राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक, नर्स तथा कर्मचारी गरी ५२ जनामा कोरोना संक्रमण

 काठमाडौँ, ३ माघ ।  राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक, नर्स, प्यारामेडिक्स, प्रयोगशालाकर्मी लगायत ५२ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो केही दिन यता गरिएको परीक्षण र देखिएको लक्षणका आधारमा ५२ जनामा संक्रमण पुष्टि भएको ट्रमाका निर्देशक डा प्रमोद जोशीले बताए ।

उनका अनुसार ट्रमाको आइसीयू युनिटका ७ जना, ल्याबका ७ जना, फिजियोका ६ जना, वार्डहरुमा कार्यरत १० जना लगायत प्रशासन र अन्य विभागका गरी हालसम्म संक्रमितको संख्या ५२ पुगेको छ । डा जोशीले संक्रमित सबैजना होम आइसोलेसनमा रहेको जानकारी दिए ।

‘अस्पतालमा विरामीको चाप पूर्ण रुपमा छ । तर कन्सलटेन्ट डाक्टर, रेजिडेन्ट डक्टर, नर्स तथा अन्य प्यारामेडिक्स तथा कर्मचारी गरी ठूलो संख्यामा संक्रमित भएको अवस्था छ । यसैले व्यवस्थापन गर्न गाह्रो छ,’ डा जोशीले भने ।

यसैबीच ट्रमाले डा समाज गौतमको संयोजकत्वमा कोभिड १९ रेस्पोन्स टिम गठन गरेको छ । ‘कोभिडको नयाँ भेरियन्टले सिर्जना गरेको तेस्रो लहरमा कसरी जुधेर अघि बढ्ने भन्ने विषयमा यो टिमले काम गर्ने छ,’ डा जोशीले भने ।

यसअघि त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल लगायत अरु थुप्रै अस्पतालमा ठूलो संख्यामा स्वास्थ्यकर्मीहरु संक्रमित भएका खबर आइसकेका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *