बीपीको कार्यभार सम्हाल्न धरान पुगे प्रमुख विशेषज्ञ डा. यादव

काठमाडौँ, १० माघ । मन्त्रिपरिषदको बैठकले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीको कार्यभार तत्कालका लागि सम्हाल्नु भन्दै निर्णय गरिदिएपछि स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा श्यामसुन्दर यादव सोमबार धरान पुगेका छन् । यद्धपी उनी हाजिर हुन भने सकेनन् ।

‘आज आएको हुँ, जिम्मेवारी सम्वन्धी पत्र प्रशासनलाई बुझाएको छु । तर हाजिर गराउन भने उहाँहरु (कर्मचारी)ले अलि अफ्टेरो माने जस्तो गर्नुभयो । त्यसपछि केही फ्याकल्टी र डिनहरुसंग छलफल गर्दैछु । भोलि पनि यसबारेमा फ्याकल्टी र डिपार्टमेन्ट हेडहरुसंग छलफल गर्छु,’ डा यादवले भने ।

डा यादवले प्रशासनले हाजिर गराउन आनाकानी गरेको खण्डमा आफैले तोक लगाएर हाजिर गर्न समेत सक्ने बताए । ‘हाजिर त ठूलो कुरा होइन । उहाँहरुले अफ्टेरो मानेपछि मैले त्यता ध्यान नदिएको हो । भोलि फयाकल्टी र डिपार्टमेन्ट हेडहरुसंग छलफल गर्छु त्यसपछि आफैले तोक लगाएर पनि हाजिर गर्न सक्छु । ठूलो कुरा छैन्,’ उनले भने ।

उपकुलपति डा गिरी र उनको टिममाथि अनियमितता र भ्रष्टाचारको आरोप लगाउँदै लामो समय देखि स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि सरकारले विभिन्न चरणका छानवीन टोली बनाएको थियो । पछिल्लो पटक स्वास्थ्य मन्त्री विरोध खतिवडाको संयोजकत्वमा गठित छानवीन समितिले प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाइसकेको छ । सो छानवीन समितिको प्रतिवेदनमा उपकुलपति डा गिरी सहितका पदाधिकारीहरुले अनियमिता गरेको भन्दै बर्खास्त गर्न सिफारिस भएको बताइएको छ । यद्धपी प्रतिवेदन सार्वजनिक भइसकेको छैन् ।

प्रतिवेदन सार्वजनिक नभएको र उपकुलपति विवादित बनेपछि स्वास्थ्य मन्त्रालयकै सिफारिसमा मन्त्रिपरिषद्ले अर्को निर्णय नहुँदासम्मका लागि प्रमुख विशेषज्ञ डा यादवलाई पठाउने निर्णय गरेको थियो । उनीसंगै लेखा हेर्नका लागि सहसचिव चिरन्जीवी अधिकारी धरान पुगेका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *