क्यान्सरबारे मेरा केही सुझावहरु

– डा. रक्षा श्रेष्ठ

आज ४ फेव्रअरी, विश्व क्यान्सर दिवस । विभिन्न कार्यक्रम गरी संसारभर मनाईंदै छ ।  हामी कहाँ पनि विभिन्न जनचेतनामुलक कार्यक्रम गरेर यो दिवस मनाइएको छ ।

खासगरी विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)को आव्हानमा सन् २००० मा फ्रान्सको राजधानी पेरिसमा बसेको बैठक पछि हरेक वर्ष ४ फेब्रुअरीमा विश्व क्यान्सर दिवस मनाउने निर्णय भएको थियो ।

त्यसयता डव्लुएचओ र युनियन फर इन्टरनेशनल क्यान्सर कन्ट्रोल (युआईसीसी) को संयुक्त आव्हानमा यो दिवस मनाईदै आइएको छ ।

हरेक वर्ष दिवस मनाउँदै  गर्दा  के विषयलाई प्राथमिकता गर्ने भनेर ‘थिम’ तय गरिन्छ । यस वर्षको विश्व क्यान्सर दिवसको ‘थिम’ ‘क्लोज द केयर ग्याप’ अर्थात ‘क्यान्सर उपचार तथा हेरचाहको अन्तर बन्द गर्नुहोस,’ भन्ने तय गरिएको छ ।

अहिले पनि क्यान्सर उपचारमा समानता छैन् । सबैको सहज पहुँचमा छैन् । आर्थिक, सामाजिक, शैक्षिक, भौगोलिक लगायतका जे सुकै कारण होस क्यान्सरको उपचारमा विभेद गरिनु हुन्न भने यस वर्षको  ‘थिम’को ध्येय हो ।

अर्थात,  क्यान्सर उपचार सवैको सहज पहुँचमा पुग्नुपर्छ भन्ने हो । त्यसका लागि यो दिवसले सकारात्मक ढंगले जनचेतना फैलाउने, सम्वन्धित निकायलाई ध्यानाकर्षण गराउने आदि काम गर्न प्रेरित गर्छ भन्ने सरोकारवालाहरुले विश्वास लिएइएको अवस्था छ ।

के हो क्यान्सर ?

हाम्रो शरीरमा धेरै कोशिकाहरु हुन्छन् । यी कोशिकाहरु मध्ये केही कोशिकारु कुनै कारणले अनियन्त्रित भएर विभाजन हुन्छ र हाम्रो शरीरमा फैलिन्छ । अनि त्यसपछि क्यान्सर हुन्छ । अर्को शब्दमा भन्दा शरीरको कोशिकाहरुको समूहको अश्वभाविक बृद्धि नै क्यान्सर हो । यो सुरुमा गिर्खा वा ट्युमरको रुपमा देखा पर्न सक्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांक अनुसार विश्वभर क्यान्सरले प्रत्येक मिनेटमा १७ जनाको मृत्यु हुन्छ । क्यान्सर रोग संसारमै हुने मृत्युमध्ये दोस्रो प्रमुख कारण हो ।

डब्लुएचओका अनुसार विश्वमा प्रत्येक वर्ष ८८ लाख मानिसको मृत्यु क्यान्सरका कारण हुन्छ । यदि यो अवस्थालाई यत्तिकै छाड्ने र नियन्त्रणका लागि कुनै पहल नगर्ने हो भने सन् २०३० सम्ममा मृत्युको संख्या बढेर १ करोड ३२ लाख पुग्ने अनुमान छ ।

अहिले कुल क्यान्सर मृत्युको ६५ प्रतिशत मृत्यु अविकसित देशहरुमा भइरहेको छ ।

क्यान्सर रोगको उपचार महंगो हुने र कम आयस्रोत भएको व्यक्तिले उपचार गर्न समेत गाह्रो हुने भएकोले अविकसित देशहरुमा यसको मृत्यु धेरै हुने गरेको हो ।

के हो क्यान्सर रोग गराउने प्रमुख कारक तत्व ?

१. मद्यपान, धूमपान तथा सुर्तीजन्य पदार्थ
२. भाइरसको संक्रमण
३. अल्ट्राभाइलट विकिरण
४. अस्वस्थ खाद्य पदार्थ
५. शारीरिक निस्कृयता

यसबाहेक कतिपयलाई वंशाणुगत कारणले पनि क्यान्सर रोग लाग्न सक्छ । त्यसैले सचेत हुन जरुरी छ । माथि उल्लेखित ५ वटा कुराहरुलाई ध्यान राखि आजैबाट आफ्नो खानपान र जीवनशैलीलाई परिवर्तन गर्नु जरुरी छ ।

के क्यान्सरको उपचार सम्भव छ ?
हाम्रो समाजका कतिपय व्यक्तिमा क्यान्सर लागेपछि त्यसको उपचार सम्भव छैन् भन्ने भ्रम छ । तर त्यो सहि होईन । क्यान्सर लागेपछि पनि उपचार सम्भव छ ।

सुरुवाती चरणमा पत्ता लागेका क्यान्सरमध्ये ९५ प्रतिशत केशहरु पूर्ण रुपमा निको हुन्छ । यसको अर्थ सुरुवाती चरणमा पत्ता नलगेका वा ‘एडभान्स स्टेज’मा पत्ता लागेकाहरुको उपचार सम्भव छैन् भन्न खोजिएको हो ? भनेर प्रश्न उठाउन सकिएला तर ‘त्यसो पनि होईन ।’

हो के भने, ‘एडभान्स स्टेज’मा क्यान्सर पत्ता लागे पनि अस्पतालमा उपचार गराउन जानुपर्छ । उपचार गर्दा क्यान्सर फैलने दरलाई नियन्त्रण गर्न सकिन्छ । बिरामीको दैनिक जीवन यापनलाई सहज बनाउन सकिन्छ । उपचार नै गरिएन भने ‘एडभान्स स्टेज’मा क्यान्सर छिटो फैलन्छ र उपचारका लागि गाह्रो भैदिन्छ ।

क्यान्सर लाग्नबाट जोगिन के गर्ने ?
क्यान्सर लाग्न नदिनका विशेष गरी खानपान र जीवनशैलीमा ध्यान दिनु पर्छ । के खाँदा क्यान्सर हुने सम्भावना बढी छ भन्ने कुरा मैले माथि नै उल्लेख गरिसकेको छु ।

जीवन शैलीको कुरा गर्दा नियमित रुपमा शारीरिक व्यायम गर्ने, शारीरिक रुपमा सधै संक्रिय रहने अर्थात शारीरिक रुपमा निस्कृयता नदेखाउँने भनेर बुझ्नु पर्छ ।

क्यान्सर लाग्न नदिनु सबैभन्दा राम्रो हो । तर कहिलेकाँही लागि नै हाल्छ । क्यान्सर सुरुमै पत्ता लाग्यो भने उपचार सहज र सम्भव छ भन्ने कुरा पनि मैले माथि नै उल्लेख गरिसकेकी छु । त्यसैले पनि सुरुमै क्यान्सरबारे थाहा पाउन अति आवश्यक र महत्वपूर्ण छ ।

यसका लागि के गर्ने ?
सबैभन्दा राम्रो र उपयुक्त भनेको नियमित रुपमा क्यान्सरर ‘स्क्रिनिङ’ गर्नु हो । त्यो भनेको के भने, हरेक स्वस्थ व्यक्तिले निश्चित उमेर पछि आफ्नो शरीरको जाँच गराउनु उपयुक्त हुन्छ ।

जस्तै पेट वा आन्द्राको क्यान्सर आफूलाई लाग्ने सम्भावना छ कि छैन् भनेर जान्नका लागि ४५ देखि ५० वर्ष उमेर समूहको व्यक्तिले कम्तिमा वर्षको एक पटक कोलोनोस्कोपी गर्नु राम्रो हुन्छ ।

यस्तै महिलाले आफूलाई स्तन क्यान्सर भएको पो छ कि भनेर ४० वर्षपछि कम्तीमा वर्षको एक पटक म्यामोग्राफी गर्नु उपयुक्त हुन्छ ।

फोक्सो क्यान्सर छ कि भनेर ५० वर्ष पुगेका व्यक्तिले छातीको एक्सरे वा सिटिस्क्यान गर्नु राम्रो हुन्छ । अझ धूमपान गर्ने व्यक्ति हो भने त अझ अघि देखि नै गर्दा पनि हुन्छ ।

पाठेघको मुखको क्यान्सर हुँदै पो छ कि भनेर थाहा पाउन जोखिम हेरेर महिलाले तीन तीन वर्षको फरकमा प्यापस्मेयर गर्नु राम्रो हुन्छ ।

यस्तै प्रोस्टेट क्यान्सर भएको छ कि भनेर थाहा पाउनका ५० ५५ वर्षमाथिका पुरुषहरुले रगतको पीएसए जाँच गर्नु राम्रो हुन्छ । यस्तै ग्यास्ट्रिक भइरहने व्यक्तिले इन्डोस्कोपि गर्नु उपयुक्त हुन्छ ।

क्यान्सर भइ हालेमा उपचार विधि के के छन् ?
क्यान्सरमा मुख्य रुपमा तीन किसिमको उपचार विधि प्रयोग हुन्छ । शल्यक्रिया विधि, किमो थेरापी र रेडियसन थेरापी विधि ।

क्यान्सर लागेको भागलाई शल्यक्रिया गरि हटाइदिने विधि हो । यो विधि क्यान्सर उपचारमा सबैभन्दा बढीे प्रभावकारी मानिन्छ ।

क्यान्सरको विरामीलाई उपचार गर्न प्रयोग गर्ने औषधिहरु मिलाएर स्लाइन मार्फत दिईने विधि हो किमो थेरापी विधि । सामान्य बोलीचालिको भाषामा यसलाई किमो चडाउने पनि भन्ने गरिन्छ । क्यान्सरका बिरामीहरुमा विभिन्न कोषिकाहरु गुणात्मक ढंगले बढ्दो क्रममा हुन्छ । किमो दिएपछि त्यसले ती कोषिकाहरुलाई बढ्न दिदैन् ।

क्यान्सरका बिरामीको उपचारमा प्रयोग हुने अर्को विधि भनेको रेडियशन थेरापी विधि हो । बिरामीलाई रेडियसनको माध्यमबाट उपचार गरिन्छ ।

टिचिङ अस्पतालमा पनि क्यान्सरको उपचार सुरु 

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगञ्जमा अब क्यान्सरको पनि उपचार सुरु हुन थालेको छ । यसअघि यहाँ आउने बिरामीलाई क्यान्सर भएको पत्ता लागेपछि अन्य क्यान्सर अस्पतालमा रिफर गरिन्थ्यो ।

शिक्षण अस्पतालले आफ्नो परिसरमै बनाएको सुरेश वाग्ले क्यान्सर सेन्टरबाट सो सेवा उपलव्ध गराउन थालेको हो । हुन त सुरेश वाग्ले क्यान्सर सेन्टर बनाउन थालेको १० वर्ष भयो ।

विभिन्न आरोह अवरोह पार गर्दै निर्माण सुरु भएको १० वर्ष पछि क्यान्सर सेवा सुरु भएको छ । अहिले यहाँबाट क्यान्सर उपचार अन्तरगर्त ओपिडी सेवा, शल्यक्रिया सेवा र केमो थेरापी सेवा दिइएको छ । रेडियसन थेरापीका लागि बंकर बनिसकेको छ तर मेसिन आइसकेको छैन । अब छिटै नै सो मेसिन ल्याएर रेडियसन थेरापी सेवा पनि सुरु गर्न जरुरी छ ।

त्रिवि शिक्षण अस्पताल यसै पनि देशकै चर्चित र ठूलो अस्पताल हो । त्यसमाथी क्यान्सर उपचार सेवा समेत जोडिएको भनेपछि यसको ओज अझ माथि पुग्छ । त्यसैले यसलार्य थप व्यवस्थित गरेर कम्प्रिहेन्सिभ क्यान्सर केयर सेन्टरको रुपमा विकसित गर्नु आजको आवश्यकता हो ।

मेरा केही सुझाव ………….

क्यान्सर उपचारका क्रममा हामीले केही तिता अनुभवहरु लिएका छौँ । जनचेतनाको अभावमा कतिपय परिवारले आफ्नो बिरामीलाई क्यान्सर लाग्यो भन्ने वित्तिकै उपचार नगरी घर फर्काएको पाएका छौँ । क्यान्सर उपचार गर्नुपर्छ । निको हुन्छ । नियन्त्रण गरेर राख्न सकिन्छ भन्ने जनचेतनाको खाँचो छ ।

अर्को कुरा हामीकहाँ एडभान्स स्टेज अर्थात रोग पहिचानमा ढिलाइ भएका केशहरु बढी आएका छन् । यसको लागि पनि जनचेतनामुलक कार्यक्रम राख्नु जरुरी छ ।

क्यान्सरको उपचार खर्चिलो छ भन्ने धेरै जनाको भनाई छ । धेरै क्यान्सरको उपचार हामीले कुरा गरेजस्तो महंगो पनि हुँदैन । सरकारले दिने गरेको एक लाख रुपैयाँबाट पनि धेरै औषधिहरु उपलव्ध हुन्छ । तर हामी फेरी पनि के भन्छौँ भने सरकारले एक लाख रुपैयाँ होइन सम्पूर्ण उपचार खर्च वेहोरिदिनु पर्छ ।

अर्को कुरा क्यान्सर फैलिएको छैन वा सुरुकै अवस्था छ भने निको हुन्छ । त्यसैले क्यान्सर स्क्रिनिङ कार्यक्रम सरकारले नियमित रुपमा स्थानीय तहसंग समन्वय गरेर गाउँ गाउँमा लैजानु पर्छ ।

# क्यान्सर रोग विशेषज्ञ डा. श्रेष्ठ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत छिन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *