फाइजर खोपको दोस्रो मात्रा छुटेकाहरुले आज काठमाडौँ र भक्तपुरमा लगाउन सक्ने

काठमाडौं, ७ पुस । फाइजर खोपको दोस्रो मात्रा लगाउन छुटेका उपत्यकाका बालबालिकाका लागि बुधबार (आज) खोपको व्यवस्था गरिएको छ । स्वास्थ्य कार्यालय काठमाडौँ र भक्तपुरले यो व्यवस्था गरेको हो ।

स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख शम्भु काफ्लेले धेरै बालबालिकाले पहिलो मात्रा लगाएका तर दोस्रो मात्रा लगाउन बाँकी रहेको गुनासो आएपछि फाइजर खोपको दोस्रो मात्रा बुधबारका लागि छाउनीस्थित नेपाली सैनिक अस्पतालमा व्यवस्था गरिएको बताए ।

उता स्वास्थ्य कार्यालय भक्तपुरले पनि फाइजरको दोस्रो डोज लगाउन छुटेकाहरुलाई आज खोप दिइने जनाएको छ । भक्तपुरका स्वास्थ्य प्रमुख कृष्ण मिजारले आज भक्तपुर क्यान्सर अस्पताल खोप केन्द्रमा फाइजरको पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन छुटेकाहरुका लागि आज व्यवस्था गरिएको बताए ।

यता ललितपुरमा भने एक दुई दिनमा व्यवस्था गर्न सक्ने त्यहाँका स्वास्थ्य कार्यालय प्रमुख सतिश विष्टले जानकारी दिए । ‘हामीकहाँ खासै धेरै मान्छे छुटे जस्तो लाग्दैन । छुटेका रहेछन भने पनि एक दुई दिनमा त्यसबारेमा निर्णय गरिएला,’ उनले भने ।

त्यसो त स्वास्थ्य कार्यालय काठमाडौँ हरेक दिन कोरोनाविरुद्धको भेरोसेल र कोभिसिल्डको पहिलो र दोस्रो मात्रा खोप दिइरहेको छ । स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख काफ्लेका अनुसार टेकु अस्पताल, सैनिक अस्पताल छाउनी, शिक्षण अस्पताल महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल र निजामती अस्पतालमा सधैँभरि खोप लगाइने व्यवस्था गरिएको छ । यसअघि कुनै एक केन्द्रमा एक किसिमको खोप पाउने गरेकोमा अब सबै केन्द्रमा दुवै खोप पाइनेछ ।

यस्तै ललितपुरले पनि पाटन अस्पतालमा नियमित रुपमा खोप कार्यक्रम सञ्चालन गरिरहेको छ ।

नाका नाकामा पनि खोपको व्यवस्था
स्वास्थ्य कार्यालय प्रमुख काफ्लेले पहिलो वा दोस्रो मात्रा खोप एकै पटक लगाउन पाइने जानकारी दिँदै अब हरेक केन्द्रमा दुवै खोपको व्यवस्था गरिएको बताए । उनले दुवै खोपको व्यवस्था मङ्गलबारबाट गरिएको बताउँदै अस्पतालबाहेक प्रमुख चार नाकाबाट पनि खोपको व्यवस्था गरिएको जानकारी दिए । कोटेश्वर, नयाँ बसपार्क, कलङ्की र बल्खुमा खोपको व्यवस्था गरिएको छ ।

सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई बालबालिकालाई मोडर्ना र फाइजर खोप दिदै आएको छ । अहिले ५७ जिल्लाका बालबालिकालाई मोडर्नाको पहिलो डोज चलाएको छ भने २० जिल्लाका बालबालिकालाई फाइजर खोपको पहिलो डोज लगाउने तयारी भइरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *