त्रिवि शिक्षण अस्पतालमा सञ्चालनमा आयो ‘डे केयर डायलाइसिस सेन्टर’
काठमाडौँ, १८ बैशाख । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा डे केयर डायलाइसिस सेन्टर उद्घाटन गरिएको छ।
मोबाइल दुरसञ्चार कम्पनी एनसेलले पूर्वाधार र मलेसियाको सुची च्यारिटीले डायलासिस मेसिन उपलव्ध गराएपछि शुक्रबारबाट औपचारिक रुपमा डे केयर डायलाइसिस सेन्टर सञ्चालनमा आएको हो ।
अस्पतालमा शुक्रबार आयोजित कार्यक्रममा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डीन प्राडा दिव्यासिंह शाहले डे केयर सेन्टरको उदघाटन गरिन् । उनले थपिएको मेसिनबाट मिर्गौलाका बिरामीलाई राहत पुग्ने बताईन ।
अस्पतालका सूचना अधिकारी राम विक्रम अधिकारीका अनुसार एनसेलले डे केयर स्थापनाका लागि त्रिवि शिक्षण अस्पतालको एक भवनामा आवश्यक पूर्वाधार लगायतमा सहयोग गरेको थियो। यस्तै, मलेसियाको सुची फाउण्डेसनले १४ वटा वटा डायलाइसिस मेसिन सहयोग गरेको छ। यद्धपी डे केयरमा अहिले ८ वटा मेसिन सञ्चालनमा ल्याइएको छ ।
अधिकारीले डे केयर सेन्टरको शुक्रबार औपचारिक उद्घाटन गरिएपनि बिरामीलाई डायलाइसिस सेवा भने गत फागुन ११ गतेदेखि नै दिन थालिएको बताए ।
त्रिवि शिक्षण अस्पतालमा यसअघि ११ वटा डायलाइसिस मेसिन सञ्चालित छ। नयाँ ८ वटा डायलाइसिस मेसिन सहित १९ वटा डायलाइसिस मेसिन रहेको त्रिवि शिक्षण अस्पतालमा दैनिक ४० जना बिरामीले डायलाइसिस सेवा लिने गरेको अधिकारीले जानकारी दिए।
अस्पतालमा सञ्चालित पुरानो डायलाइसिस युनिटमा २४ सै घण्टा डायलाइसिस सेवा प्रदान हुने र डे केयर डायलाइसिस केन्द्रमा भने दिँसोको समयमा मात्र सेवा खुल्ने उनले बताए।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




