सोमबार र मंगलबार थप ४० लाख डोज मोडर्ना खोप आउँदै
काठमाडौँ, ७ माघ । आगामी सोमबार र मंगलबार थप ४० लाख डोज मोडर्ना खोप आउँदै छ । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकामा प्रयोग गर्न यो खोप आउने भएको हो ।
यो खोप सरकारले खरीद प्रक्रियाबाट आउने भएको हो । आगामी २४ र २५ तारिखमा आउने सेड्युल छ । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले भने ।
यसअघि ल्याइएका मोडर्ना खोप १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई दिइएको थियो । यो खोप पनि सोही उमेर समूहका खोप लगाउन बाँकी बालबालिकालाई दिईने स्वास्थ्य मन्त्रालयले तयारी गरेको छ ।
त्यसो त यसअघि फाइजर खोप पनि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिइएको थियो । तर अब सो खोप ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई दिने योजना अघि सारिएको छ ।
‘फाइजर हामी ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई दिने योजना बनाएका छौँ । त्यसैले अब १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना नै दिने नीति हो,’ स्वास्थ्य सचिव डा रोशन पोखरेलले भने ।
नेपालमा कोभिडविरुद्ध भेरोसेल, कोभिसिल्ड, एस्टाजेनेका, जानसन, फाइजर, मोडर्ना लगायतका खोपहरु लगाइएको छ ।
अहिले फ्रन्टलाइनरहरुलाई अतिरिक्त डोज (तेस्रो डाज) समेत दिन थालिएको छ ।
सम्पर्क इमेल : [email protected]