बालबालिकालाई कोभिडविरुद्धको खोप : भक्तपुरमा मोडर्ना दिन थालियो, काठमाडौँ र ललितपुरमा फाइजर खोप दिईदै

काठमाडौँ, २५ पुस । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको खोप दिने अभियान काठमाडौँ उपत्यकामा पनि सुरु भएको छ ।  बालबालिकाहरुलाई काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये भक्तपुरमा मोडर्ना, काठमाडौँ र भक्तपुरमा फाइजर बायोन्टेक खोप दिईदै छ ।

स्वास्थ्य कार्यालय भक्तपुरले शुक्रबार देखि नै यो अभियान सुरु भएको जनाएको छ ।

त्यहाँका बालबालिकालाई मोडर्ना खोप दिईएको छ । यता काठमाडौँ र ललितपुर आगामी मंगलबार देखि खोप दिन सुरु गर्ने योजनामा देखिएका छन् । यी दुई जिल्लामा बालबालिकालाई फाइजर बायोन्टेकको खोप दिईनेछ ।

भक्तपुरका स्वास्थ्य प्रमुख कृष्ण मिजार बालबालिकालाई यसअघि तोकिएको खोप केन्द्रहरुबाट दिईरहेको बताए । शुक्रबारबाट दिई रहेका छौँ, आज पनि सूर्यविनायक, ठिमी लगायतका स्थानीय पालिकाहरुमा खोप दिईदै छ । उनले खोप लगाएर नभ्याउँदासम्म अभियान जारी राख्ने समेत सुनाए ।

यता काठमाडौँका स्वास्थ्य प्रमुख शम्भु काफ्लेले स्थानीय पालिकाहरुसंग समन्वय गरी खोप अभियान सुरु गर्न मंगलबारसम्मको तयारी आवश्यक भएको बताए । ‘मंगलबारबाट हामीले काठमाडौँ महानगरसहित सबै पालिकाहरुमा खोप सञ्चालन गर्छौ । स्कुल स्कुलमा गएर खोप सञ्चालन गर्ने योजना छ । १२ देखि १७ वर्ष उमेरका बालबालिकाहरुलाई फाइजर खोप दिईनेछ’ उनले भने ।

यता स्वास्थ्य कार्यालय ललितपुर पनि बालबालिकालाई आगामी मंगलबारबाट खोप अभियान सञ्चालन गर्ने तयारीमा रहेको छ । ललितपुरका स्वास्थ्य प्रमुख सतिश विष्ट काठमाडौँ र ललितपुरमा एउटै खोप सुरु हुन लागेको र केही तयारी गर्नुपर्ने भएकोले मंगलबारबाट अभियान सुरु गर्ने योजनामा रहेको बताए ।

सरकारले यसअघि ५७ जिल्लाका बालबालिकालाई मोडर्ना र २० जिल्लाका बालबालिकाहरुलाई फाइजर खोप दिने बताएको थियो । तर मोडर्ना खोप केही बाँकी रहेपछि अहिले २० मध्येका केही जिल्लामा पनि मोडर्ना खोप दिने योजना बनेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *