नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत, अरु पदाधिकारी को को ?

काठमाडौं, २ भदौ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त भएकी छन् । स्वास्थ्य मन्त्री निशा मेहताले आज मन्त्रीस्तरीय निर्णय गर्दै बस्नेतलाई अध्यक्ष पदमा नियुक्त गरेकी हुन् ।
उनले परिषद्को उपाध्यक्षमा डा. नारायणबहादुर महोत्रालाई नियुक्त गरेकी छन् । यसैगरी सदस्यहरुमा डा गणेश दंगाल, डा सन्तोषकुमार ठाकुर, डा सतिशकुमार देव, डा धर्मागत भट्टराई र डा रबा थापालाई नियुक्त गरिएको छ ।
नवनियुक्त अध्यक्ष डा. बस्नेत त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थान,महाराजगञ्ज मेडिकल क्याम्पसको बालरोग विभागमा प्राध्यापक तथा विभागीय प्रमुखका रूपमा कार्यरत छिन् ।
वरिष्ठ बालरोग विशेषज्ञ,प्राध्यापक तथा अनुसन्धानकर्ताका रूपमा परिचित डा. बस्नेतले भारतको युनिभर्सिटी अफ कलकत्ताबाट एमबीबीएस,त्रिभुवन विश्वविद्यालयबाट बालरोगमा एमडी तथा नर्वेको युनिभर्सिटी अफ बर्गेनस्थित सेन्टर फर इन्टरनेसनल हेल्थबाट पीएचडी गरेकी हुन् ।
त्यस्तै, नवनियुक्त उपाध्यक्ष डा. नारायणबहादुर महोत्रा त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थान,महाराजगञ्ज मेडिकल क्याम्पसमा क्लिनिकल फिजियोलोजी विषयका प्राध्यापक तथा विभागीय प्रमुख हुन् ।
उनले चिकित्सा शास्त्र अध्ययन संस्थानबाट एमडी (क्लिनिकल फिजियोलोजी),एमबीबीएस तथा जनरल मेडिसिनमा प्रमाणपत्र तहको अध्ययन पूरा गरेका छन् । उनले यसअघि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नैतिक समीक्षा समिति (एथिकल बोर्ड) मा रहेर स्वास्थ्य अनुसन्धानसम्बन्धी कार्यमा समेत योगदान पुर्याएका छन् ।
नवनियुक्त पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहणसँगै परिषद्को नेतृत्वले स्वास्थ्य अनुसन्धानलाई थप प्रभावकारी,गुणस्तरीय र प्रमाणमा आधारित बनाउँदै अनुसन्धानका उपलब्धिलाई स्वास्थ्य नीति तथा सेवासँग जोड्ने अपेक्षा गरेको स्वास्थ्य मन्त्रीको सचिवालयले जनाएको छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




