५० बढी स्वास्थ्यकर्मी संक्रमित भएपछि टेकु अस्पतालद्धारा कोभिडविरुद्धको खोप अभियान स्थगित

फाइल तस्विर

काठमाडौँ, ९ माघ । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभडिविरुद्धको खोप अभियान स्थगित भएको छ । अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट संक्रमित भएपछि खोप अभियान स्थगित गरिएको हो ।

आइतबार अस्पतालले विज्ञप्ति जारी गर्दै भोलि (सोमबार) देखि अर्को आइतबारसम्म एक साताका लागि खोप अभियान स्थगित भएको जानकारी दिएको छ ।

अस्पतालले गत १९ मंसिर देखि नियमित रुपमा खोप सञ्चालन गरिरहेको थियो । त्यहाँबाट दैनिक जसो २ हजार ५०० देखि ३००० जनाले कोभिडविरुद्धको खोप लिदै आएका थिए ।पछिल्लो समय खोप लगाउन जानेको संख्या अत्यधिक थियो ।

अस्पतालका निर्देशक डा मनिषा रावलले बाध्यतावस खोप अभियान स्थगित गर्नु परेको बताइन । उनले भनिन् , ‘खोप स्थगित गर्नु हाम्रो बाध्यता भयो । किनभने हाम्रा चिकित्सक, नर्स तथा प्यारामेडिक्स गरी ५० जना बढी संक्रमित भईसक्नु भएको छ । यता अस्पतालमा कोभिड संक्रमित बिरामीको संख्या बिस्तारै बढ्दो छ । बिरामी बढ्ने र स्वास्थ्यकर्मी समेत संक्रमित हुने क्रम बढ्यो भने अस्पतालको सेवालाई सञ्चालनमा समेत अफ्टेरो हुन सक्छ भनेर एक साताका लागि खोप स्थगित गरेका हौँ ।’

टेकुमा कति छन् बिरामी ?
निर्देशक डा रावलका अनुसार अहिले टेकु अस्पतालमा १८ जना कोरोना संक्रमित विरामी छन् । ती मध्ये १० जना आईसीयू र ८ जना एचडीयूमा रहेका छन् । आइसीयूमा रहेका १० मध्ये ३ जनालाई भेन्टिलेटर सपोर्टमा राखिएको छ ।

एक सय बर्ष उमेरकी बृद्धाको आइसीयूमा उपचार

निर्देशक डा रावलले टेकु अस्पतालमा भर्ना भएका १८ जनामध्ये एक जना १०० वर्ष उमेरका बृद्धा रहेको बताइन । ‘उहाँ आईसीयूमा उपचाररत हुनुहुन्छ । गत शुक्रबार अस्पताल ल्याईंएको हो । ल्याउँदा भन्दा अहिले स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ,’ उनले भनिन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *