कान्ति बाल अस्पतालले मनायो ६० औँ बार्षिकोत्सव

काठमाडौँ, २३ पुस । कान्ति बाल अस्पतालले ६० औँ बार्षिकोत्सव मनाएको छ । बिहीबार अस्पतालमा एक समारोह गरी अस्पतालले ६० औँ बार्षिकोत्सव मनाएको हो ।

समारोहमा सहभागी हुन स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ, स्वास्थ्य सचिव डा रोशन पोखरेल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा डिएन साह, प्रधानमन्त्री शेरबहादुर देउवाका स्वास्थ्य विज्ञ सल्लाहकार डा आरपी विच्छा लगायतको सहभागिता थियो ।

सो अवसरमा अस्पतालका निर्देशक डा अजित रायमाझीले अस्पतालको बार्षिक प्रतिवेदन तथा मुख्य गतिविधिकाबारेमा जानकारी गराएका थिए । उनका अनुसार कोभिड १९ ले अस्पतालमा आउने विरामीको संख्यामा कमी देखिएको छ ।

उनका अनुसार विसं २०७५ /७६ मा १ लाख ५४ हजार ८२३ जनाले ओपीडी सेवा लिएका थिए । २०७६/ ७७ मा ओपीडी सेवा लिनेकोे संख्या घटेर १ लाख ३ हजार ५३३मा झर्यो । आर्थिक वर्ष २०७७ /७८मा भने यो संख्या झनै घटेर ५३ हजार ४६७ मा झरेको छ ।

डा रायमाझीले आकस्मिक सेवा लिनेको संख्यामा पनि पछिल्लो तीनवर्षमा कमी हुँदै गएको विवरण प्रस्तुत गरेका थिए ।

कान्तिमा १४ वर्ष मुनिका बालबालिकाहरुको उपचार हुँदै आएको छ । यो अस्पतालमा न्युन तथा मध्यम आय हुनेहरुको बढी रोजाईमा पर्ने केन्द्रीय अस्पताल हो ।

समारोहमा सहभागीहरुले कान्ति अस्पतालको उन्नयनको कामना गर्दै सेवालाई थप प्रभावकारी गराउन सुझाव दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *