गाडीहरुका लागि सवारी पास आवश्यक नहुने बताएको छ ।

यस्तै शववहान, अस्पतालका स्वास्थ्यकर्मीको आवागमन लागि प्रयोग हुने साधन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सकले प्रयोग गर्ने सवारी साधन, फोहरमैला बोक्ने गाडी, तरकारी ताथ फलफूल तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा, नम्बर प्लेटमा सिडी उल्लेख भएका कुटनीतिक नियोगका साधनले पनि पास लिनु नपर्ने बताएको छ ।

आयोगले निर्वाचनको दिन पानी पर्ने आकलन भएको भन्दै त्यसबाट मतदान कार्य र मतगणना कार्य प्रभावित नहुने गरी जोगाउन पाल, त्रिपाल वा प्लास्टिकको व्यवस्था गर्न समेत निर्देशन दिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *