भारतमा एकैदिनमा थपिए साढे तीन लाख संक्रमित

नयाँ दिल्ली, ७ माघ । भारतमा कोरोनाभाइरसबाट एकैदिनमा थप झण्डै साढे तीन लाख मानिस सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४७ हजार २५४ जना नयाँ सङ्क्रमित भएका हुन ।

दैनिक सङ्क्रमितहरूको सङ्ख्या १७।९७ प्रतिशतको दरले वृद्धि भएको पनि भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अघिल्लो दिन विहीवार सार्वजनिक गरिएको तथ्याङ्कको तुलनामा शुक्रबार सार्वजनिक गरिएको विवरणमा सङ्क्रमितहरूको सङ्ख्या २९ हजार ७२२ बढी रहेको छ ।

अघिल्लो दिन भारतमा तीन लाख १७ हजार ५३२ जना नयाँ सङ्क्रमित भएको विवरण सार्वजनिक गरिएको थियो ।

सङ्क्रमितहरूको सङ्ख्यामा साप्ताहिक रुपमा १६.५६ प्रतिशतले वृद्धि भएको पाइएको पनि अधिकारीहरूले जनाएका छन् ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या पनि दिन प्रति दिन बढ्दै गइरहेको तथ्याङ्कले देखाएको छ ।

पछिल्लो विवरण अनुसार भारतमा अहिले २० लाख १८ हजार ८२५ जना कोरोना भाइरसबाट सङ्क्रमित अवस्थामै रहेका छन् ।

पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या भने दुई लाख ५१ हजार ७७७ रहेको छ ।

एउटै अवधिमा नयाँ सङ्क्रमितहरूको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या थोरै भएकाले पनि सक्रिय सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको हो ।

एएनआइ

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *