काठमाडौँमा पनि सुरु भयो स्वास्थ्य बीमा कार्यक्रम, दक्षिणकाली बन्यो पहिलो नगरपालिका

काठमाडौँ, २९ पुस । स्वास्थ्य बीमा कार्यक्रम काठमाडौंमा पनि सुरु भएको छ । गत सोमबारदेखि दक्षिणकाली नगरपालिकामा यो कार्यक्रम आरम्भ भएको हो । दक्षिणकालिमा सुरु भएसंगै स्वास्थ्य विमा कार्यक्रम देशका ७७ वटै जिल्लामा पुगेको छ ।

गत सोमबार नगरपालिकामा एक सम्छिप्त कार्यक्रम गरी स्वास्थ्य बीमा कार्यक्रमको सुभारम्भ गरियो ।

नगरपालिकाका सीअहेव विष्णु लामिछानेका अनुसार सो कार्यक्रममा शुभारम्भ गर्ने क्रममा स्वास्थ्य वीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले पहिलो विमितको रुपमा नगरपालिकाका मेयर मोहन बस्नेतलाई सदस्यता कार्ड वितरण गरी आरम्भ भएको घोषणा गरेका थिए । त्यसबेला नै दोस्रो सदस्यको रुपमा उपमेयर बसन्ती तामाङ डंगोल र त्यसपछि अरु चार जना वडा अध्यक्षलाई सदस्यताको कार्ड प्रदान गरिएको थियो ।

‘यो संगै काठमाडौँका १० वटा पालिकामध्ये स्वास्थ्य बीमा सुरु गर्ने दक्षिणकाली पहिलो पालिका बनेको छ । अहिले धमाधम सदस्यता दर्ताको काम भइरहेको छ । अहिले दर्ता हुनेले आगामी १ फागुन देखि स्वास्थ्य बीमाको सुविधा लिन सक्नेछन्,’सीअहेव लामिछानेले भने ।

स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी सोभित रिजालले दक्षिणकालीमा वीमा सुरु भएसंगै जिल्लागत रुपमा स्वास्थ्य बीमा कार्यक्रम ७७ वटै जिल्लामा लागू भएको बताए । उनले अबको केही दिनमै गोकणेश्वर नगरपालिका र त्यसपछि अरु नगरपालिकाहरुमा यो कार्यक्रम लागू गर्ने योजना रहेको सुनाए ।

यसअघि बोर्डले ललितपुरका तीनवटा नगरपालिकामा वीमा सुरुवात गरेको थियो । काठमाडौँ र ललितपुरका मुख्य शहरी क्ष्ँोत्र समेटिएका पालिकाहरुमा यो कार्यक्रम गर्नका लागि थप केही तयारी गर्नुपर्ने भएकोले ढिलाई भएको उनले सुनाए ।

सरकारले २०७२ चैत २५ मा कैलाली जिल्लाबाट स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको हो । त्यसबेला प्रति परिवार ५ जनाको दरले २ हजार ५ सय रुपयाँ तिरेपछि ५० हजार रुपैयाँसम्मको स्वास्थ्य सेवा लिन पाइन्थ्यो ।

अहिले बीमा बापत प्रति परिवार पाँच जनाले ३ हजार ५०० रकम तिर्दा एक लाख रुपैयाँको स्वास्थ्य सेवा लिन सकिन्छ । परिवारमा ५ जना भन्दा बढी सदस्य रहेमा प्रतिव्यक्ति ७ सय रुपैयाँ थप्नुपर्ने र २० हजारको दरले सेवा पनि बढदै जाने र २ लाख सम्मको उपचार सुविधा लिन सकिने नयाँ व्यवस्थामा उल्लेख छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *