के हो डेन्टल इम्प्लान्ट ? किन यसको उपचार महँगो हुन्छ ?

जेनुइन स्माइल डेन्टल क्लिनिकमा आफ्नो दाँतको उपचार गर्न आउनुभएका एक प्रतिष्ठित सामाजिक सञ्जाल प्रयोगकर्ता दाजुको अगाडिको एउटा दाँत केही समयअघि अर्को डेन्टल अस्पतालमा निकालिएको रहेछ।
नियमित उपचार (दाँत सफा गर्ने, भर्ने लगाय) सम्पन्न भएपछि, निकालिएको ठाउँमा नयाँ दाँत कसरी राख्ने भन्ने विषयमा हाम्रो छलफल भयो।
हामी प्रत्येक उपचार विधिका सकारात्मक र नकारात्मक पक्षहरू बिरामीलाई स्पष्ट रूपमा जानकारी गराउँछौं। बिरामीको आवश्यकता, चाहना र वैज्ञानिक रूपमा उपयुक्त उपचार विधिबारे आपसी सहमति भएपछि मात्र उपचार सुरु गर्छौं। यसले बिरामी र चिकित्सकबीचको सम्बन्ध अझ बलियो बनाउँछ र उपचार गर्ने तथा उपचार लिने दुवै पक्षबीच अविश्वासको वातावरण कम हुन्छ। डेन्टल स्कुलमा विद्यार्थीहरूलाई पढाउँदा र सिकाउँदा पनि हामी यस पक्षमा विशेष ध्यान दिन सधैं आग्रह गर्छौं।
दाँत निकालिएर खाली भएको स्थान भर्ने मुख्यतः तीनवटा उपाय छन्।
पहिलो, सबैभन्दा सरल र कम खर्चिलो विकल्प निकालेर फेरि लगाउन मिल्ने नक्कली दाँत (Removable partial denture) हो। ती दाजुले यसअघि यो प्रयोग गरिसक्नुभएको रहेछ। तर त्यसले धेरै असहज बनाएको अनुभव भएकाले उहाँले यो विकल्प तुरुन्तै अस्वीकार गर्नुभयो।
दोस्रो विकल्प भनेको छेउका बलिया दाँतको सहारामा स्थायी नक्कली दाँत राख्ने फिक्स्ड पार्टियल डेन्चर (fixed partial denture) वा क्राउन एन्ड ब्रिज (Crown and bridge) हो। जसरी दुईवटा खम्बाको सहारामा पुल बनाइन्छ, त्यसरी नै छेउका दाँतको सहारामा बीचको खाली ठाउँमा नक्कली दाँत राखिन्छ। यो स्थायी उपचार हो। तर यसको मुख्य कमजोरी भनेको छेउका स्वस्थ दाँतलाई समेत क्राउन लगाउन मिल्ने गरी काटेर तयार गर्नुपर्ने हुन्छ। यसरी स्वस्थ दाँतको बाहिरी इनामेल हटाउँदा भित्री डेन्टिन बाहिर आउन सक्छ, जसका कारण दाँतमा झमझमाउने वा सिरिङ्ग–सिरिङ्ग हुने समस्या देखिन सक्छ। यस्तो समस्या दीर्घकालसम्म नहोस् भनेर कहिलेकाहीँ रुट क्यानाल उपचार पनि गर्नुपर्ने हुन सक्छ।
आजकल विकसित भएका जिरकोनिया ( Zirconium) जस्ता आधुनिक सामग्रीका कारण कम मात्रामा दाँत काटेर पनि उपचार गर्न सम्भव भएको छ। यसले रुट क्यानाल गर्नुपर्ने अवस्थालाई केही हदसम्म कम गरेको छ। तर उमेर, इनामेल पातलो हुनु वा दाँत धेरै खिइसकेको अवस्थामा भने रुट क्यानाल नै आवश्यक पर्न सक्छ। भविष्यमा समस्या नआओस् भन्ने उद्देश्यले धेरै बिरामीहरू यो उपचार गर्न तयार हुनुहुन्छ।
एउटा नयाँ स्थायी दाँत राख्न कम्तीमा दुईवटा स्वस्थ दाँतमा उपचार गर्नुपर्ने यो विधिको तुलनामा वैज्ञानिक दृष्टिले अझ उत्कृष्ट विकल्प डेन्टल इम्प्लान्ट हो।
विज्ञान र प्रविधिले चिकित्सा क्षेत्रमा ठूलो योगदान पुर्याएको छ। नयाँ–नयाँ प्रविधिका कारण उपचारलाई सकेसम्म शरीरलाई कम क्षति पुग्ने बनाइएको छ।
सजिलो भाषामा भन्नुपर्दा, डेन्टल इम्प्लान्ट भनेको विशेष प्रकारको टाइटेनियमको स्क्रु (किल्ला) हो। जसरी किल्लाको धर्का (Threads) भित्ताभित्र मजबुत रूपमा प्रवेश गर्छन्, त्यसरी नै इम्प्लान्टका थ्रेडहरू जबडाको हड्डीभित्र प्रवेश गरी मजबुत रूपमा अडिन्छन्। त्यसपछि तीनदेखि छ महिनासम्ममा हड्डीसँग पूर्ण रूपमा मिसिएर शरीरकै एउटा अभिन्न भागजस्तै बन्छ। त्यसपछि इम्प्लान्टमाथि एबटमेन्ट (Abutment) जडान गरी त्यसमा नक्कली दाँत (Crown) फिट गरिन्छ।
यसको सबैभन्दा ठूलो फाइदा भनेको छेउका स्वस्थ दाँतलाई कुनै असर नगर्नु हो। हड्डीसँग राम्रोसँग मिसिएपछि यसको बल प्राकृतिक दाँतसँग धेरै हदसम्म मिल्दोजुल्दो हुन्छ। यद्यपि, प्राकृतिक दाँतको विकल्प प्राकृतिक दाँत नै हो। त्यसैले आफ्ना प्राकृतिक दाँतको सधैं राम्रो हेरचाह गर्नुहोस्।
डेन्टल इम्प्लान्टका विभिन्न उपचार विधिहरू छन्। यस लेखको उद्देश्य ती सबै विधिको विस्तृत चर्चा गर्नु होइन। त्यसबारे अर्को लेखमार्फत विस्तारमा जानकारी दिनेछु।
डेन्टल इम्प्लान्टको सफलता बिरामीको हड्डीको अवस्था, समग्र स्वास्थ्य र मुखको सरसफाइप्रतिको जिम्मेवारीमा निर्भर गर्छ। हड्डी पर्याप्त बलियो हुनुपर्छ, सक्रिय संक्रमण हुनु हुँदैन, र बिरामीले मुखको स्वास्थ्यप्रति सकारात्मक व्यवहार अपनाउनुपर्छ।
तीनवटै उपचार विधिबारे छलफल गरेपछि ती दाजु र म डेन्टल इम्प्लान्टमार्फत नयाँ दाँत राख्ने विषयमा सहमत भयौं।
अब कुरा आयो खर्चको।
मैले कम्पनीअनुसार एउटा इम्प्लान्टको उपचारमा करिब ६० हजारदेखि १ लाख २० हजार रुपैयाँसम्म खर्च लाग्न सक्छ भनेपछि उहाँले आश्चर्य मान्दै भन्नुभयो, ‘एउटै दाँतको यति धेरै ?’
उहाँको आश्चर्य स्वाभाविक थियो। एक मध्यमवर्गीय नेपालीका लागि एउटा दाँतमा यति ठूलो रकम खर्च गर्नु सहज हुँदैन। चिकित्सकको हैसियतले बिरामीलाई यो खर्च बताउँदा मलाई पनि सहज लाग्दैन। सायद यो मेरो मात्र होइन, डेन्टल इम्प्लान्ट सेवा दिइरहनुभएका अधिकांश विशेषज्ञ चिकित्सकहरूको साझा अनुभव हो।
किन हुन्छ डेन्टल इम्प्लान्ट महँगो ?
डेन्टल इम्प्लान्ट नेपालमा उत्पादन हुँदैन। यो मानव शरीरभित्र स्थायी रूपमा राखिने भएकाले हामी अन्तर्राष्ट्रिय रूपमा विश्वसनीय तथा आवश्यक गुणस्तर मापदण्ड पूरा गरेका इम्प्लान्टहरू मात्र प्रयोग गर्छौं।
इम्प्लान्ट राख्न विशेष प्रकारका उपकरणहरू आवश्यक पर्छन्। यी उपकरणहरू सामान्य दन्त उपचारमा प्रयोग हुँदैनन्। इम्प्लान्टका लागि छुट्टै खरिद गर्नुपर्ने हुन्छ, महँगा हुन्छन् र अत्यन्त सावधानीपूर्वक संरक्षण गर्नुपर्छ।
प्रत्येक ब्रान्डको इम्प्लान्टका लागि सोही कम्पनीका विशेष उपकरण र पार्टपुर्जा आवश्यक हुन्छन्। एउटा ब्रान्डको सामान अर्को ब्रान्डमा प्रयोग गर्न मिल्दैन।
त्यसैगरी, डेन्टल इम्प्लान्ट गर्न विशेषज्ञ चिकित्सकहरूले आफ्नै खर्चमा विशेष तालिम तथा अन्तर्राष्ट्रिय कोर्सहरू पूरा गरेका हुन्छन्। यी तालिमहरू पनि निकै महँगा हुन्छन्।
इम्प्लान्ट राखिसकेपछि त्यसको नाप लिएर दाँत बनाउन डेन्टल ल्याबमा पठाउनुपर्छ। त्यसको खर्च पनि उल्लेखनीय हुन्छ।
यी सबै कारणले गर्दा डेन्टल इम्प्लान्टको उपचार अन्य विकल्पहरूको तुलनामा महँगो हुन्छ।
विदेशमा बस्ने धेरै नेपालीहरू नेपाल आएर इम्प्लान्ट गराउनुहुन्छ। उपचारका लागि नेपाल आउँदा यात्रा खर्च जोड्दा पनि विदेशको तुलनामा यहाँ निकै कम खर्च हुने अनुभव उहाँहरूले सुनाउनुहुन्छ।
त्यसैले, यदि तपाईंको पनि कुनै कारणले दाँत गुमेको छ र त्यसको दीर्घकालीन तथा वैज्ञानिक समाधान खोजिरहनुभएको छ भने, डेन्टल इम्प्लान्टलाई अवश्य पनि एउटा उत्कृष्ट विकल्पका रूपमा विचार गर्नुहोस्।
# कन्सल्टेन्ट म्याक्सिलोफेसियल सर्जन डा. पोखरेल हाल Genuine Smile डेन्टल क्लिनिक महाराजगञ्जमा कार्यरत छन् ।
सम्पर्क इमेल : [email protected]







